दसैं विदाअघि नेप्से परिसूचक समान्य बढेको छ। बुधबार अन्तर दिनको कारोबारमा उच्च उतार चढाव देखिएको बजार बन्द हुँदा सामान्य बढेको हाे।
नेप्से परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ विन्दुमा आएर बजार बन्द भएको छ।
केही समयदेखि २७ सयको विन्दुमा प्रतिरोध पाइरहेको नेप्सेले बुधवार पनि त्यो तह आसपास पुगेपनि असफल भयो। बुधबार बजारले २६७२ मा उचाई बनाएको थियो।
दसैंकै कारण काठमाडौंमा रहेकाहरू गाँउ फर्किदै छन्। यसले गर्दा बजार केही समय सामान्य उतारचढावमै देखिने सम्भावना छ। यही कारण बजारमा कारोबार रकम पनि घटेको छ।
बुधबार कारोबार रकम तीन अर्ब ७६ करोडमा सीमित भएको छ। मंगलबार चार अर्ब ५९ करोड रूपैयाँको कारोबार भएको थियो। बुधबार कारोबारमा आएकामध्ये विकास बैंक, लगानी, जीवन बीमा र व्यापार मुलक समूह मात्रै घटेका छन्। उत्पादन तथा प्रशोधनमुलक समूहमा सबैभन्दा धेरै एक प्रतिशतले वृद्धि भएको छ।
कारोबारमा आएका दुई सय ९४ स्क्रिपमध्ये एक सय ५४ वटाको मूल्य बढ्यो, एक सय २० वटाको घट्यो भने बाँकीको स्थिर रह्यो। हाइड्रो समूहमा लगानीकर्ताहरू झुम्मिएको देखिन्छ।
मिड सोलु, अपर स्याङजे, राप्ति हाइड्रोको सेयर मूल्य ९ देखि १० प्रतिशतसम्म बढ्यो। सबैभन्दा उच्चले मूल्य बढ्ने १० कम्पनीमा आठ वटा जलविद्युत कम्पनी छन्।
त्यस्तै, सबैभन्दा धेरैले मूल्य घट्नेमा पनि जलविद्युत क्षेत्रकै कम्पनी छ। थ्री स्टार हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ।
दसैंलगत्तै बजार खुल्दा लगानीकर्ताहरूले बैंकहरूबाट मार्जिन कलको सामना गर्न सक्ने हुनसक्छ। पहिलो त्रैमाश (साउन देखि असोज)मा लगानीकर्ताहरूलाई कर तिर्नुपर्ने दबाब र मार्जिन कलको समेत दबाब हुन्छ।
धितोमा राखिएको सेयरको मूल्य घटेको भए धितो पुर्याउँन बैंकहरूले यो समय सूचित गर्छन्। राष्ट्र बैंकले मंगलवार परिपत्र जारी गर्दै यस्तो मार्जिन पुर्याउँन बैंकहरूले सूचित गर्दा पनि मार्जिन नथप्ने लगानीकर्ताहरूको सेयर बिक्री गर्न सक्ने जानकारी सम्झौताको समयमा नै खुलाउनु पर्ने व्यवस्था गरेको छ।
बैंकहरूले यसअघि पनि मार्जिन थप्न नसक्नेको सेयर बेच्न सक्ने प्रावधान थियो। अब भने यस्तो व्यवस्था छ भन्ने जानकारी अनिवार्य दिनुपर्छ भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो।
तर, धेरैले पहलो पटक बैंकहरूले यस्तो मार्जिन कलको सूचनापछि पनि धितो नथप्नेको सेयर बिक्री गर्न पाउने भएको भन्ने बुझेपछि बुधबार बजार खुल्दा केही प्रभाव समेत परेको थियो।