सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, सापडाँडाका ४२ वर्षीय अतिराम रोकाले ११ वर्ष निजीस्रोतको शिक्षक भएर स्थानीय एक माध्यमिक विद्यलायमा पढाए। एक दशकभन्दा लामो अवधिमा पनि उनले दरबन्दीमा नियुक्ति पाएनन्।
उनलाई जिन्दगीभरी निजीस्रोतको शिक्षक हुन मन भएन। पढाउन छोडेर दुई वर्ष होटल चलाए। होटलमा पनि मन नरमाएपछि रोजगारीका लागि मलेसिया पुगे। स्वास्थ्यले साथ नदिएकाले वर्षमै फर्किए।
रोका परिवारले २०६२ सालमा नौ लाखमा रूपैयाँमा ४३ रोपनी जग्गासहित स्याउबगैंचा किनेको थियो तर स्याहार पुगेको थिएन। बगैंचाबाट लाभ हुन सकेको थिएन। बिस्तारै स्याउबगैंचा झाडीमा परिणत भएको थियो।
शिक्षण, होटल र वैदेशिक रोजगारी कतै पनि मन नअडिएर घर आएपछि अतिरामले झाडी बनेको त्यही स्याउ बगैंचा नियाले। सोचे– आफ्नो बगैंचा हो, यसै खेर गएको छ, अब ढुक्कले स्याउखेतीमा लाग्नुपर्यो।
यति अठोट गरेपछि उनी स्याउखेतीबारे खोजीमा लागे। किताब खोजेर पढे। अनुभवीहरूका कुरा सुने। राम्रो उत्पादन भएका केही बगैंचा हेरे।
अन्ततः उनी आफ्नो बगैंचा स्याहार्ने काममा लागे।
अतिराम सात दाजुभाइ मध्ये एक हुन्। यो बगैंचा चार दाजुभाइको सगोलमा छ। रेखदेखको जिम्मा अतिरामले लिएका छन्। अरू तीन दाजुभाइको अलग्गै बगैंचा छ।
यति बेला अतिरामको बगैंचामा कम्तीमा पाँच सय बोटमा स्याउ फलेको छ। बगैंचामा कुल १८ सय बोट छन्। नयाँ बोटमा फल लाग्न बाँकी छ। उनका अनुसार आगामी दुई वर्षभित्रमा सबै बोटमा फल लाग्नेछ।
पहिले बगैंचामा ‘रोयल’ जातको स्याउ मात्रै रोपेका थिए। फल राम्रै दिन्थ्यो। बिस्तारै फल घट्न थाल्यो। अतिरामले ‘रेड गाला’ जातको विरूवा लगाउँदै ‘रोयल’ जात विस्थापित गरे। केही बिरूवा ‘सानो सुपर’ जातको पनि रोपेका छन्।
अतिरामले २०७८ सालमा कालिकोटबाट १८ सय बिरूवा खरिद गरेर ल्याएका थिए। बगैंचामा ल्याइपुर्याउँदा ढुवानी खर्चसहित प्रतिबिरूवा २१० रूपैयाँ पर्यो।
उनका अनुसार सापडाँडामा झन्डै सय वर्षअघि स्याउखेती सुरू भएको हो। उनले स्थानीयवासी भद्रबहादुर राईसहित केही कृषकले परीक्षणका लागि स्याउ भित्र्याएको भन्ने कुरा अग्रजहरूबाट सुनेका हुन्।
सापडाँडा समुद्री सतहबाट १८ सय मिटरमाथिको उचाइमा छ। यहाँको हावापानीमा रेड गाला र सानो सुपर जातको स्याउ उपयुक्त रहेको उनको भनाइ छ। रोयल जात पनि ठिकै छ।
रोयल र रेड गाला जातको बिरूवाले पाँच वर्षमा उत्पादन दिन थाल्छ। सानो सुपर जातको बिरूवाले सामान्यतया तीन वर्षमै फल दिन्छ।
