देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानले कृषिमा पाँच अर्ब रूपैयाँको क्षति भएको छ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले गरेको प्रारम्भिक तथ्यांक संकलनले यस्तो देखाएको छ।
मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार बाली, पशुपन्क्षी तथा मत्स्य उत्पादन, खेतीयोग्य, जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति श्रृंखला साथै अन्य क्षेत्रमा ठूलो क्षति भएको छ।
मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा लगाईएको ५८४७६ हेक्टर धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बराबरको क्षति भएको छ।
त्यस्तै, खोटाङमा १३ सय हेक्टर अलैँची नष्ट भई ७० करोड बराबरको क्षति भएको छ भने पर्सामा ८५ हेक्टर उखु खेती नष्ट हुँदा ३४ करोड बराबरको क्षति भएको छ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको ४५८ हेक्टरमा पालन गरिएको माछापोखरीमा क्षति हुँदा १ अर्ब १३ करोड बराबरको नोक्सान भएको मन्त्रालयले बताएको छ।
त्यस्तै, बाढीले पाँचथर, धनकुटा, तेह्रथुम जिल्लाका २४ पशुगोठमा क्षति पुर्याएको छ।
पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लामा २६२०५ पशुपन्क्षीको मृत्यु भएको छ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहटका २२ हेक्टर फलफूल बगैंचामा क्षति पुर्याएको छ।
खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साका ४७४३ हेक्टर तरकारी बाली नष्ट भएको छ।
त्यस्तै, बाढी, पहिरोले ३ वटा कोल्डस्टोरमा क्षति पुर्याएको पनि मन्त्रालयले बताएको छ।
लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसिकोट, फिकल, कीर्तिपुर, मार्फा, नवलपुर लगायतका मन्त्रालय र मातहतको कार्यालयका भौतिक तथा अन्य संरचनामा १६ करोड बराबरको क्षति पुगेको मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा छ।