बढ्दो युवा जनशक्ति विदेश पलायन हुने क्रममा बैंकमा जागिर गरिरहेकाहरू पनि थपिन थालेका छन्।
बैंकरहरूका अनुसार पछिल्लो समय बैंक छाड्नेमध्ये करिब ७० प्रतिशत विदेश पलायन भइरहेका छन् भने करिब ३० प्रतिशतले अर्को कुनै बैंक तथा वित्तीय संस्थामा गइरहेका छन्।
'बैंकमा वरिष्ठ तहकादेखि नवप्रवेशीहरू समेत बैंक छाडेर विदेश गइरहेका छन्,' नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने।
बैंकहरूमा तुलनात्मक रूपमा राम्रो पारिश्रमिक र सुविधा हुन्छ। बैंकरहरूका अनुसार अहिले बैंकमा नवप्रवेशीले ३५ हजार तलब पाउँछन्। एमबिए वा स्नाकोत्तर गरेकाहरूले सुरूमै ४० हजारदेखि ५० हजार रूपैयाँ तलब पाउँछन्।
त्यसबाहेक कर्मचारीहरूले ५/६ शीर्षकमा पनि न्यून ब्याजदरमा कर्जा सुविधा पाउँछन्।
कर्जा शीर्षक अनुसार उनीहरूले शून्यदेखि ५ प्रतिशत दरमा कर्जा सुविधा पाउँछन्। तलबको ५० प्रतिशत रकमले भक्तानी हुने र ५० प्रतिशत रकम पारिश्रमिक घर लैजान मिल्ने गरी किस्ता तयार गरिएको हुन्छ।
बैंकहरूबीच देखिँदै गएको कडा प्रतिस्पर्धाको कारण काममा दबाब भएकोले पनि यसरी विदेशिनेको संख्या धेरै छ।
त्यसबाहेक पछिल्लो समय मंगोलिया, कम्बोडिया जस्ता मुलुकमा बैंकिङ क्षेत्रमै करियर बनाउने नेपालीको संख्या समेत बढिरहेको छ।
मुलुक बाहिरिने संख्या बढ्दै जाँदा राम्रो तलब भएकाहरूमा समेत नैराश्यता देखिएको बैंकरहरू बताउँछन्।
'यहाँ बैंकिङ क्षेत्रमा सम्भावना नदेखेर होइन मुलुकमा बसेर केही हुँदैन भन्ने आम मानसिकता बनेर पनि यसरी विदेशिने बढिरहेका छन्,' एक बैंकरले भने।
यही कारण बैंकिङ क्षेत्रमा पनि जनशक्ति व्यवस्थापन चुनौती बनिरहेको बैंकर केसी बताउँछन्। त्यसैले मुलुकको जनशक्ति व्यवस्थापनमा बैंक, सरकार सबै मिल्नुपर्ने उनी बताउँछन्।
पछिल्लो समय वैदेशिक रोजगारीको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार ३ सय २७ पुगेको छ। चालु आर्थिक वर्षको ३ महिनामा एक लाख ६२ हजार ६ सय ९४ जना वैदेशिक रोजगारीमा गएका छन्।
त्यस्तै, शैक्षिक अध्ययनको नाममा जानेको संख्या मासिक १० हजार हाराहारी पुगेको छ। साउन, भदौ र असोजमा यसरी मासिक १० हजारले नो अब्जेक्सन लेटर लिएका छन्। गत आर्थिक वर्ष भरीमा एक लाख १० हजारले अध्ययनको लागि 'नो अब्जेक्सन लेटर' लिएका थिए।