सापडाँडाका धरैजसो किसान वार्षिक ३० हजारदेखि ५० हजार रूपैयाँसम्मको स्याउ बेच्छन्। अतिराम अलिक बढीको बेच्छन्। गत वर्ष साढे एक लाख रूपैयाँको बेचेका थिए।
उनी यस वर्ष कम्तीमा ६० क्विन्टल स्याउ बेच्नेछन्। साउन तेस्रो सातासम्ममा आधाभन्दा बढी स्याउ बगैंचाबाटै बेचिसकेका छन्। मूल्य प्रतिकेजी न्यूनतम १६० रूपैयाँ र अधिकतम १८० रूपैयाँसम्म लिएका छन्।
यस हिसाबले यस वर्ष अतिरामले कम्तीमा १० लाख रूपैयाँको स्याउ बेच्नेछन्।
‘हाम्रो उत्पादन जिल्ला (सल्यान) कै व्यापारीले किन्छन्। बाहिरका व्यापारीले फाटफुट मात्रै पाउँछन्,’ उनी भन्छन्, ‘हाम्रो नजिकमा बजार नभए पनि केही फरक परेको छैन। बगैंचामै खोसाखोस हुन्छ।आम्दानी पनि लाखौं हुन्छ’
यहाँको स्याउ व्यापारीले श्रीनगर, खलंगा, चौरजहारी लगायतका बजारमा पुर्याउँछन्।
अतिरामका अनुसार सापडाँडा स्याउ उत्पादनमा निकै बलियो सम्भावना रहेको ठाउँ हो तर प्राविधिक ज्ञानको कमीले गर्दा किसानले समस्या भोग्नुपरेको छ।
‘रोगकीरा लाग्ने, बोटको बोक्रा सुक्ने मुख्य समस्या छ। सापडाँडालाई स्याउ उत्पादनको पकेटक्षेत्र घोषणा गर्नुबाहेक राज्यले केही पनि काम गरेको छैन,’ उनी भन्छन्, ‘राज्यबाट प्राविधिक पाउने हो भने सापडाँडामा धेरै स्याउ फल्न सक्छ। यहाँको विकासमा पनि सहयोग पुग्छ।’
सापडाँडाको स्याउ विषादीरहित र स्वस्थकर रहेको अतिरामको भनाइ छ।
‘हाम्रो स्याउमा कुनै पनि विषादी हुँदैन। विदेशी स्याउजस्तो आकर्षक पनि हुँदैन,’ उनी भन्छन्, ‘हेर्दा आकर्षक नभए पनि स्वादिलो छ, स्वास्थ्यलाई राम्रो गर्छ।’
अतिराम स्याउखेतीमा सन्तुष्ट देखिन्छन्।
बनगाड कुपिण्डे नगरपालिका–९, जयतपानीका ५३ वर्षीय शिशिरकुमार थापाले पनि स्याउबगैंचा लगाएको ९ वर्ष भयो। उनले जिल्ला कृषि विकास कार्यालय, सल्यानको सहयोगमा ५० रूपैयाँका दरले बिरूवा खरिद गरेका थिए। ढुवानी खर्चमा अनुदान पाएका थिए।
घाँसमात्रै हुने १३ रोपनी पाखोबारीमा स्याउबगैंचा बनाएपछि शिशिरकुमारको परिवारमा खुसीयाली छाएको छ। उनले भने, ‘स्याउ फल्न थालेको चार वर्ष भयो। यस वर्ष १८० वटा बोटमा फल लाग्यो।’
यसपालि उनले साउन पहिलो साता बगैंचाबाटै करिब दुई लाख रूपैयाँको स्याउ बेचे।
उनले भने, ‘अन्त कतै जानु पर्दैन। स्थानीय व्यापारी बगैंचामै आउँछन्। बजारको समस्या छैन। सल्यानमै सकिन्छ। यसपालिको सबै स्याउ बेचिसकें।’
गत वर्ष बगैंचा हेर्न मान्छेको भिड लागेपछि उनले प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क तोके। टिकटबाट मात्रै २० हजार रूपैयाँ कमाइ भयो। मान्छेहरू स्याउबारी घुम्न र फोटो खिच्न आउँथे।
यसपालि थोरै ठाउँ छुट्ट्याए निःशुल्क प्रवेश दिए। शुल्कले थोरै कमाइ हुने भए पनि अर्को समस्या भयो।
उनले भने, ‘प्रवेश शुल्क लिएपछि मान्छेले हकदाबी गरे। घन्टौं बिताउने, स्याउको बोट हल्लाउने, टिपेर खाइदिने समस्या भयो।’
शिशिरकुमारको बगैंचामा पनि रोगको समस्या देखिएको छ। फल खस्रो हुने, ढुसी लाग्ने र फुट्ने समस्या छ।
फूल र फलमा विषादी प्रयोग नगरेको उनको भनाइ छ।
उनी भन्छन्, ‘फूल खेलेपछि औषधि (विषादी) स्प्रे (छर्कने) गर्दैनौं। फूल लाग्नुअघि एकपटकमात्र औषधि स्प्रे गर्छौं।’
उनका अनुसार फूल र फलमा विषादी प्रयोग गरेपछि स्याउ अर्गानिक हुँदैन।
‘सिम्ला (भारत) तिर वर्षमा चार पटकसम्म औषधि दिन्छन्। फल ठूलो र चिल्लो बनाउन पनि औषधि दिन्छन्,’ उनी भन्छन्, ‘हामी फूल नलागी एकपटक मात्र औषधि दिन्छौं। हाम्रो उत्पादन अर्गानिक हुन्छ।’
शिशिरकुमारले सिँचाइका लागि यस वर्ष एउटा पोखरी बनाएका छन्। जिल्ला कृषि विकास कार्यालयले पोखरी बनाउन अधिकतम साढे एक लाख रूपैयाँ बजेटमा किसानलाई ७५ प्रतिशत अनुदान दिएको उनले बताए।
उनका अनुसार सल्यानमा ‘अन्ना’ जातको स्याउका लागि उचित वातावरण छ तर यो जातको व्यवासायिक खेतीका बारेमा किसानहरू जागरूक नहेको र प्रविधिमा सरकारी सहयोग नरहेकाले नयाँ जातमा आकर्षण हुन नसकेको हो।
अन्ना स्याउ जडो र गर्मी दुबै ठाउँमा फल्छ।
सल्यान जिल्लाका वनगाड कुपिण्डे नगरपालिकाको निगाल्चुला र जयतपानी, कुमाख गाउँपालिकाको नम्राइला र सापडाँडा, छत्रेश्वरी गाउँपालिकाको साउनेपानी र गुराँसेमा स्थानीय किसानले व्यावसायिक स्याउखेती गरेका छन्।
बागचौर नगरपालिकोको पनि केही ठाउँमा स्याउखेती छ।
जिल्ला कृषि विकास कार्यालय, सल्यानका प्रमुख रमेशकुमार बस्नेतका अनुसार स्याउ बढी उत्पादन हुने ठाउँ सापडाँडा र जयतपानी हुन्। जिल्लाभर करिब ५५ हेक्टरमा स्याउखेती छ तर ३८ हेक्टरमा राम्रो उत्पादन हुने गरेको छ।
सल्यानबाट वार्षिक सरदर ३२ देखि ३५ मेट्रिक टन स्याउ बिक्री हुने गरेको तथ्यांक कृषि कार्यालयसँग छ। यहाँ वार्षिक कुल ५५ लाख रूपैयाँसम्मको स्याउ उत्पादन हुने गरेको छ।
सल्यानका स्याउ किसानलाई बिरूवा, औजार र तालिमका लागि गत आर्थिक वर्षमा आठ लाख रूपैयाँ आएको बस्नेतले बताए।
कृषि विकास कार्यालयले स्याउखेती गर्ने किसानलाई प्राविधिक सेवा पनि दिने गरेको उनको भनाइ छ तर किसानहरू प्राविधिक सहयोग नपाएको बताउँछन्।
सल्यान स्याउ उत्पादनका दृष्टिले राम्रो सम्भावना रहेको जिल्ला भए पनि सरकारले त्यसअनुरूप सहयोग पुर्याउन नसकको पनि उनको भनाइ छ।
तस्बिर सौजन्य– खगेन्द्र केसी।