बैंकहरूले जेठ महिनामा कर्जाको ब्याजदर घटाउन थालेसँगै लगानीकर्ताको मनोवल बढेको छ। यही कारण सेयर बजार परिसूचक नेप्से मंगलबार ५१.३१ अंकले बढ्यो।
यस दिन नेप्से २.७१ प्रतिशतले बढेर १९४२.६३ बिन्दुमा पुगेको छ।
नेप्सेमा गत चैत २९ गते पछिकै उच्च वृद्धि भएको हो। जेठमा औसत ०.२२ प्रतिशत कर्जाको ब्याजदर घटेको बैंकरहरूले बताएका छन्।
चैतदेखि कर्जाको ब्याजदर घट्दो क्रममा छ। माघ, फागुनमा १३ प्रतिशत हाराहारीमा रहेको कर्जाको ब्याजदर जेठमा १२.४० प्रतिशत हाराहारी आएको छ।
यस बाहेक ११ वर्षपछि बजारमा ७ वटा नयाँ ब्रोकर कम्पनी थपिएका छन्। बजारको दायरा विस्तार हुँदै जाने अपेक्षामा लगानीकर्तामा देखिएको छ। यही कारण मंगलबार कारोबार रकम पनि २ अर्ब रुपैयाँ नाघेको छ।
गत फागुन १४ गतेपछि कारोबार रकम २ अर्ब रुपैयाँ नाघेको हो।
गत कारोबार दिन १ अर्ब २७ करोड ४ लाख ८७ लाख ४ हजार ७२६ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँ पुगेको छ।
यस दिन २७१ वटा धितोपत्रको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस दिन कालिका लघुवित्त, खप्तड लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।
यसैगरी, सनराइज फर्स्ट म्युचुअल फण्डको इकाइ मूल्य सर्वाधिक २ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रुपैयाँ २९ पैसामा झरेको छ।
मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४३६ रुपैयाँ ५० पैसामा १० करोड ५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.८५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ। उक्त कम्पनीको ७९५ रुपैयाँमा ८ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ४.०५ प्रतिशतले बढेको छ।