बीमा समितिले चार बीमा कम्पनीलाई अनलाइनमार्फत बीमा सेवा संचालन गर्न निर्देशन दिएको छ।
समितिले नेस्नल लाईफ इन्सुरेन्स, युनियन लाइफ इन्सुरेन्स, रिलायबल लाइफ इन्सुरेन्स र सुर्य लाइफ इन्सुरेन्सलाई अनलाइन प्रणालीबाट बीमा लेख जारी गर्न तथा नवीकरण अनलाईन प्रणालीबाट गर्न निर्देशन दिएको हो।
वैदेशिक रोजगारमा जाँदा बीमा एजेन्टहरुले किर्ते बीमा कागजात बनाएको तथा समयमै बीमा रकम भुक्तानी नभएको गुनासो गरेपछि बीमा समितिले चार कम्पनीलाई मात्र अनलाइनमार्फत बीमा अनुमति दिएको थियो।
बीमा समितिले २०७५ माघदेखि नै यी कम्पनीलाई वैदेशिक रोजगारमा जानेको बीमा गर्ने अनुमति दिएको थियो। त्यसो त १९ जीवन बीमा कम्पनीमध्ये १४ कम्पनीहरु अहिले वैदेशिक रोजगार विभागमा दर्ता छन्।
तर, बीमा समितिले भने ४ कम्पनीलाई मात्र कारोबारको अनुमति दिएको छ।
४ कम्पनीले बीमा कारोबारको अनुमति पाए पनि सबै जीवन बीमा कम्पनीले त्यसमा हिस्सेदारी हुनेगरी बीमा समितिले पुल बनाएको थियो।
सो पुल बनाउँदा बीमा कारोबारबाट भएको नाफा वा घाटा १९ जीवन बीमा कम्पनीलाई नै बाँडिने बताइएको छ।
नाफा भए सबै जीवन बीमा कम्पनीले हिस्सा पाउनेछन्। घाटा भए सबैले त्यसको क्षतिपूर्ति ब्यहोर्नुपर्ने छ।
पछिल्लो समय वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारको काम अनलाइनमार्फत गरिरहेको छ।
त्यसैले बीमाको कारोबार पनि अनलाइनबाट गर्न बीमा समितिलाई विभागले भनेको थियो। सोहीअनुसार बीमा समितिले बीमा कम्पनीलाई अनलाइन कारोबार गर्न निर्देशन दिदैं पत्र पठाएको हो।