धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली २०८० अर्थमन्त्रालयमा पेश गरेको छ।
अर्थमन्त्रालयमा पेश भएको यो नियमावली मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ।
नियमावलीले साना तथा मझौला कम्पनीको सेयरमा न्यूनतम २५० कित्ता सेयरको लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ।
नियमावली अनुसार अधिकतम चुक्ता पुँजी २५ करोड रूपैयाँका कम्पनीलाई बोर्डले साना तथा मझौला कम्पनीमा वर्गीकरण गरेको छ। चुक्ता पुँजीको सीमा बोर्डले आवश्यकता अनुसार हेरफेर गर्न सक्ने व्यवस्था छ।
संगठित संस्थाको जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी यस्ता कम्पनीको सेयर निष्कासन गर्नु पर्ने व्यवस्था छ।
यस्ता संस्थाले धितोपत्र निष्कासन गर्नुअघि क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन। बोर्डले आवश्यक देखेमा त्यस्तो संगठित संस्थालाई धितोपत्रको सार्वजनिक निष्कासन गर्नु पूर्व क्रेडिट रेटिङ संस्थामार्फत रेटिङ गराउन निर्देशन दिन सक्नेछ।
यस्ता कम्पनीको कारोबारको लागि धितोपत्र बजार (हाल नेप्से) ले छुट्टै प्लेटफर्म पनि बनाउनु पर्ने हुन्छ। धितोपत्र बजारले कम्तिमा प्रत्येक दुई वर्षमा यो कारोबार प्रणालीको सम्परीक्षण (सिष्टम अडिट) गराउनु पर्ने समेत व्यवस्था छ।