बजार उच्चदरमा घट्न थालेसँगै धितोपत्र बोर्डले केही समय सार्वजनिक निष्कासन रोक्ने तयारी गरेको छ। बोर्डले केही समय आइपिओ, हकप्रद र एफपिओ सबैजसो सार्वजनिक निष्कासन रोक्ने तयारी गरिरहेको हो।
'बजारमा सेयर थपिदा आपूर्ति बढेको र यसले बजार सुधार हुन नसकेको भन्दै लगानीकर्ताहरूबाट गुनासो आएपछि केही समयलाई सबै किसिमका सार्वजनिक निष्कासन रोक्ने कि भनेर आन्तरिक गृहकार्य भइरहेको छ,' धितोपत्र बोर्ड स्रोतले भन्यो।
यो खबर फैलिएसँगै केही लगानीकर्ताले यसको विरोध गरेका छन्। 'सेयर निष्कासनमा नियन्त्रण जस्तो आत्मघाती विचार बोकेर पुँजीबजार, लगानीकर्ता र कारोबारीको भलो कसरी होला खै,' लगानीकर्ता दिलिप मुनाकर्मी भन्छन्, 'बरू बलियो नियमन, निष्कासनको न्यायोचित मूल्य, सुशासनको कुरा गरे आज नभए पनि भविष्य राम्रो होला कि?'
कतिपय लगानीकर्ताले केही समयको अन्तराल राख्दै सेयर जारीको अनुमति दिन सही हुने समेत बताइरहेका छन्।
अहिले पनि कम्पनीहरूले लगभग ३२ अर्ब रूपैयाँको सेयर जारी गर्ने तयारी गरिरहेका छन्। धितोपत्र बोर्डमा अनुमति प्रक्रियामा रहेका सहित सेयर निष्कासनको तयारीमा रहेका समेतले यो रकम बराबरको सेयर जारी गर्ने भएका हुन्।
हाल धितोपत्र बोर्डमा ११ अर्ब ५४ करोड रूपैयाँको आइपिओ निष्कासनको लागि कम्पनीहरू प्रक्रियामा छन्। चार कम्पनीले ६ अर्ब ४५ कराड रूपैयाँ बराबरको सेयर निष्कासनको अनुमति पाएर सेयर निकाल्ने तयारीमा छन्।
त्यस्तै, हकप्रद सेयर जारीको लागि प्रक्रियामा रहेका १२ कम्पनीले १३ अर्ब ३७ करोडको सेयर जारी गर्ने तयारी गरिरहेका हुन्। एक कम्पनीको एक अर्ब १० करोडको हकप्रदले भने अनुमति पाइसकेको छ।
अहिले केही बीमा कम्पनीहरूलाई बाहेक अनिवार्य चुक्ता पुँजी वृद्धि गर्नुपर्ने अवस्था छैन। धितोपत्र बोर्डको यही निर्णयले भने नीतिगत समस्या पर्ने देखिँदैन। तर, जसलाई बजारबाट पुँजी उठाइहाल्नु पर्ने अवस्था रहन्छ, तिनलाई भने केही समस्या पर्न सक्छ।
नेपाल स्टक एक्सचेन्जको तथ्यांक अनुसार एक वर्षको अवधिमा मात्रै ८२ करोड सेयर बजारमा थपिएको छ। अहिले बजारमा ७ अर्ब ६३ करोड संख्यामा सेयर सूचीकृत छ। नेप्से २०७८ भदौयता घट्दो क्रममा छ। सो समय ३१९८ बिन्दुमा पुगेको नेप्से त्यसपछि भने ओरोलो लाग्ने क्रममा देखिएको हो। हाल नेप्से परिसूचक १८४७ बिन्दुमा आइपुगेको छ।
त्यस्तै, ४४ खर्ब ६८ अर्ब रूपैयाँसम्म पुगेको लगानीकर्ताको सम्पत्ति हाल घटेर २८ खर्ब ६२ अर्ब रूपैयाँमा सीमित भएको छ।