जीवन बीमाको किस्ता नियमित रूपमा तिर्न नसकेकाहरूले हालसम्म बुझाएको रकमबाट कम्तीमा ७५ प्रतिशत फिर्ता दिने व्यवस्था गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ।
हाल बीमा गरेको तीन वर्षसम्म नियमित किस्ता नबुझाउनेले रकम फिर्ता माग्दा समेत पाउँदैनन्।
गत पुस १२ गते बसेको समिति बैठकले तीन महिनाभित्र बीमा कम्पनीहरूलाई यस्तो रकम बीमा गर्नेहरूको बैंक खातामा फिर्ता गर्ने व्यवस्था गर्न बीमा प्राधिकरणलाई निर्देशन दिएको हो।
बीमा कम्पनीहरू भने बीमा शुल्कको २५ प्रतिशत बराबर रकम मात्रै राखेर बाँकी फिर्ता गर्न प्राविधिक रूपमै समस्या हुने बताउँछन्।
'कसैले जीवन बीमा गर्दा पहिलो र दोस्रो वर्ष कम्पनीले पाउने रकमै पनि ३५ देखि ४० प्रतिशत हुन्छ,' नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले भने, 'त्यसैले समितिले भने अनुसार २५ प्रतिशत मात्रै रकम लिएर बाँकी रकम बीमा गर्नेलाई नै फिर्ता गर्न मिल्ने अवस्था नै रहँदैन।'
जीवन बीमा कम्पनीहरूले बीमाको अवधि अनुसार अभिकर्तालाई पहिलो र दोस्रो वर्ष उठ्ने प्रिमियम अनुसार १० देखि २५ प्रतिशत कमिसन दिन सक्ने व्यवस्था विभिन्न समयमा भएको संशोधनसहित बीमा नियमावली २०४९ ले गरेको छ। यसबाहेक पहिलो वर्ष कम्पनीहरूले बिजनेस इन्सेन्टिभको रूपमा समेत अभिकर्तालाई १८ प्रतिशतसम्म रकम दिन सक्ने व्यवस्था गरेको छ।
कम्पनीहरूका अनुसार यो शुल्कबाटै थप १२ देखि १५ प्रतिशत व्यवस्थापन खर्चमा रकम खर्चिएको हुन्छ। पुनर्बीमा कम्पनीलाई समेत तीनदेखि पाँच प्रतिशत रकम खर्च गर्नुपर्ने हुँदा कम्पनीसँग पहिलो र दोस्रो वर्ष ३५ प्रतिशत हाराहारीमा मात्रै रकम बच्छ।
दोस्रो वर्षमा भने बिजनेस इन्सेन्टिभको रूपमा अभिकर्तालाई १८ प्रतिशतसम्म रकम दिनुपर्ने हुँदैन। अन्य खर्च यथावत नै रहन्छ। तेस्रो वर्ष सोही बीमाबाट आर्जन हुने शुल्कको ५ प्रतिशत रकम मात्रै अभिकर्ताका लागि कमिसनको रूपमा दिए पुग्छ।
'यही कारण तीन वर्ष व्यतीत भएपछि मात्रै बीमा गर्नेले समर्पण गरेर रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको हो,' बीमा प्राधिकरणकी निर्देशक तथा बीमा विकास र प्रवर्द्धन विभागकी प्रमुख पुजना ढुंगेल अधिकारीले भनिन्, 'यसअघि पनि विभिन्न समितिमा यो विषयमा कुरा उठेको हो। यो प्राविधिक विषय हो भनेर त्यतिखेर बुझाउन सकेका थियौं।'
प्राधिकरणका अनुसार यिनै समस्याको कारण भन्दै यसअघि दुई वर्षसम्म नियमित बीमा शुल्क बुझाउनेले समर्पण गर्न सक्ने व्यवस्थालाई तीन वर्ष पुर्याएको थियो।
