नेपाल धितोपत्र बोर्डले २०७४ साल असारमा एकै व्यक्तिले दुईभन्दा बढी सेयर खाता (डिम्याट एकाउन्ट) राख्न नपाउने नियम ल्याएको थियो। यो नियम आएको साढे ६ वर्ष बित्दा पनि यस्तो नियम पूर्ण कार्यान्वयनमा आउन सकेको छैन।
'बजारका ठूला खेलाडी भनेर चिनिएका १० जनाको खाता परीक्षण गर्ने हो भने सबैको चार-पाँचवटा भन्दा बढी खाता रहेको भेटिन्छ, सम्बन्धित नाममै,' एक ब्रोकरले भने, 'कसैलाई नियम लाग्ने कसैलाई नलाग्ने व्यवस्था हुन भएन।
ठूला खेलाडीहरूसँग भएको विभिन्न खाताकै कारण बजारमा चलखेल गर्न सक्ने अवस्था रहेको समेत ती ब्रोकर बताउँछन्।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का अनुसार हाल ६० लाख ३९ हजार ८ सय ३७ जनाले सेयर खाता खोलेका छन्। यसमध्ये ३ लाख हाराहारीको एकभन्दा बढी संख्यामा सेयर खाता छ।
सिडिएससीका अनुसार केही समयअघिसम्म यस्तो दुईभन्दा बढी खाता रहेका १० हजार खाता भने बन्द गरिएको थियो। तर, केही वर्षदेखि नै दुईभन्दा धेरै खाता हुने बाँकीको तोकिएकोभन्दा बढी खाता भने बन्द गर्न सकिएको छैन।
'यसमा व्यवहारिक समस्या छ, कतिपयले खोलेको डिम्याट खातामा रहेको सेयर बैंकमा धितोमा राखिएको कारण चलाउन नमिल्ने (प्लेज्ड) अवस्थामा छन्,' सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, 'कतिपयकोमा बोनस सेयर आएर बसेको हुने देखिएकोले पनि बन्द गर्न समस्या छ।'
दुईभन्दा बढी डिम्याट खाता हुनु हुँदैन भनिए पनि यसरी धेरै खाता राख्नेलाई के सजाय हुन्छ, व्यवहारिक कठिनाइको कारण धेरै भएको खाता कति समयसम्म तोकिएको संख्यामा ल्याउनुपर्छ जस्ता कुनै नियम नभएकोले पनि यसमा सिडिएससीले समेत चासो देखाएको छैन।
पछिल्लो समय ब्रोकर संख्या समेत थपिएको छ। सेयर लगानीकर्ता नथपिए यस्ता ब्रोकरले कारोबार गर्न नसक्ने अवस्था समेत रहने भएकोले पनि यसमा कडाइ नगरिएको बुझिएको छ।
'एउटा वा दुईटाभन्दा धेरै डिम्याट हुनु हँदैन भन्ने नियमलाई कडाइ गर्दा नयाँ ब्रोकरले व्यवसाय नै नपाउने अवस्था रहन्छ, त्यसैले पनि कडाइ गर्न नसकिएको हो,' न्यौपानेले प्रष्टाए।
कुनै ब्रोकरमा खोलिएको डिम्याट खाता बन्द गरेर लगानीकर्ताले चाहेमा अर्को ब्रोकरकोमा खोल्न सक्ने व्यवस्था भने छ। लगानीकर्ताले आफूले पहिले खोलेको ब्रोकर वा बैंकमा गएर खाता बन्द गर्न आवेदन दिएमा बन्द हुने व्यवस्था छ। डिम्याट खाता बैंकबाट समेत खोल्न सकिन्छ।
तर, डिम्याट खाता धेरै हुँदैमा मात्र चलखेल हुने अवस्था नरहेको न्यौपानेको दाबी छ। उनी भन्छन्, 'खाता एउटै हुनेले समेत एकभन्दा बढी ब्रोकरमा रहेको सरकार कारोबार गर्ने अनलाइन खाता भएमा मूल्य बढाउँदै कारोबार गर्न सक्छ।'
सिडिएससीले अनलाइन सुपरीवेक्षण गर्ने भएकोले यस्तो शंका लाग्ने कारोबारको प्रयास भने सफल नहुने गरेको न्यौपानेको दाबी छ। उनले सम्भव भएसम्म ग्राहक पहिचान विवरणको माध्यमबाट दुईभन्दा धेरै डिम्याट खाता रहेकाहरूलाई बन्द गर्न लगाइरहेको समेत बताए।