बैंकहरूमा लगानी योग्य पुँजी वृद्धि हुँदै गएपछि उनीहरूले एक आपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर डेढ वर्षयताकै न्यून भएको छ।
अन्तरबैंक ब्याजदर २०७९ माघ १६ गतेयताकै न्यून बिन्दुमा आएको हो। सो समय यस्तो ब्याजदर ४.०७ प्रतिशत रहेकोमा गत असार ४ गते ४.०९ बिन्दुमा आइपुगेको छ।
यो अवधिमा लामो समयसम्म करिब ७ प्रतिशत बिन्दुकै आसपास रहेको यस्तो ब्याजदर असार लागेसँगै ५ प्रतिशतबाट तल ओर्लिन थालेको हो।
कर्जाको मागमा आएको शिथिलताको कारण बैंकहरूमा लगानी योग्य पुँजी थपिँदै गएको हो। बैंकहरूमा पुँजी सहज भएकै कारण राष्ट्र बैंकबाट जारी हुने ट्रेजरी विल्स र विकास ऋणपत्रहरूको ब्याजदर पनि घट्दै गएको छ।
बैंकहरूले खरिद गर्ने यस्ता ऋणपत्रमा तलरताको कारण उच्च प्रतिस्पर्धा हुँदा दर कम भएको हो।
मंगलबार राष्ट्र बैंकले जारी गरेको ६ वर्षे अवधिको विकास ऋणपत्रको ब्याजदर ६.९३ प्रतिशत कायम भएको छ। यो गत भदौ यताकै न्यून हो।
बैंकहरूसँग ३ खर्ब बढी पुँजी
हाल बैंकहरूसँग करिब ३ खर्ब ५४ अर्ब बराबरको कर्जा लगानी योग्य पुँजी छ।
बैंकहरूले निक्षेप र यसमा गणना हुने केही ऋणपत्रसहित रकमको ९० प्रतिशतसम्म कर्जा जारी गर्न पाउँछन्। यसलाई कर्जा निक्षेप अनुपात भनिन्छ। हाल बैंकहरूको यस्तो कर्जा निक्षेप अनुपात ८३.८८ प्रतिशत आइसकेको छ।
'राष्ट्र बैंकले सरकारको लागि यो असारभित्रमा थप १५/१६ अर्ब रूपैयाँ बराबरका ऋणपत्र उठाउन बाँकी छ,' पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले भने 'तर असार २१ मै करिब ७ अर्ब रूपैयाँको विकास ऋणपत्र परिपक्व हुँदैछ, त्यसैले बैंकहरूलाई यो महिना पुँजी दबाब हुने देखिँदैन।'
पुँजी अभाव हुन छाडेसँगै राष्ट्र बैंकबाट बैंकहरूले लिने स्थायी तरलता सुविधा भनेर चिनिने सापटी निकै कम लिइरहेका छन्। चालु आर्थिक वर्ष २०७९/८० मा कुनै दिन ६४ अर्ब रूपैयाँसम्म यस्तो सापटी उठाएका बैंकहरूले केही दिनयता एक करोडदेखि ११ करोड रूपैयाँसम्म उठाइरहेका छन्।
बैंकहरूमा लगानी योग्य पुँजी बढ्दै गए पनि निक्षेपको ब्याजदर भने चलाएका छैनन्। केही दिनअघि असारको लागि लागु हुने ब्याजदर सार्वजनिक गरेका बैंकहरूले निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरे।
घट्दो आधार दरको कारण कर्जाको ब्याजदर केही सस्तिदै गइरहेको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत वैशाखमा कर्जाको औसत ब्याजदर १२.६५ प्रतिशत छ। गत माघमा बैंकहरूको कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो।