बर्खामा होस् या हिउँदमा, खेती बालीमा सिँचाइका लागि आकाशे वर्षाको भर पर्नुपर्ने किसान अझै पनि धेरै छन्।
हिउँद लागेसँगै विदेशबाट कर्याङकुरूङको बथान उडेर आउन थालेपछि खेतमा काँक्रा, फर्सी रोप्न बानी परेका धेरै किसान अहिले पनि आकाश हेरेर खेतीपातीको तालिका बनाउँछन्।
भरतपुर महानगरपालिका–१५ का किसान चन्द्रप्रसाद अधिकारीले गत वर्ष लगाएको मकैलाई आकाशले धोका दियो। वर्षा कुर्दाकुर्दै मकैका बोट टण्टलापुर घामले सुके। उत्पादन शून्यजस्तै भयो। पुरानो नेपाली उखान ‘मंसिरको बुँद, पुसको रूँद, माघे झरी, समय परी’ गलत साबित भयो।
‘प्रायः माघे संक्रान्तिमा पानी पर्थ्यो। मेला भर्न गएका मान्छेहरू पानीले रूझेर कठ्यांग्रिएर बस्थे। त्यो पानीले खेतमा लगाएको बाली भने हर्लक्क बढ्न थाल्थे,’ अधिकारी भन्छन्, ‘अचेल त माघमा झरी पर्ला भनेर कल्पना नै नगरे हुने भयो। पुराना मान्छेहरू कर्याङकुरूङको बथान आए फर्सी कांक्रा रोप भन्थे। अहिले त न उनीहरू आए, न हिउँदे वर्षा वर्षियो।’
विगतमा चितवनका फाँटहरूमा ठूलो संख्यामा आउने हिउँदे चरा कर्याङकुरूङ यसवर्ष फाट्टफुट्टमात्रै देखिएका छन्।
अधिकारीका अनुसार २०२६ सालमा चितवनका किसानले खडेरीका कारण असोज महिनामा बल्ल धान रोप्न पाएका थिए। त्यसपछि सबैभन्दा ठूलो खडेरी किसानले गत वर्ष भोगे। त्यस्तै खडेरी यो वर्ष पनि पर्ने संकेत देखिएको उनी बताउँछन्।
गत बिहीबार साँझपख देशका विभिन्न भागमा वर्षा भएको थियो। चितवनमा पनि पानीले छिटा हान्यो तर शुक्रबारदेखि दिउँसो टण्टलापुर घाम लाग्न थाल्यो।
आइतबार दिनभरजसो आकाशमा बादल लागेकाले किसानहरूमा पानी पर्छ कि भन्ने आशा जागेको थियो। तर सोमबार फेरि घाम लागिहाल्यो। लामो समयदेखि प्रांगारिक खेती गर्दै आएका अधिकारीले आकाशे पानीको भर पर्न नसक्ने भएपछि विकल्पमा हुने खेतीतिर ध्यान दिन थालेको बताए।
‘गाँजर, मूला र चुकन्दरलाई पानी नचाहिने रहेछ। शीतले पनि यसलाई काम गर्ने भएकाले अहिले मैले धेरै क्षेत्रफलमा गाँजर र चुकन्दर लगाएको छु,’ उनले भने, ‘एक/एक सय किलो बिक्री गर्ने सम्झौता भइसकेको छ। अन्य केही जमिनमा लगाएको तरकारी यसपालि पनि पानी नपाएकै कारण बिग्रिने सम्भावना बढेर गयो।’
कृषि विज्ञ डा.कृष्णप्रसाद पौडेलकाअनुसार सामान्यतया हिउँदका तीन महिनामा ६० एमएल पानी पर्नुपर्ने हो। मंसिर, पुस र माघ महिनामा ३ देखि १० पटकसम्म पानी पर्छ भन्ने मान्यता किसानहरूको छ। यति पानी पर्दा किसानले लगाएका हिउँदे बालीले उत्पादन राम्रो दिन सक्छन्। तर गत वर्ष त्यसको २१.५ प्रतिशतमात्रै वर्षा भएको थियो। यस वर्ष पनि अहिलेसम्म करिब २१ प्रतिशतमात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ।
