बन्दै गरेका राजमार्ग–५
झर्यो, झर्यो, झर्यो कृष्णभीर
कृष्णभीर कटेसी मनमा छैन पीर!
विक्रम सम्बत् २०५० दशकको चलचित्र 'इन्द्रेणी' मा शम्भुजित बाँस्कोटाले गाएको यो गीतले तत्कालीन कृष्णभीरको दुर्दान्त दर्शाउँछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङमा पर्ने कृष्णभीरमा २०५७ साउन २७ गते विशालकाय पहिरो खसेको थियो। लेदोसहितको त्यो पहिरोले ११ दिन राजमार्ग अवरूद्ध भयो। काठमाडौंको 'जीवनरेखा' मानिएको पृथ्वी राजमार्ग ठप्प हुँदा काठमाडौंको आपूर्ति प्रणालीमै दख्खल पुग्यो। यात्रुहरूको भागमा दुःख–कष्ट त पर्ने नै भयो।
सडक विभागका तत्कालीन इन्जिनियर नरेशमान शाक्य सहितको टोलीले 'बायो–इन्जिनियरिङ' र 'जियोटेक' प्रविधि अपनाएर त्यो पहिरो रोकथाम गरेको थियो।
'बायो–इन्जिनियरिङ' भनेको बाँस, घाँस लगायतका गहिरो जरा हुने बोटबिरूवा र रूख रोपेर माटो बाँध्ने क्रिया हो। यसले निरन्तर हुने भूक्षय रोकथाम गर्छ। त्यस्तै, 'जियोटेक' विधिअन्तर्गत तह तहमा तारजाली (ग्याबिनवाल) भरेर पानीको प्राकृतिक बहाव नमासिने गरी नाला र कल्भर्ट व्यवस्थित गरिएको थियो।
यसरी रोकथाम गरिएको कृष्णभीर पहिरो त्यति बेलाका लागि नेपालको नमूना इन्जिनियरिङ थियो। मौलिक पनि थियो। र, यहाँको अनुभव अन्यत्रका लागि अनुशरणयोग्य बनेको थियो।
कृष्णभीरको पहिरो रोकथाम यस कारण पनि विशिष्ट बनेको थियो, किनभने त्यस्तो ठाडो भूगोलबाट खसेको पहिरो रोकथाम भएपछि त्यसले फेरि दुःख दिएन। देशभित्रै अरू राजमार्गमा खस्ने पहिरो रोकथामका लागि पनि यो विधि कामयाब बनेको थियो।
तर गत वर्ष कृष्णभीर पहिरो अचानक बल्झियो।
असोज १० देखि १३ गतेसम्म परेको रेकर्ड ब्रेकिङ वर्षाले त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो चलेको थियो। त्रिभुवन राजपथअन्तर्गत झ्याप्ले खोलामा त ३५ जनाको हताहती नै भयो। त्यसबाहेक महेश खोला लगायतका ठाउँमा पनि नदीले कटान गरेको थियो।
त्यो तीनदिने झरीले कृष्णभीरलाई पनि पिरोल्यो। त्रिशूली नदीको धार कृष्णभीरतर्फ सोझिँदा २० वर्षअघि बनाएको टेवा पर्खाल, चेक ड्यामहरूमा क्षति पुग्यो। सडक किनारको ८० मिटर लम्बाइसम्मको सडक भाग ५० सेन्टिमिटरसम्म भासियो। ३० मिटर जति खण्डमा पहिरो नै चल्यो। यसले पृथ्वी राजमार्ग एकतर्फी बन्न पुग्यो।
यति मात्र होइन, सडकभन्दा माथिल्लो भागमा पनि साना–ठूला पहिरा चलेका थिए। त्यसले बायो–इन्जिनियरिङबाट हुर्काइएका बोटबिरूवासमेत लछारेको थियो। पानीको बहावमा अवरोध पुर्याएको थियो। त्रिशूली नदीको धार कृष्णभीरतर्फ सोझिँदा तल्लो क्षेत्र भासिएको थियो। माथिल्लो क्षेत्रमा पनि लेदो र गेग्रानले निकासमा अवरोध पुर्याउँदा पानी जथाभाबी बगेर भूस्खलनलाई सघाएको थियो।
त्यही कृष्णभीरमा अहिले धमाधम पहिरो नियन्त्रण कार्य भइरहेको छ। नागढुंगादेखि मुग्लिनसम्म तीन खण्ड छुट्टयाएर भइरहेको सडक चौडा बनाउने कामअन्तर्गत तेस्रो खण्डको आयोजनाले कृष्णभीर पहिरो रोकथाम गरिरहेको हो।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का आयोजना प्रमुख केदारप्रसाद नेपालका अनुसार कृष्णभीरको पहिरो रोकथामका लागि दुई चरणमा काम भइरहेको छ।
पहिलो चरणमा सडकदेखि किनारको भासिएको भाग रोकथाम गर्न 'माइक्रो पायलिङ' गरिँदैछ।
यसअन्तर्गत भासिएको भागमा प्वाल पारेर सिमेन्टका चेप्टो आकारको संरचना सिधा गाडिन्छ। अनि, सिमेन्टको घोला हालेर त्यसलाई कसिलो तुल्याइन्छ। त्यसपछि माथिबाट त्यही फलामका संरचनालाई बाँध्न आरसिसी गरिन्छ। यसले टेवा पर्खालकै काम गर्ने र माटोलाई आपसमा बाँध्न सघाउने आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर नेपाल बताउँछन्।
