चालु आर्थिक वर्षको नौ महिनामै परिपक्व अवधि बाँकी रहेका ७१ हजार ८ सय ५९ बीमालेख समर्पण गरिएको छ।
ग्राहकहरूले कुल नौ अर्ब ९४ करोड रूपैयाँ बराबरको बीमा लेख अवधि नसकिँदै निरन्तता नदिने गरी रद्द गरेका हुन्।
गत आर्थिक वर्ष २०७८/७९ भरिमा कुल १२ अर्ब १८ करोड रकम बराबरको बीमा लेख समर्पण भएको थियो। यो वर्ष भने नौ महिनामै करिब १० अर्ब रुपैयाँ बराबरको बीमा लेख समर्पण भएको छ।
पछिल्लो समय अर्थतन्त्र मन्दीउन्मुख हुँदा र मूल्य वृद्धि उच्च हुँदा मानिसहरूको क्रयशक्ति घटेको छ। आम्दानीको तुलनामा खर्च बढेको छ। धेरैले यही कारण पनि यसरी बीमा लेख बीचमै रद्द भएको हुनसक्ने मानिरहेका छन्।
आर्थिक मन्दीभन्दा पनि केही अभिकर्ताहरूको बदमासीको कारण ग्राहकहरूले यसरी बीचमै बीमालेख समर्पण गरिरहेको बीमा प्राधिकरणको निश्कर्ष छ।
पछिल्लो मिति (ब्याक डेट) राखेर बीमा लेख जारी गर्ने प्रवृत्ति, एक वर्षमै बीमा लेखको आधारमा ग्राहकले कर्जा पाउने व्यवस्था र अभिकर्ताले एकभन्दा बढी कम्पनीको लागि बीमालेख बिक्री गर्न सक्ने व्यवस्थाको कारण यो समस्या धेरै बढेको बीमा प्राधिकरणको बुझाइ छ।
'सबै त होइन केही अभिकर्ताहरूले बदमासी गरेको कारण पनि अहिले यसरी बीमालेख समर्पण गर्ने प्रवृत्तिमा वृद्धि भएको हो,' बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले बताए, 'हामीले यसमा नियन्त्रण गरेको कारण पनि अहिले केही दरमा यस्तो समर्पण बढेको छ तर यो क्रम विस्तारै घट्दै जान्छ।'
बीमा प्राधिकरणले यिनै बदमासी रोक्न डेढ वर्षअघि यसमा कडाइ गरेको छ। अहिले पछिल्लो मिति (ब्याक डेट) राखेर बीमालेख जारी गर्न पाइँदैन।
अब, बीमा लेख जारी भएपछि ग्राहकले कम्तिमा ३ वर्ष नभई समर्पण गर्न पाउदैनन् भने यो अवधि नपुग्दासम्म बीमालेखको धितोमा कर्जा समेत पाउँदैनन्। त्यस्तै, अभिकर्ताहरूले पहिले जसरी कर्जा समेत लिन पाउँदैनन् भने एउटा अभिकर्ताले एउटा कम्पनीको बीमा लेख मात्रै बिक्री गर्न पाउँछ।
'पहिले अभिकर्ताहरूले नै करोडौ रूपैयाँसम्म कर्जा पाउथे, यसले गर्दा ग्राहकको पक्षबाट सुरूमा अभिकर्ता आफैँले रकम हालिदिने प्रवृत्ति समेत थियो,' प्राधिकरणका निर्देशक दिनेश लाल कर्णले भने, 'तर, अहिले अभिकर्ताले मोटरसाइकल वा ल्यापटप खरिद गर्न सानो रकमसम्मको कर्जा मात्र लिन पाउँछन्।'
पछिल्लो मिति राखेर बीमालेख जारी गर्न पाउने व्यवस्थाको कारण सुरूमा अभिकर्ताले नै पैसा हालिदिएर ग्राहकबाट विस्तारै भुक्तानी लिने प्रवृत्ति पनि मौलायो। पहिले अभिकर्ताले समेत करोडौ रूपैयाँसम्म कर्जा पाउने व्यवस्थाले यो प्रवृत्तिलाई थप मलजल गर्यो। यही कारण ग्राहकले थेग्न सक्नेभन्दा धेरै भार हुने रकमका बीमालेख पनि बिक्री भयो।
अभिकर्ताहरूले यसअघि एकभन्दा बढी कम्पनीको बीमालेख बिक्री गर्न पाउने व्यवस्था हुँदा उनीहरू आफैँले ग्राहकलाई बीमालेख समर्पण गराउने गरेको समेत पाइएको थियो।
विशेषगरी, अभिकर्ताहरूले बीमालेख बिक्री गरेपछि सो बापत पहिलो प्रिमियम शुल्कमा २५ प्रतिशतसम्म र प्रोत्साहन शुल्कको रुपमा १८ प्रतिशतसम्म पाउँछन्। बीमालेखको अवधि बढ्दै जाँदा यो दर घट्दै जान्छ। यही कारण पनि अभिकर्ताहरूले ग्राहकलाई फकाएर पुरानो बीमालेख समर्पण गर्न लगाउने र अर्को कम्पनीको बीमालेख भिडाउने गर्दै आएका थिए।
अहिले एउटै कम्पनीको मात्रै बीमालेख बिक्री गर्न पाउने नियमसँगै अभिकर्ताहरूले आफूले काम गर्ने सोही कम्पनीकै बीमा योजनामा ग्राहकलाई आबद्ध गराइरहेकोले पनि समर्पण केही बढेको हो। त्यसैले आगामी दिनमा समर्पण हुने दरमा केही न केही कमी आउँदै जाने अनुमान प्राधिकरणको छ।
ग्राहकहरूको क्रयशक्तिमा आएको कमी, युवा विदेशिने क्रम बढेको कारण पनि केही हदसम्म भने बीमा लेख समर्पण भएका छन्।
'अहिले बढाइएको समर्पण अवधिले समस्या पर्यो भन्दै केही व्यक्तिहरू यही कार्यालयमा समेत आएका थिए,' नायव निर्देशक निर्मल अधिकारीले बताए, 'विशेष गरी विदेशीन लागेका युवाले समर्पण गराउन समस्या भएको भन्दै पनि आएका थिए।'
करिब डेढ वर्षको अवधिमा मुलुकबाट ८/१० लाखको संख्यामा युवाहरू बाहिरिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
यसले पनि केही हदसम्म समर्पण गर्ने प्रवृत्ति बढाएको हुनसक्ने प्राधिकरणको विश्लेषण छ।
प्राधिकरणले अहिले लिएको नीतिले धेरै हदसम्म समर्पणमा कमी आउने अनुमान गरेको छ।
'कुनैपनि मुलुकमा बीमा लेख समर्पण दर शून्य नै भने हुँदैन, यहाँ पनि रहला,' प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले भने, 'तर, धेरै हदसम्म घटाउनेछ।'