ललितपुरस्तिथ कुम्भेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई नेपाल डेरी एसोसिएसनले दूधपान गराएको छ।
एसोसिएसनले साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा चौथो दिन सो विद्यालय विद्यार्थीलाई दूधपान गराएको हो।
१४० जना विद्यार्थीहरूलाई दूध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरिएको एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए।
कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दूध पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका विशेष गरी बालबालिकाहरूले दूध पिउनु पर्ने बताए।
एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएकाले सबै विद्यार्थीहरूलाई अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्दा निरोगी बन्न सहयोग पुग्ने बताए।
दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका सबैले बुझ्नु पर्ने एसोसिएसनका केन्द्रिय सदस्य रमेश सन्जेलले बताए।
यसरी विद्यालयमा आइ बालबालिकालाई दूध तथा दुग्ध पदार्थ वितरण गर्दै जनचेतनामूलक कार्यक्रम गरेकोमा विद्यालयका प्रध्यानाध्यापक करुणा खड्गीले एसोसिएसनलाई धन्यवाद दिए।
आगामी दिनमा पनि विद्यालयमा यस्ता कार्यक्रम ल्याउन अनुरोध समेत गरे।