सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले समेत आय विवरण बुझाउनु पर्ने व्यवस्था गरिने आर्थिक विधेयकमा उल्लेख भएसँगै लगानीकर्ताहरू आत्तिएका छन्।
यही कारण लगानीकर्ताहरू आत्तिँदा मंगलबार सेयर बजार परिसूचक ५३ अंकले घट्यो।
तर, आन्तरिक राजस्व विभागले भने अहिले ल्याएको व्यवस्थाले लगानीकर्ताले सेयर बजारबाट भएको घाटामा कर तिर्नुपर्ने व्यवस्था नआउने बताएको छ।
'अहिले व्यावसायिक कारोबार गर्ने व्यक्ति वा प्रोपाइटर फर्मले सेयर कारोबार गर्दा पनि १० प्रतिशत अग्रिम कर तिर्न परिरहेको छ,' विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, 'यसले गर्दा लगानीकर्ताहरूले नोक्सान हुँदा समेत कर तिरिरहनु परेको थियो, अब यो व्यवस्थाले लगानीकर्ताले नोक्सानको कर तिर्नुपर्दैन।'
उनका अनुसार यदि कुनै व्यावसायिक लगानीकर्ता वा प्रोपाइटर फर्मलाई सेयर कारोबारको कारण नोक्सान भएको छ भने उसले त्यस्तो घाटा सात वर्षसम्म सार्न सक्छ।
यसरी सार्ने क्रममा त्यसपछिका वर्षमा नाफा हुँदै गएमा त्यसलाई घटाउन समेत सक्छ। र, यसरी सार्दा वा घटाउँदा पनि सो नोक्सान बापतको रकम भएमा सरकारले यो रकम फिर्ता गर्छ वा त्यसलाई थप अन्य वर्षमा समायोजन गर्न सक्ने सुविधा दिनेछ।
यसरी अग्रिम कर कट्टा गर्दा लगानीकर्ताले बैंकबाट ऋण लिएर गरेको लगानी भएमा ब्याजको लागत समेत कटाउन पाउने मैनालीले बताए।
व्यवसायका अन्य लागत समेत कटाउन सकिने मैनालीले बताएका छन्। तर, यसको लागि विभागले आवश्यक करको ढाँचा भने बनाइदिने भएको छ।
दिइने ढाँचामा लगानीकर्ताहरूले स्वेच्छिक रूपमा विवरण भर्न सकिने र अलग्गै लेखा परीक्षणको व्यवस्था गर्नुपर्ने समेत मैनालीले बताए। उनले यस्तो ढाँचा भने सरल हुने बताएका छन्।
यसमा कसरी कर निर्धारण गरिने भन्नेमा भने अझै स्पष्ट पारिएको छैन।
सेयर बजारमा व्यावसायिक लगानी गर्दा लगानी पनि गरिएको हुने, आफैंमा रोजगारी पनि सृजना भएको हुने र व्यवसाय जसरी केहीलाई रोजगारी दिएको पनि हुने भएकोले यस्तो व्यवस्था गरिन लागिएको मैनालीले बताए।
यसलाई व्यावसायिक कर लगाउने र अग्रिम करकट्टीलाई समायोजन गर्न दिने उद्देश्य विभागको देखिन्छ।
हाल लगानीकर्ताहरूले दीर्घकालीन लगानी भएमा ५ प्रतिशत पुँजीगत लाभकर र अल्पकालीन लगानी भएमा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्। संस्थागत लगानीकर्ताहरूले समेत १० प्रतिशत लाभकर तिर्नुपर्छ।
तर, अहिलेको व्यवस्थापछि भने पुँजीगत लाभकर बाहेक पनि आयकरमा जानुपर्ने र यसो हुँदा ३९ प्रतिशतसम्म कर तिर्नुपर्न सक्ने भन्दै लगानीकर्ताहरू आत्तिएका हुन्।