पछिल्लो समय होटल समूहको परिसूचकमा उछाल देखियो। होटल समूहमा रहेका तारागाउँ रिजेन्सी, ओरियण्टल होटलको सेयर मूल्यमा उच्च वृद्धि देखिँदा सोल्टी होटलको मूल्य भने खासै बढ्न सकेन।
अन्य होटलको सेयरको अंकित मूल्य एक सय रूपैयाँ र सोल्टी होटलको भने अंकित मूल्य १० रूपैयाँ रहेको कारण देखाउँदै बजारमा यस कम्पनीको सेयरभन्दा अन्य कम्पनीको सेयर मूल्य बढी हुनुपर्ने विश्वास बढेको देखिन्छ।
के फरक पर्छ अंकित मूल्य अलग–अलग हुँदा? केही उदाहरण हेरौं।
कुनै व्यक्तिसँग साथमा एक लाख रूपैयाँ छ। उसले प्राथमिक बजारमा बिक्री भइरहेको १० रूपैयाँ अंकित मूल्यको सेयर किनेमा उसँग अब १० हजार कित्ता सेयर हुन्छ।
तर, सो व्यक्तिले त्यो सेयर किनेन। उसले साथमा भएको एक लाखले एक सय अंकित मूल्यमा बिक्री भइरहेको सेयर किनेमा भने उसँग एक हजार कित्ता सेयर हुन्छ।
अब बजारमा कुन सेयर कति मूल्यमा कारोबार भइरहेको छ भन्ने कुराले नै अंकित मूल्यमा सेयर किनेका लगानीकर्ताहरू कति लाभ पुग्छ भन्ने हुन्छ। सोल्टी र तारागाउँ रिजेन्सी कम्पनीकै उदाहरणबाट हेरौं।
अहिले सोल्टी होटलको सेयर मूल्य ५ सय ३ रूपैयाँ छ। प्राथमिक बजारमा १० हजार कित्ता सेयर किनेको त्यो लगानीकर्ताको यो मूल्यमा ५० लाख ३० हजार रूपैयाँको सम्पत्ति बनेको छ। सरल तरिकाले बुझाउन यसमा कम्पनीले बीचमा दिएको कुनै पनि लाभांशको हिसाब गरिएको छैन।
अब तारागाउँ रिजेन्सीको अहिले बजारमा ८ सय १५ रूपैयाँमा सेयर कारोबार भइरहेको छ। माथि उदाहरणमा लिएको व्यक्तिले एक लाख रूपैयाँबाट अंकित मूल्य सय रूपैयाँको आधारमा कम्पनीको एक हजार कित्ता सेयर पाएको छ।
अहिलेको बजार मूल्यको आधारमा तारागाउँ रिजेन्सीमा ती लगानीकर्ताको सम्पत्ति ८ लाख १५ हजार पुगेको छ।
अहिले विवाद नै यही हो। सोल्टी होटलको सेयर मूल्य ५० गुणाले बढेको छ तर तारागाउँ होटलको मूल्य मात्रै ८ गुणाले बढेको छ। ५० गुणा मूल्य बढिसकेकोले यो अधिमूल्यांकन भएको भन्दै केही लगानीकर्ताहरू सोल्टीको यो मूल्य हुन नहुने बताइरहेका छन्।
फलस्वरुप कम्पनीको सेयर मूल्य पनि घट्दो प्रवृत्तिमा छ।
तर, अंकित मूल्यको आधारमा कम्पनीको बजार मूल्य कति गुणासम्म हुनुपर्छ भन्ने कुनै नियम छ?
बजार मूल्य माग र आपूर्तिले निर्धारण गर्ने हो। त्यसबाहेक कम्पनीको नाफा, व्यापारका आधारमा पनि तय हुन्छन्।
भारतको मद्रास रबर फ्याक्ट्रिको अंकित मूल्य पनि १० रूपैयाँ थियो। तर अहिले बजारमा यस कम्पनीको सेयर एक लाख ९ हजार रूपैयाँ माथि छ।
त्यसैले कम्पनीहरूको कारोबार कत्रो छ?, नाफा दर कस्तो छ? त्यसैले नै कम्पनीको मूल्य निर्धारण गर्ने हो। सोल्टी होटल र भारतको मद्रास रबर फ्याक्ट्रिबीच भने कुनै तुलना नै हुन सक्दैन। आम्दानी, नाफा लगायतका आकारमा यो भारतीय कम्पनी सोल्टी होटलभन्दा कयौं गुणा ठूलो छ।
त्यसैले यहाँकै सोल्टी होटल र तारागाउँ रिजेन्सीको वित्तीय सूचक हेरौं।
सोल्टी होटलको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा ३७ करोड ११ लाख रूपैयाँ छ। नाफा रकम अघिल्लो वर्षको यही अवधिको तुलनामा साढे तीन गुणाले बढेको छ। तारागाउँको नाफा भने करिब ६ गुणाले बढेर चार करोडबाट २३ करोड ८८ लाख रूपैयाँ पुगेको छ।
सोल्टी होटलको प्रतिसेयर आम्दानी ४ रूपैयाँ २० पैसा छ भने तारागाउँको १२ रूपैयाँ ६६ पैसा छ। कम्पनीको कमाइलाई सेयरमा बाड्दा एक कित्तामा भइरहेको कमाइ हो यो।
त्यस्तै, सोल्टी होटलको प्रतिसेयर नेटवर्थ २१ रूपैयाँ ७१ पैसा छ भने तारागाउँ रिजेन्सीको भने एक सय ३१ रूपैयाँ ६९ पैसा छ। कम्पनीको आजको दिनमा सबै जायजेथा बेच्नुपर्ने अवस्थामा एक कित्ताको सेयरको मूल्य कति हुन्छ भनेर यसले देखाउँछ।
कम्पनीहरूले दिइआएको लाभांश पनि हेरौं। सोल्टी होटलले विगत पाँच वर्षमा लगानीकर्तालाई वार्षिक औसत २४.२१ लाभांश दिएको छ। तारागाउँले भने विगत ५ वर्षमा वार्षिक औसत १० प्रतिशत लाभांश दिएको छ। यो पाँच वर्षको अवधिमा सोल्टीमा एक सय कित्ता सेयर हुनकोे थप ६८ कित्ता सेयर पाएका छन्।
त्यस्तै, तारागाउँले भने यो बीचमा एक पटक मात्रै ०.६३ प्रतिशत बोनस दिएको छ। अर्थात् यो कम्पनीको एक सय कित्ता सेयर हुनेको एक कित्ता सेयर पनि थपिएको छैन।
नगद लाभांश कै कुरा गर्दा यो पाँच वर्षमा सोल्टीका लगानीकर्ताले छ वर्षमा वार्षिक औसत १३.२० प्रतिशत पाएका छन्।
तारागाउँ रिजेन्सीका लगानीकर्ताले भने वार्षिक औसत ९.९५ प्रतिशत नगद लाभांश पाएका छन्।
यस बाहेक लगानीकर्ताहरूले मूल्यको तुलना गर्दा एउटै क्षेत्रका कम्पनीको मात्रै गरेका हुँदैन। उस्तै दरमा लाभांश दिएका अलग–अलग क्षेत्रका कम्पनीबीच पनि तुलना गरेर लगानी गरेका हुन्छन्। त्यसैले लगानीकर्ताले यी विविध पक्षमा बिचार गरेर मात्रै लगानी रणनीति बनाउनु पर्छ।