कुनै समय बैंकिङ क्षेत्रमा पकड कायम गर्न चाहने लगानीकर्ताहरूमा अहिले बैंकिङ क्षेत्रबाट बाहिरिने वा लगानी घटाउने चाहना बढेको देखिन्छ।
पछिल्लो समय बैंकको लाभांश दर घटेसँगै यो क्षेत्रमा बसिरहन नसकिने लगानीकर्ताहरूले बताउँदै आएका हुन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले भन्दै आएका छन्, 'बैंकबाट १५ प्रतिशत पनि प्रतिफल नआउने अवस्था आएमा यो क्षेत्र छोड्नु सही हुने देखिन्छ।'
हुन पनि आर्थिक वर्ष २०६७/६८ मा बैंकहरूको सेयरमा प्रतिफल (रिर्टन अन इक्विटी) औसत २६.४१ प्रतिशतसम्म थियो। आर्थिक वर्ष २०७८/७९ मा १३.५१ प्रतिशत हाराहारी छ। चालु आर्थिक वर्ष २०७९/८० को चैतसम्ममा १०.८० प्रतिशत छ।
हाल कतिपय बैंकहरूका वितरण योग्य लाभांश ऋणात्मक देखिएका छन्। बैंकहरूको घट्दो लाभांश क्षमताका कारण केही समययता बैंकमा संस्थापकको रूपमा सेयर लगानी गरेकाहरूले आफ्नो लगानी झिक्न वा घटाउन सक्ने व्यवस्था गरिदिन राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले २०७८ सालमै यस्तो आग्रह गरेको थियो।
'बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा भएको संस्थापक सेयर क्रमशः साधारण सेयरमा परिणत गर्ने व्यवस्था लागू गर्नु उपयुक्त हुनेछ,' सिबिफिनको प्रतिवेदनले भनेको छ, 'हाललाई कम्तीमा साधारण ७० प्रतिशत र संस्थापक ३० प्रतिशत सेयर हुने व्यवस्था गर्नु सबै दृष्टिकोणबाट उपयुक्त हुनेछ।'
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले बैंकहरूले कारोबार सञ्चालन गरेको दस वर्ष पुगेपछि पुँजी बजार, बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर संस्थापक सेयर क्रमशः साधारण सेयरमा परिणत गर्ने व्यवस्था गरेको छ।
यही ऐनले संस्थापक वा संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ प्रतिशत कायमै रहनुपर्ने व्यवस्था समेत गरेको छ।
छिमेकी देश भारतमा साना बैंक स्थापना गर्दा पनि ४० प्रतिशत संस्थापक सेयर हुनुपर्ने व्यवस्था छ। त्यसैले यहाँ पनि सो व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सिबिफिनको भनाइ छ।
व्यवसायीबाट मात्र होइन विज्ञहरूले पनि राष्ट्र बैंकले यो व्यवस्था केही खुकुलो बनाउनुपर्ने बताउन थालेका छन्।
पूर्वगभर्नर तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले तत्काललाई संस्थापकहरूलाई १० प्रतिशत सेयर बिक्री गर्न दिने व्यवस्था गर्नुपर्ने बताए।
'बैंकर र व्यवसायी छुट्ट्याउने मेरो यसअघिको प्रयास सफल हुन सकेन। अहिले फेरि त्यो मौका आएको छ,' खतिवडाले भने, '१० प्रतिशत संस्थापक सेयर बिक्री गर्न सक्ने सुविधा दिन सकिन्छ।'
हुन त सेयरको दोस्रो बजार अर्थात् स्टक एक्सचेन्जमा कम्पनीहरूको संस्थापक सेयर समेत किनबेच हुन्छ। यस्तै कारोबारबाट पनि संस्थापक बाहिरिन सक्छन्। बजारमा यस्ता संस्थापक सेयरको कारोबार नियमित नहुने, बिक्रीका लागि सेयर लगानीकर्ता खोज्नुपर्ने अवस्था कायमै छ। त्यसबाहेक अहिले पनि अधिकांश बैंकको साधारण सेयरको तुलनामा संस्थापक सेयरको मूल्य आधा छ। त्यसैले पनि संस्थापक सेयर नै साधारणमा परिणत गर्ने व्यवस्था भए खतिवडाले भनेजस्तै संस्थापकहरू बैंकबाट बाहिरिन तयार हुन सक्ने समेत देखिन्छ।
१० प्रतिशत सेयर आउँदा थपिन्छ ५९ करोड सेयर
राष्ट्र बैंकले संस्थापक र विज्ञहरूको सुझाव मानेर १० प्रतिशत सेयर साधारणमा परिणत गर्ने व्यवस्था भएमा करिब ५९ अर्ब ७६ करोड रूपैयाँ अर्थात् ५९ करोड ७६ लाख कित्ता सेयर थपिने सम्भावना छ।
राष्ट्र बैंकले संस्थापक सेयरधनीको हिस्सा न्यूनतम ५१ प्रतिशत हुनुपर्ने व्यवस्थामा संशोधन गरेर ४१ प्रतिशत कायम गर्यो भने यति सेयर थपिने हो।
हाल साधारणमा सेयर जारी गरेका १९ वाणिज्य बैंकको कुल चुक्ता पुँजी ३ खर्ब ५४ अर्ब रूपैयाँ छ। धेरैजसो वाणिज्य बैंकको संस्थापक सेयर ५१ प्रतिशत र साधारणको ४९ प्रतिशत बराबर छ। सात वटा वाणिज्य बैंकको संस्थापक सेयर भने ५१ प्रतिशतभन्दा पनि धेरै छ।
पछिल्लो समय वाणिज्य बैंकहरूको साधारण सेयरको मूल्य अन्य कम्पनीको तुलनामा कम भएकाले यसरी संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्दा मूल्य थप खस्किने लगानीकर्ताहरू बताउँछन्।
'सेयर बजारमा सूचीकरण भएका कम्पनीहरूमध्ये तुलनात्मक रूपमा बलिया र ठूला वाणिज्य बैंकहरूको मूल्य समेत प्रतिकित्ता दुई सय रूपैयाँमुनि छ,' एक लगानीकर्ताले भने, 'अब यत्रो सेयर बजारमा एकै पटक आएमा मूल्य अझ धेरै घट्छ।'
हाल सेयर बजारमा सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंकहरूको मूल्य निकै कम छ। सेयर बजारमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये आठवटाको मूल्य दुई सय रूपैयाँभन्दा पनि कम छ।