निश्चित समयलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)को व्यवस्थापन विदेशी स्टक एक्सचेन्जलाई दिनुपर्नेदेखि यसमा ५१ प्रतिशत स्वतन्त्र सञ्चालक रहने व्यवस्था गर्न सुझाइएको छ। नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना सम्बन्धमा भएको पछिल्लो अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो।
पुनर्संरचनाको विषयमा अर्थमन्त्रालयमा यस वर्ष नेप्सेले दोस्रो प्रतिवेदन पठाएको हो। पछिल्लो पटक पठाएको यो प्रतिवेदनले नेप्सेको पुनर्संरचनासँगै त्यसको सञ्चालक समितिमा ५१ प्रतिशत स्वतन्त्र सञ्चाल हुनुपर्ने व्यवस्था समेत गर्न सुझाव दिएको हो।
प्रतिवेदनले अहिले नेप्सेको सञ्चालक समितिमा सरकारी अधिकारीहरू पनि रहने गरेको र यसले निर्णय गर्दा स्वार्थ बाझिने गरेको, सरकारी लगानीको स्टक एक्सचेन्ज हुँदा नियामक निकाय धितोपत्र बोर्डले नियमन गर्न नसकिरहेको समेत उल्लेख गरेको छ। छिटो निर्णय नहुनु लगायतका समस्या नेप्सेमा रहेको जस्ता समस्या पनि औल्याएको छ।
प्रतिवेदनले नेप्से पुनर्संरचना रणनीति बनाउँदा हाल नेप्सेमा सेयरको कारोबार मात्र भइरहेकोले पुनर्संचरनाको क्रममा कारोबार हुने उपकरणको विविधिकरण गर्नुपर्ने, हेजिङ फण्ड, लगानीकर्तालाई पुँजी उपलब्ध गराउने तथा तालिम दिने लगायतका काम गर्ने प्रोपाइटरी ट्रेडिङ सञ्चालन गर्ने सहायक कम्पनीहरू चलाउन सक्ने लगायतको प्रस्ताव गरेको छ।
त्यस्तै, व्यवस्थापन पुनर्संरचना अन्तर्गत विदेशी स्टक एक्सचेन्जहरूलाई केही समय व्यवस्थापन जिम्मा दिन सकिने उल्लेख छ। स्वामित्व पुनर्संरचना अन्तर्गत सर्वसाधारणमा सेयर जारी गर्ने वा रणनीतिक साझेदार समेत भित्र्याउन सुझाव दिइएको छ।
यस प्रतिवेदनले हाल १ अर्ब रहेको नेप्सेको चुक्ता पुँजी बढाएर ३ अर्ब पुर्याउन भनेको छ।
सर्वसधारणमा सेयर जारी गरेर स्वामित्व पुनर्संरचना गर्दा सरकारको स्वामित्व ३९.११ प्रतिशत कायम गर्न भनिएको छ। रणनीति साझेदारसमेत भित्र्याउदा सरकारको सेयर स्वामित्व १९.५५ प्रतिशतमा सीमित गर्न सकिने उल्लेख छ।
हेरौ तालिका
प्रतिवेदनले रणनीतिक साझेदार भित्र्याइएका पाकिस्तान, बंगलादेश, भारत लगायतका विभिन्न मुलुकको उदाहरण समेत उल्लेख गरेको छ।
त्यस्तै, प्रतिवेदनमा नेप्सेको प्रबन्धपत्र संशोधन गरेर सरकार र रणनीतिक साझेदारबाहेक नेप्सेमा एक व्यक्ति वा संस्थाको ५ प्रतिशत बढी सेयर स्वामित्व हुन नहुने व्यवस्था गर्न समेत सुझाइएको छ। नेप्से पुनर्संरचना गर्नुअघि नेप्सेमा सम्पत्ति मूल्यांकन गर्न समेत सुझाइएको छ। हाल नेप्सेको प्रतिसेयर नेटवर्थ ६ सय रूपैयाँ छ।
यसवर्ष मात्रै नेप्से पुनर्संरचनाको विषयमा नेप्सेले दुईवटा अध्ययन गराएर अर्थमन्त्रालय पठाइसकेको छ। यस वर्ष चार महिनाअघि प्रतिवेदन पठाएको नेप्सेले असोज अघि फेरि अर्को अध्ययन प्रतिवेदन पठाएको हो।
'अहिले गरेको अध्ययन थप विस्तृत छ,' स्रोतले भन्यो, 'प्रतिवेदन अर्थमन्त्रालयका एक विज्ञ सल्लाहकारकोमा गएको छ।' स्रोतका अनुसार अर्थमन्त्रालयमा विज्ञ सल्लाहकारको रुपमा रहेका डा. पोषराज पाण्डेले प्रतिवेदन अध्ययन गरिरहेका छन्।
नेप्से पुनर्संरचना |
| हाल | आइपिओपछि | रणनीतिक साझेदार |
सरकार | ५८.५६ | ३९.११ | १९.५५ |
राष्ट्र बैंक | १४.६ | ९.७३ | ४.८७ |
कर्मचारी सञ्चय कोष | १० | ६.६७ | ३.३३ |
राष्ट्रिय वाणिज्य बैंक | ६.१२ | ४.०८ | २.०४ |
लक्ष्मी बैंक | ५ | ३.३३ | १.६७ |
प्रभु बैंक | ५ | ३.३३ | १.६७ |
अन्य-ब्रोकर | ०.६२ | ०.४१ | ०.२१ |
सर्वसाधारण | | ३३.३३ | १६.६७ |
रणनीतिक साझेदार | | | १५ |
संस्था | | | ३५ |