नेपालमा अहिले सेयर बजारमा सूचीकृतमध्ये ३० वटा कम्पनीहरूलाई समेटेर ‘नेप्से ३० इन्डेक्स’ बनाइएको छ।
नेपाल स्टक एक्सचेन्जले आन्तरिक रुपमा यसको परीक्षण थालिसकेको छ।
विशेषतः यो इन्डेक्स फ्रि फ्लोटमा आधारित छ। अर्थात्, बजारमा कायम मूल्यमा धेरै फरक नपर्ने गरी किनबेच हुन सक्ने सेयरलाई फ्रि फ्लोट हुने सेयर भनिन्छ।
नेप्सेले यसरी ३० वटा कम्पनी छान्दा फ्रि–फ्लोट बजार पुँजीकरण, कम्पनीको पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा छान्नेछ।
प्रत्येक क्षेत्रगत समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कुल भार गणना गर्ने र उच्च भार पाउने कम्पनीहरूबाट ८ वटा कम्पनी छनौट गर्नेछ।
कुनै समूहमा ८ भन्दा कम कम्पनी छनौट भएमा उपलब्ध त्यो समूहको सबै कम्पनी छनौट गर्नेछ।
यस इन्डेक्स बनाउन सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमूलक, व्यापार सेवा तथा अन्य गरी ६ समूहमा विभाजन गरेको छ।
यसमा पर्ने कम्पनीहरू प्रत्येक वर्ष भदौ महिनाको अन्तिम शुक्रबार र फागुन महिनाको अन्तिम शुक्रबार पुनर्मूल्यांकन गरेर नयाँ सूची तयार गर्ने भएको छ।
नेपालमा यो नयाँ अभ्यास गरिन लागेको भए पनि भारतले करिब ३३ वर्ष अघिदेखि नै मुलुकको अर्थतन्त्रलाई प्रतिविम्बित गर्नेगरी ३० कम्पनी रहने यस्तो सूचक बनाएको थियो।
भारतमा बम्बे स्टक एक्सचेन्ज (बिएससी) ले सन् १९७९ देखि नै ३० कम्पनीलाई छनौट गरेर यस्तो सूचक प्रचलनमा ल्याएको हो।
शुरुवातमा यस्ता ३० कम्पनीको पूरै सेयर पुँजीकरणको आधारमा यस्तो सूचक तयार पारिएको भए पनि सन् २००३ देखि मात्रै फ्रि फ्लोटमा आधारित हुने गरेर यो सूचक बनाइएको हो।
एक सय आधार बिन्दुमा सुरू गरेको सेन्सेक्स ३० अहिले ६५ हजार ४ सय ३ बिन्दुमा छ।
भारतले भन्दा ३३ वर्षपछि नै भएपनि नेपालले पनि यस्तो अलग सूचक तयारी गरेर परीक्षण गरिरहेको छ।
के भारतीय सूचक सेन्सेक्स जस्तै बन्न सक्ला त नेपाली सूचक 'नेप्से ३०'?
नेप्सेका प्रवक्ता मुराहरी पराजुली भन्छन्, 'यो सूचकको त्यतिखेर मात्रै प्रचलन बढ्छ, जतिखेर यसलाई आधारित भएर लगानी उपकरणहरू तयार हुन्छन्।'
अहिलेलाई सामूहिक लगानी कोषहरूले भने नेप्से ३० इन्डेक्समा आधारित भएर योजना ल्याउन सक्ने सम्भावना छ।
भारतमा अहिले पनि बिएससी ३० मा आधारित भएर बीएससी फ्युचर्स, एक्सचेन्ज ट्रेडेड फण्ड जस्ता उपकरण बनाइएका छन्। सामान्य भाषामा भन्दा यस्तो सूचकमा भविष्यमा आउनसक्ने उतारचढावको आधारमा कागजी करारपत्र बनाएर त्यसमा लगानी गर्नुलाई फ्युचर्स डेरिभेटिभ भन्छन्।
सेयर बजारमा लगानी गर्ने गरी स्थापना हुने कोषहरूलाई भने एक्सचेन्ज ट्रेडेड फण्ड भन्छन्।
नेपालमा भने अहिलेसम्म स्टक एक्सचेन्जमा डेरिभेटिभ उपकरणहरूको कारोबार सुरू नै भएको छैन। यसको लागि पनि नेप्सेले अध्ययन भने गरेको छ। भावी दिनमा यस्तो कारोबार भएमा बिएससी ३० का फ्युचर्स जस्तै नेप्से ३० उपकरणको पनि कारोबार गर्न सकिने मान्न सकिन्छ।
यो शुरुवातले अहिले नभए पनि कुनै समय भारतीय बिएससी ३० ले जसरी नै यहाँ पनि सेयर लगानीकर्ताहरूलाई कारोबारका विविध उपकरण उपलब्ध गराउन सक्छ।
बिएससी ३० इन्डेक्स जस्तै बन्न नेप्से ३० इन्डेक्सलाई यतिले मात्रै भने पर्याप्त हुँदैन। बिएससी ३० इन्डेक्समा छनौट हुने ३० वटा कम्पनीले भारतीय अर्थतन्त्र प्रतिविम्बित गरेको मानिन्छ।
नेपाली सेयर बजारमा भने अझै पनि बैंक तथा वित्तीय संस्थाकै बाहुल्यता छ। पछिल्लो समय जलविद्युत कम्पनीहरूको संख्या बढेको छ। तर अझैपनि नेपालको अर्थतन्त्रका योगदान गर्ने उत्पादनमूलक उद्योग, प्रविधि, सेवा क्षेत्रका कम्पनीहरू बजारमा आएकै छैनन्। पर्यटन क्षेत्रका जति कम्पनी बजारमा सूचीकृत छन्, त्यो पर्याप्त छैन्।
नेप्से–३० इन्डेक्समा समावेश हुने सूचीकृत संगठित संस्था (कम्पनी) छनौटका आधारहरू:
तीन वर्षदेखि कम्पनी लगातार नाफामा भएको हुनुपर्ने
एउटा समूहबाट अधिकतम २५ प्रतिशत र न्यूनतम १ वटा कम्पनी छनौट गर्ने
प्रति सेयर चुक्ता मुल्यभन्दा प्रति सेयर किताबी मूल्य बढी भएको हुनुपर्ने
अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत वा सोभन्दा बढी रहेको
कम्पनीको कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पुँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पुँजीकरण एक प्रतिशतभन्दा बढी रहेको
सेयरधनीको संख्या कम्तीमा २० हजार रहेको
पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रूपैयाँ वा सो भन्दा बढी रकमको कारोबार भएको हुनुपर्ने, दैनिक औसत ५ हजार कित्ता वा सो भन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको
पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको हुनुपर्ने