नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ। बुधबार बिहान बोर्डमा बसेको बैठकले ब्रोकर कमिसन १० प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको हो।
बोर्डको यो निर्णय अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ। धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशत बिन्दुले घटाउने प्रस्ताव गरेको थियो।
हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमालाई घटाएर ०.३६ प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने गरी निर्णय भएको बोर्ड स्रोतले जानकारी दिएको छ।
यसअघि बोर्डले ०७७ पुस १० गते ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो।
हाल ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क छ।
त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोडमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्ने गरेको छ।
अब ५० हजारसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्नेछ।
त्यस्तै, २० लाखदेखि एक करोड रूपैयाँसम्ममा ०.२७ प्रतिशत र एक करोडमाथि ०.२४३ प्रतिशतसम्म कमिसन लाग्ने भएको छ।
बोर्डले आफूले पाउने शुल्क समेत १० प्रतिशत बिन्दुले घटाएको स्रोतको भनाइ छ। हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्क बापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएको छ। अब भने ब्रोकरले ०.५४ प्रतिशत यस्तो शुल्क बुझाउनु पर्नेछ।
लगानीकर्ताले गर्ने कारोबारबापत आफूले प्राप्त गर्ने कमिसन समेत घटाएको बोर्डको भनाइ छ। यस्तो शुल्क समेत ७ प्रतिशत बिन्दुले घटाएको छ। हाल लगानीकर्ताले गर्ने कारोबार रकमको ०.०१५ प्रतिशत कमिसन बोर्डले प्राप्त गर्दै आएको छ। अब भने बोर्डले ०.०१४ प्रतिशत कमिसन प्राप्त गर्नेछ।
हाल, मानौं कुनै लगानीकर्ताले ४५ हजार दुई सय रूपैयाँ बराबरको सेयर खरिद गरेको छ। उसले अब ब्रोकर कमिसनबापत १८० रूपैयाँ ८ पैसा समेत तिर्नुपर्छ। यो १८० रूपैयाँ ८ पैसामध्ये यसको २० प्रतिशत अर्थात् ३६ रूपैयाँ १६ पैसा नेप्सेले कमिसनबापत पाउँछ।
त्यसैको ०.६ प्रतिशत बराबर नियमन शुल्क बापत धितोपत्र बोर्डले एक रूपैयाँ १० पैसा पाउँछ। यसरी एक सय ८० रूपैयाँ ८ पैसामा बाँकी एक सय ४३ रूपैयाँ ५५ पैसा भने ब्रोकरले पाउँछ। र, कमिसन बापत धितोपत्र बोर्डले कुल कारोबर रकम ४५ हजार दुई सय रूपैयाँको ०.०१५ बापत थप ६ रूपैयाँ ८० पैसा पाउँछ।
धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने प्रस्ताव गरेपछि सेयर बजारमा समेत हरियाली छाएको छ। नेप्से परिसूचक एकैदिन ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको छ।
ब्रोकर कमिसनमा संशोधन हुन लागेको खबरसँगै बढ्न थालेको नेप्से धितोपत्र बोर्ड स्रोतबाटै यसको पुष्टि हुन थालेपछि थप वृद्धि भएको हो।