बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा बढेसँगै कर्जाको ब्याजमा अपेक्षित सुधार देखिन सकेको छैन।
पछिल्लो दुई वर्षमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २२.८१ प्रतिशतले बढ्दा मुद्दती निक्षेपमा मात्रै ४८.८५ प्रतिशतले वृद्धि भएको छ।
२०७८ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४४ खर्ब ७४ अर्ब रूपैयाँ रहेकोमा २०८० वैशाखमा बढेर ५४ खर्ब ९४ अर्ब रूपैयाँ पुगेको हो।
मुद्दती निक्षेप पनि यो अवधिमा २१ खर्ब ९७ अर्ब रूपैयाँबाट बढेर ३२ खर्ब ७१ अर्ब रूपैयाँ पुगेको छ। समग्र निक्षेपमा मुद्दती निक्षेपको हिस्सा समेत ४९.११ प्रतिशतबाट बढेर ५९.५३ प्रतिशत पुगेको छ।
बैंकहरूले मुद्दती निक्षेपको दिने ब्याजदरमा समेत यो अवधिमा वृद्धि भएको छ। २०७८ वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ७.६३ प्रतिशत रहेकोमा यस वैशाखामा यस्तो औसत ब्याजदर १०.७६ प्रतिशत पुगेको छ।
'बैंकहरूसँग रहेको निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ६० प्रतिशतसम्म छ, त्यसैले बैंकहरूले कर्जाको ब्याजदर समेत घटाउन सकेका छैनन्,' पूर्व अर्थमन्त्री तथा गभर्नर डा. युवराज खतिवडाले भने, 'ऋणीहरूले पनि उच्च ब्याजदरमा ऋण लिन चाहिरहेका छैनन्, जसले गर्दा अहिले बैंकहरूसँग पुँजी भएर पनि ऋण गइरहेको छैन।'
बैंक तथा वित्तीय संस्थाले संकलित निक्षेपको लगभग ९० प्रतिशत कर्जा लगानी गर्छन्। यही कारण निक्षेपको लागत बढ्दा कर्जाको ब्याजदर पनि बढ्छ।
२०७८ वैशाखमा बैंकहरूलाई मुद्दती निक्षेपमा ७.६३ प्रतिशतको आधारमा एक खर्ब ६७ अर्ब लागत परेको छ। अहिले ब्याजदर बढेकै कारण मुद्दती निक्षेपमा बैंकहरूलाई वार्षिक ३ खर्ब ५२ अर्ब रूपैयाँ लागत परिरहेको देखिन्छ।
अहिले मुद्दती निक्षेपको हिस्सा बढेकोले लागत बढेको हो। त्यसबाहेक बढ्दो ब्याजदरले पनि लगात बढेको हो।
बढ्दो लागतकै कारण कर्जाको औसत ब्याजदर समेत २०७८ वैशाखमा ८.५३ प्रतिशत रहेकोमा अहिले १२.६५ प्रतिशत छ।
निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदरसमेत बढेको भएपनि मूल्य वृद्धिको तुलनामा भने निक्षेपको ब्याजदर कम गर्न नमिल्ने खतिवडा बताउँछन्।
'मूल्य वृद्धिको तुलनामा निक्षेपको ब्याजदर केही न केही बढी हुनैपर्छ,' खतिवडाले भने, 'त्यसैले, तत्कालन कर्जाको ब्याजदर एकल अंकमा नै ल्याउन भने समस्या हुन सक्छ।'
उनले कुनै पनि व्यवसायमा ब्याजदर मात्रै लागतको रुपमा नरहने र यो एकल अंकमा आउँदा मात्रै पनि व्यवसाय प्रतिस्पर्धी नहुने समेत बताए।
मुद्दती निक्षेपको मात्र नभई साधारण बचत र कल निक्षेपमा समेत ब्याजदर बढेको छ। तर, अन्य निक्षेपको ब्याजदरभन्दा मुद्दती निक्षेपको ब्याजदर दोब्बर जस्तै रहेकोले पनि यसैमा निक्षेपकर्ताहरू आकर्षित भएका हुन्। बैंकहरूले एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेप समेत प्रचलनमा ल्याएकाले यस्तो निक्षेपमा आकर्षण छ।
२०७८ वैशाखमा ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.७९ प्रतिशत र ६ देखि १२ महिनाको ७.२९ प्रतिशत थियो। २०८० वैशाखमा भने यी दुवै अवधिका निक्षेपको ब्याजदर करिब ११ प्रतिशत हाराहारी छ।
बैंकरहरूले भने पछिल्लो समय क्रमिक रुपमा निक्षेपको लागत घट्न थालेकोले कर्जाको ब्याजदर पनि घट्दै जाने बताइरहेका छन्। अहिले बैंकहरूसँग कर्जा लगानी योग्य रकम ४ खर्ब हाराहारी भए पनि कर्जा बढेको छैन।