यो वर्ष धान खेती गर्न योग्य जमिनमध्ये ९५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ।
साउनको मध्यसम्म पनि ७८ प्रतिशत जग्गामा मात्र रोपाइ भएकोमा त्यसपछिका दिनमा सुधार भएको देखिएको हो।
कृषि विभागका अनुसार अहिलेसम्म १२ लाख ९५ हजार ८८७ हेक्टर जमिनमा धान रोपाइँ भएको छ। सरकारले १३ लाख ७६ हजार ४६६ हेक्टर जग्गा धान खेतीका लागि योग्य भएको उल्लेख गरेको छ।
यो वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। विशेषगरी तराइँमा असारमा मनसुन नभएको कारण रोपाइँमा ढिलाइ भएको हो।
असार मसान्तसम्म ८ लाख १६ हजार हेक्टर अर्थात् ५९ प्रतिशत जग्गामा धान रोपाइँभएको थियो।
गत वर्ष असार मसान्तसम्म ६७ प्रतिशत जग्गामा धान रोपाइँ भएको थियो। भदौसम्म आइपुग्दा गत वर्ष ९८ प्रतिशत जग्गामा रोपाइँ भएकोमा अहिले ९५ प्रतिशतमा खुम्चिएको छ।
विभागका अनुसार हालसम्म कोशी प्रदेशमा दुई लाख ६० हजार ९६४ हेक्टर, मधेश प्रदेशमा तीन लाख १९ हजार ६२६, बागमती प्रदेशमा एक लाख १२ हजार ४५९ हेक्टर जमिनमा रोपाइँ भएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा ८९ हजार ३११, लुम्बिनी प्रदेशमा २ लाख ९७ हजार १०३, कर्णाली प्रदेशमा ४० हजार ७७० र सुदूरपश्चिम प्रदेशमा एक लाख ७५ हजार ६५२ हेक्टर जमिनमा रोपाइँ भएको छ।