बैंकहरूले कर्जामा लिने ब्याजदर क्रमशः घट्दै गएको छ। मंसिरको लागि प्रकाशित ब्याजदर अनुसार केही बैंकहरूले आधार दरमा अधिकतम ३ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने भएका छन्।
अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ। तर एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबीआई बैंकले अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा कम तोकेका छन्। एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम (३ प्रतिशत मात्रै) छ।
करिब एक वर्षअघि बैंकहरूले कर्जाको ब्याजदरमा अधिकतम ८ प्रतिशतसम्म लिइरहेका थिए। गत असोजमा वाणिज्य बैंकहरूले अधिकतम प्रिमियम दर ८ प्रतिशतसम्म कायम गरेका थिए। सो समय केही बैंकको ७ प्रतिशत माथि र अधिकांशको प्रिमियम दर ६ प्रतिशत हाराहारी थियो।
बैंकहरूको अधिकतम प्रिमियम दर सरदर ३ प्रतिशतसम्म घट्दा आधारदर पनि क्रमशः घट्दै गएको छ। बैंकहरूले केही महिनादेखि निक्षेपको ब्याजदर घटाएकाले पनि पुँजी लागत घटेको छ। र, यसले आधार दर पनि घटाएको छ।
राष्ट्र बैंकको असोजसम्मको तथ्यांक अनुसार गत पुसमा बैंकहरूको औसत आधार दर १०.९१ प्रतिशतसम्म थियो। यो असोजमा यस्तो दर ९.९४ प्रतिशतसमा झरेको छ। यो १४ महिनायताकै कम हो। बैंकहरूले हरेक महिना यसअघिका तीन-तीन महिनाको औसत आधार दर अनुसार कर्जामा ब्याजदर लिन्छन्।
राष्ट्र बैंककै तथ्यांक अनुसार गत माघमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत रहेकोमा यो असोजमा दर घटेर १२.११ प्रतिशतमा आएको छ। यो १३ महिना यताकै कम औसत ब्याजदर हो।
क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ। बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्। यसले पुँजी लागत घट्छ र कर्जाको ब्याजदर समेत घट्न सहयोग पुग्छ।
बैंकहरूले मंसिरको लागि प्रकाशित गरेको सूचना अनुसार केही बैंकको मुद्दती निक्षेपको ब्याजदर एकल अंकमै आइसकेको छ। मंसिरमा केही बैंकले मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशतभन्दा कम ब्याजदर दिएका छन्।
एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर नै ८.९७ प्रतिशत तोकेका हुन्। २० वाणिज्य बैंकमध्ये पाँच बाहेक सबैले निक्षेपको अधिकतम ब्याजदर १० प्रतिशतभन्दा कम कायम गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेको सूचना अनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेप (रेमिट्यान्स बाहेक) मा अधिकतम १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन्। बैंकहरूले यसअघि मुद्दती निक्षेपमा १२ प्रतिशत हाराहारीसम्म ब्याजदर दिएका थिए।
यो असाजसम्ममा बैंकहरूले निजी क्षेत्रमा दिएको कर्जा वार्षिक ४.८ प्रतिशतले बढेको छ। बैंकहरूले यो अवधिमा निजी क्षेत्रतर्फ ५० खर्ब ३४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको छ।
मुलुक बाह्य क्षेत्र दबाबमा देखिएसँगै गरिएका विभिन्न कडाईका कारण पनि कर्जा लगानी बढ्न सकेको थिएन। आन्तरिक अर्थतन्त्रमा समेत सुस्ति आएपछि गत आर्थिक वर्ष २०७९/८० मा कर्जा लगानीको वृद्धिदर इतिहासकै कम भएको थियो। सो वर्षभरीमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा वार्षिक ४.६ प्रतिशतले बढेको थियो।