घोराही सिमेन्टले जारी गरेको प्राथमिक सेयर (आइपिओ) रोक्का भएसँगै आवेदन दिएकाहरूको रकम केही दिन रोक्का हुन सक्ने देखिएको छ।
'अहिले जसको रकम बैंक खातामा रोक्का भइसकेको छ, तिनको रकम केही दिन रोक्का नै हुनेछ,' धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले भने, 'तर यो प्राथमिक सेयर निष्कासनको तथ्य जाँचमा अध्ययन गर्न लामो समय लाग्ने देखिएमा भने यसरी लगानीकर्ताको रोक्का रहेको रकम खुला गर्न भन्ने छौं।'
कम्पनीको जारी आइपिओ रोक्का गर्न धितोपत्र बोर्डले सोमबार निर्देशन दिएको छ।
केयर रेटिङ नेपाललाई यस कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे/नगरेको तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासन समेत रोक्न लगाएको हो।
कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो।
यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि प्रति व्यक्ति १० लाखको दरमा आवेदन दिएको भेटिएको थियो।
यही कारण बिहानसम्म ८७ लाखभन्दा बढी कित्ता सेयरको लागि गरिएको आवेदन अस्वीकृत भएको थियो। तर, अहिलेसम्ममा करिब १ करोडभन्दा धेरै कित्ताको सेयरको आवेदन अस्वीकृत भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।
आइपिओमा बढी आवेदन परेको देखाउन कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललाई सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको हो।
आइपिओमा आवेदन दिए लगत्तै कति आवेदन स्वीकृत हुन्छ कति हुँदैन भन्ने जानकारी तत्काल थहा पाइने व्यवस्था नहुँदा पनि यस्तो समस्या आएको देखिन्छ।
सिडिएससीका प्रवक्ता न्यौपाने भन्छन् 'हाम्रो प्रणालीले आवेदन दिन सहयोग गर्छ भने बैंकको प्रणालीले रकम रोक्का राख्न सहयोग गर्छ। हालसम्म बैंकहरूले आवेदन अनुसार बैंकको खातामा रकम रहे/नरहेको तत्काललै हेरेर हामीलाई जानकारी दिन सक्दैनन्, उनीहरूको कामको चापको आधारमा कुनैले दिनमा तीन/चार पटक पनि यस्तो जानकारी पठाउँछन् भने कुनैले दिनको अन्त्यमा मात्रै।'
यसले गर्दा पनि कति रकमको आवेदन पर्यो भन्ने जानकारी लगानीकर्ताले तत्कालै पाउँदैनन्।
घोराहीको आइपिओको क्रममा पनि सुरूमा मागभन्दा बढी आवेदन परेको देखिएको थियो। तर, धेरै जस्तो आवेदनमा रकम नपुगेको कारण अस्वीकृत भएको पाइएको थियो। सर्वसाधारणलाई सेयर आवेदन खुला गरिएको सुरूको दिनदेखि नै धेरै आवेदन अस्वीकृत भइरहेको भए पनि शंकास्पद मानिएको थिएन।
तर, कम्पनीले यस्तो अस्वीकृत दर बढ्ने अनुमानमा सेयर जारी मिति बढाएर असार १४ गतेसम्म पुर्याएपछि भने धेरैले यसमा आशंका गर्न थाले।
यही क्रममा सिडिएससी र धितोपत्र बोर्डले पनि तत्काललाई आवेदन रोक्न निर्देशन दिएको हो।
सिडिएससीले बैंक र आफ्नो प्रणालीबीच अन्तरआबद्धता हुने गरी बनाएको एप्लिकेशन पोग्रामिइङ इन्टरफेस (एपिआई प्रणाली) प्रयोगमा आएको भए यस्तो समस्या आउदैनथ्यो। त्यसैले सिडिएससीका अनुसार यो प्रणाली प्रयोगमा आइसकेपछि भने आवेदनको अवस्था वास्तविक समय (रियल टाइम) मै थहा हुनेछ।
कम्पनीले प्रिमियम सहित प्रतिसेयर ४३५ रुपैयाँका दरले बिक्री गरिरहेको थियो। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
यो पनि हेरौं :