समयमा वर्षा नहुँदा किसानले लगाएका तरकारीलगायतका बाली बिग्रिन थालेका छन्। खडेरीका कारण रोग कीराको असर बढेको छ।
गत वर्षजस्तै यस वर्ष पनि खडेरी परेर धेरै किसानहरू समस्यामा परेको पौडेलले बताए। उनकाअनुसार पछिल्ला ५० वर्षमा ८/१० पटकको हिउँदमा खडेरी परेको थियो। कुनै साल केही घण्टा धेरै पानी परेर अन्य समयमा पानी नै परेन।
‘पानी चक्रमा आएको फेरबदलले किसानहरू निकै समस्यामा परिरहेका छन्। अब प्रकृतिलाई हेरेर अनुमान गरेर खेती गर्न नसकिने अवस्था आयो। यसले सिंगो खेती प्रणालीमा असर गरेको छ,’ पौडेल भन्छन्, ‘समग्र दक्षिण एसियामै यो असर देखिएको छ। किसानले खेती गर्नै नपाएपछि अब मुखमा माड कसरी लगाउने भन्ने समस्या सुरू हुने दिन आउन सक्छ।’
उनले कृषिजन्य वस्तुको आयात बढिरहेको समयमा हिउँदे वर्षा नहुँदा आयात थप बढ्ने, जनता र राज्यमाथि व्ययभार थपिने बताए। वर्षा नहुँदा किसानले लगाएको घिउ सिमी, केराउ, मुसुरो लगायतका तरकारी बालीमा अहिले असर परिरहेको छ।
जलवायु परिवर्तनले कृषिमा पारेको असरका बारेमा विद्यावारिधी गरेका कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक उज्वल तिवारीले जलवायु परिवर्तनको कारण कृषिमा असर परिरहेको बताए।
जलवायु परिवर्तनले निम्त्याएको समस्यासँग जुध्न मौसम पूर्वानुमानको जानकारी किसान समक्ष बेलैमा पुर्याउनुपर्ने र यसबाट पर्न सक्ने समस्या र समाधानको विषयमा जानकारी गराउन सक्नुपर्ने उनी बताउँछन्।
उनले नेपालमा ८/१० वर्षयता हिउँदे वर्षामा समस्या बढिरहेको बताए। त्यसले उत्पादन र उत्पादकत्व घटेको उनी बताउँछन्।
‘समस्या त बर्खे झरीमा पनि छ। तीन दिन लगाएर पर्ने पानी तीन घण्टामा पर्ने, त्यसपछि छ्याङ्ग घाम लाग्ने भइरहेको छ। यसले पनि धेरै समस्या ल्याउँछ,’ उनले भने।
हिउँदे बाली गहुँलाई अरूलाई भन्दा धेरै सिँचाइ चाहिन्छ।
उक्त विश्वविद्यालयका सहप्राध्यापक डा.ईश्वरीप्रसाद कडरिया वर्षा नहुँदा बढ्दो तापक्रमको असर कृषिमा मात्रै नभएर पशुपालनमा पनि देखिएको बताउँछन्।
‘तराईमा तापक्रम वृद्धिका कारण गाईवस्तुमा बाँझोपन बढेको छ। रोगहरू बढिरहेका छन्। दूध घट्ने समस्या पनि देखिएको छ। पहाडमा पानीको स्रोत नै हराउन थालेपछि पशुपालन घट्न थालेको छ,’ उनले भने, ‘यो विषयलाई सामान्य मान्न हुँदैन।’
उनले रैथाने बीउलाई प्रवर्द्धन गर्ने, त्यसलाई स्तरीय बनाउन प्रयास गर्नुपर्ने बताए।
