जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको बिजम्याच सोलुसनबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नेपालमा उत्पादन गरिएका प्रोडक्टहरूलाई थाइल्याण्डमा प्रमोट गर्ने उद्देश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रीको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गरेका हुन्।
कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको हाम्रो देश नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्न सकिने विश्वासका साथ जनता एग्रो एण्ड फरेष्ट्रीले बिजम्याच सोलुसनसँग उक्त समझदारी गरेको हो।
यो सहकार्यले नेपाली उत्पादनलाई विश्व बजारमा थप अवसर प्रदान विश्वास कम्पनीको छ।
कम्पनीले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ति विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ।
उक्त संस्थासँग सहकार्य गरी बैंकक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी ‘मेड इन नेपाल’ भनेर बजारीकरण गर्ने योजना रहेको छ।
व्यवसायिक कृषि, वनपैदावार, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य कम्पनीको छ।