नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा अपेक्षा गरे भन्दा बढी दर्शकको आगमनले प्रदर्शन अवधि थप गरिएको छ।
५ दिन खुल्ने भनिएको एक्स्पोमा अवलोकनकर्ताहरूको मागलाई थोरै समयमा सम्बोधन गर्न गाह्रो भएपछि नाइमाले एकदिन प्रदर्शन अवधि थप गरेको छ।
आफूलाई मनपर्ने सवारीसाधनहरू अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध सञ्चालन भयो।
अरु दिन कार्यालयको कामकाजमा व्यस्त रहने व्यक्तिहरूले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका छन्।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै कलाकार, कूटनीतिक नियोगका कर्मचारी, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्ति, व्यापारी लगायत समाजका सबै तहका व्यक्तिहरुले उपस्थिति जनाएका छन्।
प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार पाँच सय अवलोकनकर्ताहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा सहभागिता जनाएका छन्।
स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रदर्शनीमा अवलोकनकर्ताहरूको माया र समर्थन प्राप्त गर्न सफल नाइमा, आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पुर्याउन प्रतिबद्ध छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू राखिएका छन्।
साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला रहने भनिएको प्रदर्शनी अब साउन २६ गतेसम्म खुल्ने भएको छ।