दाङको तुलसीपुर उपमहानगरपालिका–६, गोलौराका किसान ६० वर्षीय डिल्लीबहादुर केसी १२ वर्षअघिसम्म निजामती सेवामा थिए। उनी सरकारी जागिरे भए पनि परिवारजनले भने व्यावसायिक रूपले कुखुरापालन गर्थे।
जब उनको पेन्सन पाक्यो उनले जागिर छोडे। पेन्सेन पाके पनि अनिवार्य अवकाश पाउने समय १० वर्ष बाँकी थियो। तर व्यवसाय गर्ने हुटहुटीले ४८ वर्षकै उमेरमा २०६९ सालमा स्वैच्छिक अवकाश लिए। अनि पारिवारिक व्यवसाय कुखुरापालनमा लागे। अहिले पनि उनको फार्ममा आठ हजार हाराहारी कुखुरा छन्।
कोरोना महामारीपछि भने डिल्लीको मन कुरिलो खेतीले तान्यो।
कोरोना भाइरस संक्रमणको महामारी (कोभिड) फैलिएको समयमा डिल्लीले कुरिलोको चर्चा सुनेका थिए। रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर मानिसहरूले कुरिलो खोजी खोजी खान थाल्थे ।
त्यतिखेर केही मानिस कुरिलो खोज्दै डिल्लीको घरमा पनि आए तर दिन पुग्ने गरी थिएन। उनले कृषि विकास कार्यालयमा काम गर्ने आफन्त भरत बस्नेतका प्रेरणाले १० वर्षअघि आफ्नो बारीमा कुरिलोका २० वटा बिरूवा रोपेका थिए। त्यो कुरिलो घरायसी खपतमै सकिन्थ्यो।
रोग प्रतिरोधात्मक क्षमता बढाउन कुरिलोको तरकारी खानुपर्छ भन्ने धारणा फैलिएपछि जब मानिसहरूले कुरिलो खोज्न थाले डिल्लीले यसको व्यावसायिक खेती गर्ने सोच बनाए।
अनि यसका फाइदाबारे आफूले पनि खोजीनीति गरे।
कुरिलो भिटामिनयुक्त र औषधीय गुण भएको तरकारी मानिन्छ। अशक्त, बिरामी, सुत्केरी लगायत सबैका लागि लाभाकारी छ भन्ने विश्वास छ।
डिल्लीले अन्य तरकारी खेतीभन्दा कुरिलो खेती सजिलो छ भन्ने थाहा पाए। कुरिलोमा विषादी प्रयोग गर्नु नपर्ने; थाँक्रो वा डोरी पनि नचाहिने र धेरै मेहनत पनि नपर्ने भएकाले थोरै लगानीले पनि हुन्थ्यो।
उनले कुरिलोको माग र बजार मूल्य पनि खोजी गरे। निकै महँगोमा बिक्री हुन्छ भन्ने थाहा पाए। आफ्नो ठाउँ कुरिलो खेती लागि उपयुक्त छ भन्ने पनि थाहा पाए।
अन्ततः डिल्ली व्यावसायिक रूपमा कुरिलो खेती गर्ने निष्कर्षमा पुगे। आफ्नो निष्कर्ष श्रीमती निर्मलालाई पनि सुनाए। सल्लाह मिल्यो। आफ्नै साढे तीन कट्ठा जग्गामा कुरिलो खेती सुरू भयो।
उनले यसको कारण बताए, ‘कुखुरा पालनमा रिस्क (जोखिम) धेरै छ। कति बेला बर्बाद हुन्छ भन्ने थाहा हुँदैन। कुरिलो खेती सजिलो छ, फाइदा पनि छ।
उनले अमेरिकी भनिने ‘जर्सी सुपुर’ जातको कुरिलो लगाएका छन्। उनका अनुसार यो जातमा मोटो टुसा (मुना) हुन्छ। उनले यो जातको कुरिलोको बिउ ६ वर्षअघि अमेरिकामा रहेका मामाका छोरामार्फत् मगाए।
त्यही बिउबाट बेर्ना बनाएर आफ्नो साढे तीन कट्ठा जग्गामा रोपे। उत्पादन राम्रो भएपछि थोरथोरै विस्तार गर्दै अघि बढे।
दुई वर्षअघि उनले स्थानीयवासी तीन जनाको मिलाएर २७ कट्ठा बाँझो जमिन प्रतिकट्ठा वार्षिक दुई हजार रुपैयाँका दरले भाडामा लिए।
उनको कुरिलो खेती टरिगाउँ विमानस्थल एयरपोर्ट नजिकै छ।
डिल्लीले जग्गामा तारबार गरे। सबै प्रबन्ध मिलाएर २४ कट्ठामा कुरिलो रोपे। अहिले आम्दानी लिन सुरू भइसकेको छ।
‘मलाई गाउँलेहरू हामीले गाईभैंसी चराउने ठाउँमा तारबार गरेर के रोपेका हौ भन्थे,’ उनले भने, ‘मैले आम्दानी लिन थालेको देखेर तिमीले ठिक गर्यौ भन्न थालेका छन्।
यो जमिनमा १० हजार बोट छन्। आफ्नो जग्गामा छुट्टै एक हजार बोट छन्।