'गत वर्ष असोजको वर्षातले कृष्णभीरको पहिरो बल्झियो। तल्लो भाग त्रिशूली नदीले कटान गर्दा सडक किनारको भाग ५० सेन्टिमिटरसम्म भासिएर चिरा पर्यो,' उनले भने, '८० मिटरजति भागमा यस्तो चिरा परेकाले अहिले रोकथामको काम भइरहेको छ। यो पहिलो चरणको काम हो।'
यहाँ माइक्रो पायलिङको काम केही दिनमै सकिनेछ। त्यसपछि पहिरो नै चलेको भागमा 'एंकरेज' विधिअनुरूप ठाडा–तेस्रो फलामका किला गाडेर टेवा पर्खाल लगाउने काम सुरू हुने आयोजना प्रमुख नेपालले जानकारी दिए। यो काम मनसुनपछि सुरू हुनेछ।
अहिले क्षतिग्रस्त भागमा पानी नछिरोस् र थप भू–स्खलन हुनबाट जोगियोस् भनेर पहिरो गएको भाग प्लास्टिकले छोपिएको छ।
उनका अनुसार मनसुनपछि सुरू हुने दोस्रो चरणको काममा त्रिशूलीले कटान गरेको ठाउँमा नदी नियन्त्रण गरिनेछ। यसअन्तर्गत कटान गरेको ठाउँमा टेवा पर्खाल र चेक ड्यामको काम हुनेछ। सडकभन्दा माथिको भागमा बायो–इन्जिनियरिङको काम पनि गरिएको उनले बताए।
'माथि पनि साना–ठूला पहिरा चलेका थिए। ती ठाउँमा बायो–इन्जिनियरिङ गरेर रोकथाम गरिएको छ,' उनले भने, 'गत असोजको बाढी–पहिरोलगत्तै हामीले पहिरोको तलैसम्म पुगेर अध्ययन गरेका थियौं। जियोटेक, बायो–इन्जिनियरहरू र कन्सल्ट्यान्टसमेत बोलाएर अध्ययन गर्दा त्यति ठूलो समस्या पाएनौं। ठूलो पहिरो चलेर पहिलेजस्तै दुःख दिने देखेका छैनौं।'
नागढुंगा–मुग्लिन सडक विस्तारको उपक्रममा कृष्णभीरमा २० वर्षअघि बनाएको संरचना ननिकाल्ने गरी नक्सा डिजाइन गरिएको आयोजना प्रमुख नेपालको भनाइ छ।
'हाम्रो मापदण्डअनुसार न्यूनतम ९ मिटर सडक कालोपत्र हुने नै छ। त्यो भनेको दुई लेन हो। तर कृष्णभीरको संवेदनशील संरचना हटाउने गरी विस्तृत परियोजना प्रतिवेदन बनेको छैन, यसलाई थप व्यवस्थित बनाउँछौं,' उनले भने।
नागढुंगा–मुग्लिनको अन्तिम खण्डमा पर्ने मलेखु–मुग्लिन ३८.९ किलोमिटर छ। यो सडक खण्ड शर्मा जेडआइसिजी जेभीले बनाइरहेको हो। आयोजना लागत पाँच अर्ब रूपैयाँ छ।
अगाडिको दुई खण्डभन्दा आठ महिना ढिला गरी ठेक्का लागेको मलेखु–मुग्लिन खण्डको भौतिक प्रगति ३२ प्रतिशत मात्र छ।
अहिले साँघुरो सडक खण्डमा दैनिक १५ हजार साना–ठूला सवारी साधन आवतजावत गर्ने हुँदा तिनलाई व्यवस्थापन गरेर काम गर्न गाह्रो भएको र त्यसले पनि ढिलासुस्ती भइरहेको आयोजना प्रमुख नेपाल बताउँछन्।
यसबाहेक गत मनसुन यामको बाढी–पहिरो र कृष्णभीरको बल्झिएको समस्याको अध्ययनले पनि आयोजनामा केही ढिलाइ हुन पुगेको उनको भनाइ छ।
'घर–टहरा हटाउन पनि समस्या भयो। निर्माण व्यवसायीले स्रोत–साधनको उचित व्यवस्थापन गर्न नसक्दा पनि निर्माणमा विलम्ब भएको छ। आगामी आर्थिक वर्षसम्म सक्ने लक्ष्य लिएका छौं,' उनले भने।
अहिले मध्य बर्खा छ। पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा साना–ठूला पहिरो चलेकाले यात्रा चुनौतीपूर्ण बनेको छ। मनसुन निष्क्रियजस्तै रहेकाले यात्रा त्यति कष्टपूर्ण छैन। तर मुसलधारे पानी पर्दा कृष्णभीरजस्ता पुराना पहिरो बल्झने, परेवा भीरजस्ता ठाउँमा सुख्खा पहिरो खस्ने समस्या हुनसक्छ। नयाँ पहिरो पनि चल्न सक्छन्। पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पुलमा प्वाल पर्ने र भासिने समस्या भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डमा पहिराले यातायात अवरूद्ध नगरोस् भनेर करिब १२ वटा उपकरण तयारी अवस्थामा राखिएको नेपालले जानकारी दिए। उनका अनुसार तीन ठाउँमा उपकरण तम्तयार राखिएको छ।
'कृष्णभीरजस्ता पुराना पहिरोले दुःख दिने ठानेका छैनौं। पोहोरजस्तो भासियो भने पनि आधा घन्टाभित्रै पहिरो पन्छाएर सडक सञ्चालन गर्ने गरी जनशक्ति तैनाथ गरेका छौं,' उनले भने, 'सडक निर्माणाधीन छ। यात्रामा असुविधा हुनसक्छ। तर पहिरोले घन्टौं रोकिनुपर्ने, जाममा बस्नुपर्ने अवस्था आउन नदिन हामी सचेत छौं।'
***
यी पनि पढ्नुहोस्:








