राष्ट्र बैंकले नेपाल आउने भारतीय पर्यटकहरूको रोजाइको विद्युतीय भुक्तानी माध्यमबारे अध्ययन गर्ने तयारी गरेको छ।
हालै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को भारत भ्रमण क्रममा नेपाल-भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको थियो।
यही सम्झौतालाई सघाउने गरी यस्तो अध्ययनको तयारी गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभाग प्रमुख गुरुप्रसाद पौडेलले बताए।
'राष्ट्र बैंकका सीमा नाका नजिकका प्रदेशस्तरीय कार्यालयहरूबाट यस्तो अध्ययन गर्ने तयारीमा छौं। यसले यहाँ पर्यटकका रूपमा आउने भारतीयहरूलाई भुक्तानी सुविधा दिन सहज हुनेछ,' उनले भने।
पर्यटन बोर्डको तथ्यांकअनुसार हाल वार्षिक सरदर दुई लाख १० हजार भारतीय पर्यटक आउँछन्। अहिले नेपालले पाँच सय र दुई हजारका भारतीय नोट चलनचल्तीमा रोक लगाएको छ। यस्तो अवस्थामा डिजिटल प्रविधि समेत असहज हुँदा भारतीय पर्यटक निरूत्साहित हुने सम्भावना भएको भन्दै अध्ययन थालिएको हो।
भारतीय केन्द्रीय बैंक रिर्जभ बैंक अफ इन्डिया (आरबिआई) को सन् २०२२ को तथ्यांकअनुसार करिब ६५ करोड १० लाख भारतीयले 'रूपे कार्ड' प्रयोग गर्छन्। सन् २०७९ मै भारतीयहरूले नेपाल भ्रमण क्रममा रूपे कार्ड प्रयोग गर्न सकिने गरी सुविधा दिइएको थियो। २०७८ चैतमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा यस्तो सम्झौता भएको थियो।
भारतीय मध्यम वर्गमा 'रूपे कार्ड' को प्रयोग बढी छ। नेपाल भ्रमणमा आउने पर्यटकहरू यही मध्यम वर्गीय हुन्। तर उनीहरूले यहाँ रूपे कार्डको सहज प्रयोग गर्न सकिरहेका छैनन्।
पछिल्लो समय भने दुई देशको भुक्तानी प्रणाली नै एकअर्कामा अन्तरआबद्ध (इन्टिग्रेटेड) गराउने प्रयासले भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।
'यसमा थप गृहकार्य आवश्यक छ, तर सम्भावना छ,' राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले भने।
सम्झौताअनुसार भारतको नेसनल पेमेन्ट कर्पोरेसनले विकास गरेको भुक्तानी प्रणाली 'युनिफाइड पेमेन्ट इन्टरफेस' र नेपाल क्लियरिङ हाउस लिमिटेडले विकास गरेको 'नेसनल पेमेन्ट्स इन्टरफेस' बीच अन्तरआबद्धता गरिन लागेको हो।
योसँगै आगामी दिनमा दुवै देशका केन्द्रीय बैंकहरूबीच थप सहमति हुनेछ। विशेषगरी, कारोबार सीमा, कारोबार शुल्क लगायत विषयमा दुवै देशका केन्द्रीय बैंकहरूबीच सहमति गरिनेछ। क्युआर कोड, पस मेसिन वा एटिएम; सबै माध्यमबाट भुक्तानी गर्न वा रकम झिक्न सक्ने व्यवस्था हुनेछ।
अहिले नेपालमा जारी भइरहेको भिसा वा मास्टर कार्ड जसरी भारतीय कार्ड भने यहाँका बैंकले जारी गर्ने छैनन्।
'भारत र नेपालले आफ्नो देशमा जारी भएका कार्ड एकअर्कामा चल्ने व्यवस्था मात्रै भएको छ। कार्ड नै जारी गर्ने छैनन्,' पौडेलले स्पस्ट पारे।
हाल भारतमा ६५ हजारभन्दा बढी नेपाली विद्यार्थी पढिरहेका छन्। दुई देशबीच व्यापार समेत छ। कामदारको रूपमा भारतीय नेपाल आउने र नेपाली भारत जानेहरु पनि छन्। त्यसैले भुक्तानी प्रणालीको अन्तरआबद्धताले थप सहज हुने विश्वास छ।