काठमाडौंबाट दिल्ली उडेको इन्डियन एयरलाइन्सको 'आइसी ८१४' जहाज अपहरणका मुख्य योजनाकार रउफ अजहर पनि पछिल्लो सैन्य कारबाहीमा मारिएको भारतले दाबी गरेको छ।
पहलगामको आतंकवादी हमलापछि भारतले पाकिस्तानविरूद्ध चलाएको 'अपरेसन सिन्दुर' मा मारिएका आतंकवादीमध्ये रउफ अजहर पनि एक भएको भारतीय पत्रकार बर्खा दत्तले आफ्नो च्यानलमा बताएकी छन्।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले सर्वदलीय बैठकमा दिएको सूचना उद्धत गर्दै वरिष्ठ पत्रकार बर्खा दत्तले उक्त कुरा बताएकी हुन्।
रक्षामन्त्री सिंहले बैठकमा भनेअनुसार अपरेसन सिन्दुरमा करिब सय जना आतंकवादी मारिएका र तीमध्ये दस जना अतिवादी संगठन 'जैश–ए–मोहम्मद' का प्रमुख मसूद अजहरका निकट नातेदार छन्। रउफ अजहर तिनैमध्ये पर्छन्।
जैश–ए–मोहम्मदको सञ्चालन प्रमुखसमेत रहेका उनी मसूद अजहरका भाइ हुन्।
आजभन्दा २५ वर्षअघि सन् १९९९ डिसेम्बर २४ (२०५६ पुस ९ गते) मा काठमाडौंबाट दिल्ली उडेको आइसी–८१४ जहाज आतंकवादीहरूले अपहरण गरेका थिए। जहाजमा चालक दलसहित १८८ जना यात्रु थिए। एक जना यात्रुको आतंकवादीहरूले हत्या नै गरे। त्यसमा आठ जना नेपाली यात्रु पनि थिए।
उक्त अपहरणका मुख्य योजनाकार रउफ अजहर भएको भारतीय पक्षले बताउँदै आएको छ। रउफलाई भारतले 'मस्ट वान्टेड' सूचीमा राखेको थियो।
जहाज अपहरणपछि भारत सरकारले तीन जना आतंकवादी — मसूद अजहर, ओमार सैद शेख र मुस्ताक अहमद जारगर — लाई फिरौतीका रूपमा रिहा गरेको थियो।
मसूद अजहर नेतृत्वको जैश–ए–मोहम्मदको स्थापना 'आइसी–८१४' जहाज अपहरणपछि नै भएको हो। मसूदले जहाज अपहरणपछि भारतीय जेलबाट रिहा भएर सन् २००० मा यो संगठन स्थापना गरेका थिए।
त्यसयता भारतमा भएका विभिन्न आतंकवादी हमलामा उनी संलग्न रहेको मानिन्छ। खासगरी सन् २००१ को संसद भवन हमला, २०१६ को पठानकोट आक्रमण र २०१९ को पुलवामा हमलामा उनको हात रहेको दाबी गरिन्छ। पुलवामा हमलामा ४० जना सैनिकको ज्यान गएको थियो।
अर्कातिर, जहाज अपहरणपछि रिहा भएका ओमार सैद शेखले सन् २००२ मा 'वाल स्ट्रिट जर्नल' का पत्रकार डेनियल पर्लको हत्या गरेका थिए।
रउफ अजहरको मृत्युसँगै आइसी ८१४ अपहरणसँग जोडिएको एक मुख्य कडीको अन्त्य भएको भारतीय पक्षले बताएको छ।
रउफ अजहरलाई उनको समूहमा उस्तादजी, मोहम्द सलिम, घोसी साहब गरी तीन उपनामले चिनिन्छ। आतंकवादी संगठन 'जैश–ए–मोहम्मद' मा उनको भूमिका हतियार प्रशिक्षण थियो भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। जम्मु र कश्मिरमा भएका धेरै आतंकवादी हमलामा उनको संलग्नता रहेको दाबी गरिन्छ।
भारतले 'अपरेसन सिन्दुर' लाई जम्मू–कश्मिरको पहलगाममा अप्रिल २२ तारिखका दिन भएको आतंकवादी हमलाको जबाफ भनेको छ। उक्त हमलामा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो।
भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मिरमा रहेका नौवटा आतंकवादी क्याम्पमा हमला गरिएको थियो। ती क्याम्पमा जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिज्बुल मुजाहिद्दिनका लडाकूलाई प्रशिक्षण दिने गरिएको भारतीय सेनाको दाबी छ।
हवाई हमला गरिएको एउटा ठाउँ पाकिस्तानको बहावलपुर हो। रउफ अजहरसहित मसूदका अन्य नातेदार त्यहीँ मारिएका थिए। मसूदको जन्म बहावलपुरमै भएको थियो। उनी अहिले पनि त्यही ठाउँमा कडा सुरक्षाबीच बस्दै आएको दाबी गरिन्छ। लाहोरबाट ४०० किलोमिटर दुरीमा रहेको बहावलपुर पाकिस्तानको १२औं ठूलो सहर हो।
रउफ अजहरबाहेक अपरेसन सिन्दुरमा मारिएका अन्य प्रमुख आतंकवादीको नाम पनि भारतीय मिडियाहरूले सार्वजनिक गरेका छन्।
तीमध्ये मुदस्सर खादियान खास एक हुन्। उनको उपनाम मुदस्सर र अबु जुनदल भनिएको छ। उनी लश्कर–ए–तइबामा आबद्ध रहेको भारतको दाबी छ। उनी पाकिस्तानको मुरिद्केस्थित मार्काज तइबाको प्रमुख समेत हुन् भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ।
बुधबारको हमलामा उनको मृत्यु भएपछि अन्त्येष्टिमा पाकिस्तानी सेनाले सम्मानगारत प्रदान गरेको र पाकिस्तानी सेनाप्रमुख र पञ्जाबकी मुख्यमन्त्रीको तर्फबाट पुष्पगुच्छा पनि अर्पण गरिएको दाबी हिन्दुस्तान टाइम्सले गरेको छ।
त्यस्तै, मारिएका अर्का आतंकवादी हाफिज मुहमद जमिल 'जैश–ए–मोहम्मद' मा आबद्ध रहेको भनिएको छ। उनी मसूद अजहरका छोरा हुन् भन्ने भारतीय मिडियाको भनाइ छ। उनी बहावलपुरस्थित मार्काज सुभान अल्लाहका प्रमुख थिए भनेर हिन्दुस्तान टाइम्सले लेखेको छ। उनको भूमिका युवाहरूलाई कट्टरपन्थी विचारधारामा लैजाने र जैश–ए–मोहम्मदका लागि पैसा संकलन गर्ने रहेको पनि दाबी गरिएको छ।
'खालिद' उपनामले चिनिने अबु अकाशा र मोहम्मद हसन खान पनि मारिएको भारतीय पक्षको दाबी छ।
जहाज अपहरण कसरी भएको थियो? अपहरण अवधिभर के–के भए? यसबारे अपहरणमा परेका नेपाली यात्रु सञ्जय धितालको अनुभव —