यो वर्षको नाडा अटो शो विद्युतीय सवारी साधनको कमै उपस्थिति देखियो। उपस्थिति थोरै भए पनि प्रर्दशनमा राखिएका विद्युतीय सवारी साधनको विषेशता भने अन्य सवारी साधनलाई टक्कर दिने खालको थियो।
विद्युतीय सवारी साधनलाई नेपालीले खासैं विश्वास गरिसकेका छैनन् तर पनि पछिल्लो समय यसको माग बढ्दो क्रममा रहेको व्यवसायीहरु बताउँछन्। विश्वका केही देशहरुले मिति तोकेरै डिजेल, पेट्रोल इन्जिन गाडी हटाउने तयारी गरिरहेका छन् जसले गर्दा अटोमोवाइल्स कम्पनीहरु अत्याधुनिक विद्युतीय सवारी निर्माणमा लागि परेका छन्।
नेपाल सरकारले यस्ता सवारी साधनमा लाग्दै आएको करमा विषेश छुट दिँदै आइरहेको छ, जसले गर्दा बिद्युतिय सवारीको मूल्य पनि कम पर्छ।
यस्ता छन् नाडा अटो शोमा राखिएका अत्याधुनिक बिद्युतिय सवारी साधनमहिन्द्रा इटुओ
महिन्द्राको इटुओ नेपालमा केही समय पहिले भित्र्याइएको हो। २६ लाख ५० हजार पर्ने यो कारको पछाडि समेत विपर राखिएको छ। यो कार सराङकोटको उकालोमा समेत राम्रोसँग चलेको अग्नी इन्कर्पोरेटका असिस्टेन्ट म्यानेजर सिजन न्यौपाने दावी गरे। यो कारको भन्सार छुट हुने भएकोले मात्र यती सस्तोमा पाइएको न्यौपानेले जानकारी दिए।
यो कार ५ देखि ६ घण्टामा फूल चार्ज हुने र फूल चार्ज भएपछि १२० किलोमिटरसम्म चल्ने कम्पनीले जनाएको छ। यसमा एयर ब्याग लगाएतको सेफ्टी फिर्चस समेत छ।
किया ‘सोल इभी’
कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नयाँ विद्युतीय कार ‘सोल इभी’ प्रदर्शनमा राखेको छ।
केही दिनअघि मात्र नेपालमा औपचारिक बिक्रि सुरू गरेको यो कार वातावरणमैत्री भएको कम्पनीले दाबी गरेको छ। उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र यसमा जस्तो क्षमता अन्य कुनै विद्युतीय सवारीमा नभएको कम्पनीको दाबी छ।
यो कार एक पटकको पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ। यो कारमा लिथियम आयोन पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ। धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न एकदमै कम समय लाग्छ। कम्पनीले सञ्चालन गर्न लागेको चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा र कार किन्दा ग्राहकलाई दिइने एसि लो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ।
यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ। यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समेत समावेस छ। दुई वटा संस्करणमा उपलब्ध यो कारको मूल्य क्रमशः ५६ लाख र ५८ लाख रुपैयाँ छ। यसको महँगो संस्करणमा सन रुफ छ। यो कारमा गियरको झन्झट नहुने बताइएको छ।
नियु स्कुटर
न्यु स्कुटरको नेपालको लागि आधिकारीक बिक्रेता इको इन्फिनिटी प्रालिले यो स्कुटर प्रर्दशनमा राखेको छ। नेपालमा औपचारीक बिक्रि बितरण नभएको यो स्कुटरको मूल्य २ लाख ६५ हजार तोकिएको छ।
३ वटा गियर भएको यो स्कुटरमा लिथिएम आयोन ब्याट्री प्रयोग भएको कम्पनीले जनाएको छ। यसमा सिमकार्ड हाल्न मिल्ने र जिपिएस ट्रया्क गर्न मिल्ने कम्पनीले जनाएको छ। यो स्कुटर चार्ज हुन ४ देखि ६ घण्टा लाग्ने कम्पनीका कर्मचारी रुपक भट्टराइले जानकारी दिए।
जर्मन कम्पनीको यो स्कुटरमा पानासोनीक ब्याट्री प्रयोग गरिएको छ भने यसलाई चाइनामा एसेम्बल गरिएको हो। फुल चार्जमा यो स्कुटर ८० किलोमिटर चल्ने र यसको अधिक्तम रफ्तार ५० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले दाबी गरेको छ।
टेराको ‘अक्टो र इको’ स्कुटर
जापानी कम्पनी टेरा मोटरले उत्पादन गरेको ‘अक्टो र इको’ इलेक्ट्रोनिक स्कुटर फेयर अटोले प्रदर्शनी राखेएको छ।
२ लाख ३५ हजार अक्टो स्कुटर साढे ३ घण्टामा फूल चार्ज हुने र फूल चार्जमा ७० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ। यो स्कुटरको मोटर र ब्याट्रीमा २ बर्षको वारेन्टी रहेको छ।
यसमा लिथियम आयोन ब्याट्री प्रयोग भएको छ। दुबै पांग्रामा मोनो सक प्रयोग भएको यो स्कुटर भियतनाममा एसेम्बल गरिएको हो। यो स्कुटरको अधिक्तम रफ्तार ९३ किलोमिटर प्रतिघण्टा कम्पनीले दाबी गरेको छ। यो स्कुटरलाई जिपिएस ट्रया्कीङ गर्न सकिने बताइएको छ।
त्यसैगरी टेराको अर्को १ लाख ३८ हजार पर्ने ‘इको’ स्कुटर ७ देखि ८ घण्टामा फूल चार्ज हुने कम्पनीले जनाएको छ । र फूल चार्जमा ८० किलोमिटरसम्म चल्ने बताइएको छ।
४ वटा रङहरुमा उपलब्द यो स्कुटरमा एसिड ब्याट्री प्रयोग गरिएको छ। यो स्कुटर को ब्याट्रीमा १ बर्ष र मोटरमा २ बर्षको वारेन्टी रहेको छ। डिजिटल स्पिडोमिटर रहेको यो स्कुटरको अगाडीको पांग्रमा डिक्सब्रेक रहेको कम्पनीका कर्मचारी पंकज रावलले जानकारी दिए।