सरकारले प्रत्येक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यस सम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए।
याक तथा चौंरीको संरक्षण, सम्वर्द्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको मन्त्री अधिकारीले बताए।
याक दिवसको घोषणाले याक जन्य वस्तुको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिनसक्ने र याक तथा चौंरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास मन्त्रालयले लिएको छ।
याक अनुवांशिक स्रोत केन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औं स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा यही दिनलाई राष्ट्रिय याक दिवस घोषणा गरि मनाउन उपयुक्त हुने निर्णय गरेको थियो।