तर जीवन बीमा गर्नेबाट पहिलो दुई वर्ष राम्रो कमिसन प्राप्त गर्ने र त्यसपछि भने कमिसन निकै घट्ने गरेकोले अभिकर्ताहरूले समेत तेस्रो वर्षपछि यसमा चासो नराख्ने गरेको पाइन्छ। पहिलो दुई वर्ष राम्रो कमिसन पाइने लाेभले अभिकर्ता बनेकाहरूले आफन्तलाई नै जोर जबरजस्ती बीमा बिक्री गर्ने प्रवृत्ति समेत छ।
बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भने बीमा गरेकाहरूले वार्षिक ३३ देखि ३४ अर्ब बराबरको बीमा प्रिमियम शुल्क तिरिरहेका हुँदैनन्।
गत आर्थिक वर्ष २०७९/८० मा १२ लाख ५ हजार ७४ जनाले तिनुपर्ने ३३ अर्ब ९५ करोड रूपैयाँ प्रिमियम तिर्न नसकेर बीमा 'ल्याप्स' भएको छ।
बीमा गरेकाहरूले हरेक वर्ष मासिक वा वार्षिक आधारमा उही रकमको दरमा किस्ता तिर्नुपर्ने हुन्छ। त्यसैले भन्न सकिन्छ सर्वसाधारणले बीमा खरिद गरेको पहिलो र दोस्रो वर्ष पनि यति नै रकम बराबर तिरेका हुन्छन्।
'यो रकम निकै ठूलो देखिन्छ, तर हाम्रो तथ्यांकमा यसरी नियमित किस्ता नतिरेकाहरूले फेरि आफ्नो बीमाको निरन्तरता (पुनर्जागरण) दिएको छ छैन भनेर देखाउँदैन,' प्राधिकरणका सहायक निर्देशक बसन्त प्रसाद बोहरा बताउँछन्।
प्राधिकरणले यो आर्थिक वर्षबाट भने यसरी बीमा पुनर्जागरण गराउनेहरूको विवरण समेत तयार पार्ने प्रयास गरिरहेको छ।
नियमित गराएरपछि समर्पण गर्न मिल्छ
बीमा गरेकाले चाहँदा रोकिएको किस्ता तिरेर फेरि बीमालाई निरन्तरता दिन सक्छ। तर यसमा केही रकम हर्जना तिर्नुपर्ने हुन्छ।
कम्पनीहरूको नियमित लगानीमा पर्न सक्ने असरका आधारमा यसरी ब्याज लगाइने गरिन्छ।
कम्पनीहरूले विभिन्न समयमा यस्तो ब्याजमा निश्चित प्रतिशतसम्म छुटका योजना पनि ल्याउने गर्छन्। यस्तो ब्याज छुट एउटा बीमाको पूरै अवधिमा एक पटकलाई मात्र पाइन्छ। कसैले १५ वर्ष अवधिको जीवन बीमा गरेको छ र किस्ता नियमित नहुँदा पुनर्जागरण गरेको छ भने एक पटकलाई ब्याजमा निश्चित प्रतिशतसम्म छुट पाउन सक्छ।
नेपालमा भने बीमा अवधिभर जुनसुकै समयमा बीमा पुनर्जागरण गर्न सक्ने सुविधा समेत दिइएको छ। पुनर्जागरण गरेकाहरूले बीमा अवधि नसकिँदै समर्पण समेत गर्न सक्छन् वा समर्पण नगरेर बीमा कम्पनीबाटै कर्जा लिएर समेत बीमालाई निरन्तरता दिन सक्छन्।
समर्पण मूल्य भने फरक–फरक हुन्छ र यो निश्चित गणना विधिबाट निकालिएको हुन्छ। त्यसैले बीमा गर्नेले आफूले जम्मा गरेकोमध्ये ५० प्रतिशत रकम पनि फिर्ता पाउन सक्छ भने यस्तो फिर्ता हुने रकम ६० प्रतिशत पनि हुनसक्छ।
यसरी निस्कlने समर्पण मूल्य फिर्ता नदिएर बीमालाई निरन्तरता दिन चाहनेले यो रकमको ९० प्रतिशतसम्म कर्जा बीमा कम्पनीबाटै पाउँछन्। बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै करिब ९७ हजारले १३ अर्ब ३४ करोड रूपैयाँ बराबर रकम समर्पणबाट पाएका थिए।