बजारमा गोलभेँडाको मूल्य बढेको छ।
माग अनुसारको आपूर्ति नहुँदा गोलभेँडाको मूल्य बढेको कालीमाटी तरकारी बजारका गोलभेँडा व्यापारी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।
'बाढी–पहिरोले बाटो अवरूद्ध हुँदा कालीमाटीमा गोलभेँडा आएको छैन,' उनले भने, 'त्यसैले मूल्य बढेको हो।'
उनका अनुसार बुधबारदेखि गोलभेँडाको मूल्य बढ्न थालेको हो। यसअघि प्रतिक्रेट १२ देखि १३ सय रूपैयाँमा बिक्री भएको गोलभेँडा आज शुक्रबार प्रतिक्रेट २३ सय देखि २८ सयमा कारोबार भएको छ।
आपूर्ति नबढ्ने हो भने बजारमा अझैं गोलभेँडाको मूल्य बढ्ने उनको भनाइ छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि गोलभेँडाको मूल्य बढेको देखाएको छ।
बजारमा गोलभेँडा ठूलो, लोकल सानो र लोकल टनेल गरी तीन प्रकारको आउँछ। ठूलो गोलभेँडा भने भारतबाट पनि भित्रिने गरेको छ।
शुक्रबार कालीमाटी बजारमा ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय ४० देखि एक सय ५० रूपैयाँ छ।
त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य ९० देखि एक सय रूपैयाँ छ भने लोकल टनेल गोलभेँडा एक सयदेखि एक सय २५ रूपैयाँ छ।
बुधबार ठूलो गोलभेँडा प्रतिकिलो थोक मूल्य एक सय १० देखि एक सय ३० रूपैयाँ छ।
त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्य ६० देखि ७० रूपैयाँ छ भने लोकल टनेल गोलभेँडा ७५ सय ९५ रूपैयाँमा कारोबार भइरहेको थियो।