धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्याकाल आगामी पुस २० गते सकिँदैछ। उनले सोही पदमा कार्यकाल दोहोर्याउन पहल गरिरहेका छन्।
'हमालले अर्थमन्त्री र प्रधानमन्त्रीसमक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहोर्याइदिन पत्राचार गरेका छन्,' स्रोतले भन्यो।
हमालले पत्राचार गरेको विषय स्वीकार गरेनन्। तर आफू बोर्डको अध्यक्षमा दोहोरिन चाहेको संकेत भने गरेका छन्।
'यस्तो विषाक्त वातावरणमा बसेर काम गर्न गाह्रो त छ,' हमालले भने, 'तर पनि केही काम गर्न बाँकी नै छ।'
अब २६ कार्यदिन बाँकी रहेको हमाल नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने प्रयास गरिरहेका छन्।
सम्भवतः बाँकी रहेको भनिएका काम यिनै हुन सक्छन्। तर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने विषय विवादित बनिरहेको छ।
त्यस्तै, हमालले प्रस्ताव गरेको ब्रोकरको कमिसन घटाउने र साना कम्पनीहरूको अलग्गै कारोबार प्रणाली विकास गर्ने लगायत काम प्रक्रियामै रहेको बताइन्छ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्ट प्रकरणमा सरकारले बर्खास्त गरेपछि हमाल अध्यक्षमा नियुक्त भएका थिए।
२०७६ पुस २१ गते सरकारले ढुंगानालाई नियुक्त गरेको थियो। चारवर्षे कार्यकाल नसकिँदै ढुंगानालाई बर्खास्त गरेपछि बाँकी कार्यकालका लागि हमालको नियुक्ति भएको थियो।
धितोपत्र ऐन २०६३ ले अध्यक्षको कार्यकाल चार वर्षको हुने र सरकारले चाहेमा एउटा कार्यकाल सम्पन्न गरेको व्यक्तिलाई पुनः एक पटकलाई चार वर्षको कार्यकाल थप्न सकिने व्यवस्था गरेको छ।
पूर्ण कार्यकाल पनि नपाएको कारण आफूलाई दोहोर्याइदिन हमालले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पत्राचार गरेर अनुरोध गरेको स्रोतको दाबी छ।
हमालले बोर्ड अध्यक्ष पाउने पक्कापक्की रहेको र उनले नपाएको खण्डमा मात्रै आफू आकांक्षीका रूपमा रहने नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए।
'उहाँ (हमाल) ले गर्नुभएको काममा मेरो समर्थन छ। उहाँको कार्यकाल नवीकरण हुने सम्भावना छ,' साउदले भने, 'उहाँको कार्यकाल नवीकरण नभएको अवस्थामा यो पदको उम्मेदवार बन्न सक्ने सम्भावना त रही नै हाल्छ।'
नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत साउद पनि सर्वोत्तम सिमेन्ट प्रकारणमा जोडिएका थिए। उनी नेप्सेको जिम्मेवारीमै रहेको समयमा समेत उनी सम्बद्ध लगानी कम्पनीले दोस्रो बजारमा कारोबार गरिरहेको पाइएको थियो।
त्यस्तै, बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले समेत अध्यक्ष पदको लागि दाबेदारी दिने तयारी गरिरहेको बुझिएको छ। तर उनी यसको अहिल्यैदेखि नै यसको प्रचार भएकामा खुसी छैनन्। अधिकारीले यसअघि पनि अध्यक्षको लागि दाबेदारी दिँदै आएका थिए।
बोर्डको अध्यक्षको दाबेदारीमा चर्चामा रहेका बोर्डका अर्का कार्यकारी निर्देशक कृष्णराज पोखरेल, बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी र नेप्सेका पूर्व महाप्रबन्धक सिताराम थपलियाले आफूहरू यो दौडमा नरहेको स्पष्ट पारेका छन्।