दाङमा अरू केही किसानले पनि कुरिलो खेती गरेका छन् तर डिल्लीको जति क्षेत्रफलमा छैन, थोरथोरै छ।
गत वर्ष जिल्ला वन कार्यालय, दाङले केही सामुदायिक वनमा कुरिलो रोपाउने प्रयास गरेको भए पनि सफल हुन नसकेको जानकारहरू बताउँछन्।
डिल्लीका अनुसार दुई वर्षदेखि नै मूना निकाल्न सकिने भए कुरिलोबाट पूर्णमात्रा उत्पादन लिन बिरूवा तीन वर्षको हुनुपर्छ। उनी हाल दैनिक सरदर २० केजीसम्म कुरिलो बेच्दै छन्। प्रतिकेजी न्यूनमत तीन सय रुपैयाँमा बिक्री हुने गरेको छ।
पूरै खेतीले उत्पादन दिन थालेपछि दैनिक कम्तीमा ५० केजी कुरिलो बेच्छन्।
डिल्ली अझै घरेलु ग्राहकमा सीमित छन्। धेरैजसो ग्राहक उनको बारीमै आइपुग्छन्। सबै ग्राहक घोराही क्षेत्रकै हुन्। उनी होटल र रेस्टुरेन्टहरूलाई ग्राहक बनाउने क्रममा छन्।
डिल्लीका छोरा गौरवले स्नातकोत्तर तहसम्मको र छोरी गरिमाले स्नातक तहसम्मको पढाइ पूरा गरेका छन्। उनीहरू पनि खेतीमा काम सघाउँछन्।
सिँचाइका लागि ‘थोपा सिँचाइ’ प्रणाली अपनाएका छन्। यसमा नौ लाख रुपैयाँ खर्च भएको डिल्लीले बताए।
गोडमेलमा पनि केही खर्च लाग्छ। वर्षमा एकपटक गोठे मल प्रयोग गर्छन्। गोठे मलमा आफ्नै कुखुरा फर्माको मल मिसाउँछन्।
कुरिलो खेतीमा नियमित काम गर्ने तीन जना कामदार छन्। ती कामदारले कुखुरापालनमा पनि सघाउँछन्। आवश्यकताअुसार दैनिक ज्यालादारी कामदार पनि लगाउँछन्।
सिँचाइका लागि डेढ सय मिटर परको डिप बोरिङबाट पाइपमार्फत् पानी ल्याएका छन्। डिप बोरिङ ‘भूमिगत जल सिँचाइ विकास डिभिजन, लमही’ को हो।
पानी भण्डारण गर्न सानो पोखरी बनाएका छन्। त्यहाँ जम्मा भएको पानीबाट थोपा सिँचाइको प्रबन्ध गरेका छन्।
एकपटक रोपेपछि कुरिलोको बिरूवाले १२ देखि १५ वर्षसम्म नियमित उत्पादन दिन्छ। सिँचाइ, मलखाद र गोडमेल नियमित हुनुपर्छ।
कुरिलोले जाडो मौसममा उत्पादन दिँदैन। बिरूवा नै नदेखिने भई सुशुप्त रूपमा जमिनमा रहन्छ। चैतमा मूना हाल्न सुरू भएपछि सामान्यतया कात्तिकभर उत्पादन दिन्छ। त्यसपछिका चार महिना उत्पादन शून्य हुन्छ।
कृषि ज्ञान केन्द्र, दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार दाङमा डिल्लीको जति क्षेत्रफलमा कुरिलो खेती गरेको जानकारी छैन। कसैले पनि कुरिलोको बिउ मागेका छैनन्।
करिब झन्डै १० वर्षअघि घोराहीका एक जना किसानले दुई बिघा क्षेत्रफलमा कुरिलो खेती गर्ने प्रयास गरेका भए पनि असफल भएको आफूले थाहा पाएको लामिछानेले बताए।
लमहीका सामुदायिक वन संस्था र सहकारी संस्थाहरू मिलेर गानो खाने कुरिलो लगाएको भन्ने सुनेको भए पनि त्यसको उत्पादनबारे सूचना प्राप्त नभएको पनि उनले बताए।
उनका अनुसार कुरिलो खेतीका लागि दाङ उपयुक्त ठाउँ हो। कुरिलोलाई बलौटे दोमट माटो र पानी नजम्ने ठाउँ चाहिन्छ।
कुरिलो पोषण तत्त्वयुक्त र औषधीय गुणयुक्त तरकारी भएकाले खेतीका लागि किसानलाई आकर्षित गर्न कृषि ज्ञान केन्द्रले केही प्रयास गरेको उनको भनाइ छ।
मानिसहरूले आफ्नो जग्गामा बजारको सम्भावना अनुसार थोरै भएपनि जुनसुकै कुनै खेती गरे फाइदा लिन सक्ने डिल्लीको विश्वास छ। जग्गा बाँझै छोड्ने प्रवृत्तिलाई उनले गलत मानेका छन्।
भन्छन्, ‘मान्छेहरू आफ्नो जग्गा बाँझै छोडेर साग, खुर्सानी, प्याज पनि किनेर खान्छन्। यसो गर्नु राम्रो होइन।’
विदेश पलायन हुनुभन्दा आफ्नो माटोमा सम्भावना खोजेर गरिखान युवापुस्तालाई डिल्लीको सुझाव छ।