फोन-पे पेमेन्ट सर्भिस लिमिटेडले आइपिओ जारी गर्ने पूर्वतयारी सुरू गरेको छ।
यसमा लागि फोन-पे र एनएमबी क्यापिटलबीच परामर्शसेवा सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुरूप एनएमबी क्यापिटलले फोन-पेलाई आफ्नो विशेषज्ञता र क्षमताका आधारमा आइपिओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ। त्यस्तै फोन-पेलाई आइपिओ जारी गर्न चाहिने पूर्वतयारी गर्न सघाउने छ।
पूर्वतयारीको काम सकिएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिई फोन-पेले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने छ।
कम्पनीका अनुसार फोन-पे आइपिओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो।
नेपालको पुँजी बजारमा सार्वजनिक सूचीकृत कम्पनी बन्न पाइला चालिरहेको फोन-पेका लागि एनएमबीसँगको सम्झौता एक महत्वपूर्ण कोसेढुंगा भएको कम्पनीले जनाएको छ।
सम्झौतामा हस्ताक्षर गर्दै फोन-पेका प्रमुख कार्यकारी दिवस सापकोटाले एनएमबीसँगको सम्झौताले आफूहरूलाई थप सहज हुने बताए।
'हामीले साधारण सेयर जारी गर्ने मात्र भन्दा पनि प्रविधि क्षेत्रमा काम गरिरहेका नेपालका अन्य कम्पनीलाई प्रेरणा दिन र बेन्चमार्क सेट गर्न खोजेका हौं,' उनले भने, 'यो सपना हासिल गर्न हामीलाई आवश्यक पर्ने सहयोग र मार्गदशनका लागि एनएमबी क्यापिटलसँग सहकार्य गर्न लागेका हौं।'
फोन-पे नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा इजाजतपत्र प्राप्त डिजिटल भुक्तानी नेटवर्क हो। सन् २०१९ देखि सञ्चालनमा रहेको फोन-पेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोन मार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।
फोन-पे नेटवर्कमा ५८ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्य छन्। एक करोड ८० लाखभन्दा बढी सेवाग्राही र १२ लाख बढी मर्चेन्टहरू आबद्ध छन्। यसले दैनिक सात अर्ब रूपैयाँभन्दा बढीको नगदरहित कारोबार सहजीकरण गरिरहेको कम्पनीले जनाएको छ।
एनएमबी बैंकको सहायक कम्पनी एनएमबी क्यापिटल, नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा इजाजतपत्र प्राप्त संस्था हो। यसले मर्चेन्ट बैंकिङको सेवा दिइरहेको छ।