खानाका लागि खेतीपाती अभियानका अभियान्ता रहेका डा.पौडेलले खोला, नदी सुक्दै जाने, सतहमुनि पानीको मात्रा घट्दै जाने र आकाशे वर्षा पनि नहुने अवस्थाले चरम खाद्य संकट निम्तन सक्ने बताए।
‘५० प्रतिशत किसान अहिले पनि आकाशको पानीबाट खेतीपाती गर्छन्। पानी नै नपरेपछि उनीहरू पलायन हुनेक्रम बढेर जान्छ यसको असर सबै नागरिकले भोग्नुपर्छ,’ उनी भन्छन्, ‘यो समस्याबाट पार पाउन राज्यले कृषि प्राणाली नै फेर्नुपर्छ। जोखिमलाई कसरी सम्बोधन गर्ने भनेर बेलैमा नसोचे विकराल अवस्था आउने सम्भावना छ।’
उनले प्रांगारिक खेती प्रवर्द्धन र रैथाने बीउ जोगाउनेतिर लाग्नुपर्नेमा राज्यको ध्यान हाइब्रिड बीउ, रसायनिक विषादी, रसायनिक मल र प्रविधि भित्र्याउन मात्रै केन्द्रित हुँदा समस्या भएको बताए।
‘रसायनिक मल र विषादीले माटो बिगारे। विषादीयुक्त उत्पादन सेवन गरेर मान्छेहरू रोगी भइरहेका छन्। क्यान्सरका बिरामी बढेको बढ्यै छन्,’ उनी भन्छन्, ‘खाली प्रविधि र व्यवसायिक खेतीको कुरा गर्न थालियो। ठूलो कुरा गर्दा परम्परागत खेती पनि गुम्ने अवस्था आउँदैछ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा.हिमाल लुइँटेलले कृषि, पशुपालनलाई व्यवस्थित बनाउन, समयानुकूलको बनाउन दक्ष जनशक्तिको उत्पादन गर्नुपर्नेमा नेपालले विदेशका लागि आवश्यक जनशक्तिमात्रै उत्पादन गरिरहेको बताए।
‘चिउरा कस्तो रूखमा फल्छ भन्नेर सोध्ने विद्यार्थी कृषि पढ्न आउँछन्, दूध दुहुन नजान्ने, सिक्नै नचाहनेहरू पशुविज्ञान पढ्न आउँछन्। उनीहरूलाई यहाँ बसेर काम गर्नु नै छैन। प्रमाणपत्र लिनका लागिमात्रै पढ्ने जमात बढी भयो,’ उनी भन्छन्, ‘हामीले दक्ष जनशक्ति तयार पार्न सकेनौं भने यो क्षेत्र झन् बिग्रेर जान्छ।’
जलवायु परिवर्तनको असरको विषयमा अध्ययन गर्ने डाक्टर जीवन क्षेत्री औद्योगिक युगको सुरूआत भएसँगै पृथ्वीको तापक्रम बढ्दोक्रममा रहेको र यसको असर किसानहरूमा बढी पर्न थालेको बताउँछन्।
‘यही अवस्था रहेमा सन् २०७० मा संसारका साढे ३ अर्ब मान्छे बस्ने ठाउँको तापक्रम अहिलेको सहारा मरूभूमिको मध्यभागको भन्दा बढी हुन्छ भन्ने अनुमान विभिन्न अध्ययनहरूबाट गरिएको छ,’ उनी भन्छन्, ‘अहिले पृथ्वीको औषत तापक्रम १५ डिग्री सेल्सियस छ त्यतिखेर २९ डिग्रीसम्म पुग्नसक्छ।’
त्यो अवस्था भयावह हुने उनी बताउँछन्।
‘त्यस्तो अवस्था आएमा सबैभन्दा पहिले समुद्री जीवहरू मर्छन्। त्यसपछि आम संहार हुन थाल्छ,’ उनी भन्छन्, ‘मान्छेको गतिविधिले प्रकृतिमा गम्भीर असर परिरहेको छ। यसमा नियन्त्रण आवश्यक छ।’