आजदेखि 'सम्पदा घुम्ती बस सेवा' को परीक्षण सञ्चालन सुरू भएको छ।
काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्धेश्यले उक्त बस सेवा सञ्चालनमा ल्याइएको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले जानकारी दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी सम्पदा घुम्ती बस सेवा सुरू गरिएको हो।
'हामीले साझा बससँग दुई महिनाको लागि सम्झौता गरी विद्युतीय गाडिबाट सेवा दिने छौं,' उनले भने, 'हाम्रो मुख्य उदेश्य भनेको एक दिन काठमाडौं बस्ने मान्छेले समेत सबै सम्पदा क्षेत्र घुम्न पाउन् भन्ने उदेश्य हो।'
यस्तै, हाललाई यो सुविधा निःशुल्क भएता पनि केही समयपछि शुल्क निर्धारण गरिने उनले बताए।
उक्त बस सेवा सञ्चालनको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले रिबन काटेर उद्घाटन गरेका हुन्।