कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पुरानो टेलिश्रृखंला छ, लक्ष्मी। त्यसको एउटा दृश्यमा हरिवंश बैंकबाट लिएको ऋण तिर्न जान्छन् र आफूले धितोमा राखेको सुन फिर्ता माग्छन्।
बैंकको ढुकुटी (लकर)मा राखिएको त्यो सुनको पोको खोलेर हेर्दा हरिवंशले त्यहाँ सुन नभएर पित्तलका ढक रहेको देख्छन्। र, आफू ठगेको भन्दै मदनकृष्णलाई आरोप लगाउँछन् र कराउँछन्, 'बैंकमा पनि यस्तो धोका।'
लगत्तै, मदनकृष्णलाई प्रहरीले समातेर लैजान्छ।
यो दृश्यपछि धेरैलाई लाग्न सक्छ, बैंकको लकरमा राखिएको सामान साटिए, नास भए के होला?
यसमा जानु अघि पहिले बुझौं, लकर सुविधा बारे। अहिले सबैजसो बैंकहरूले ग्राहकलाई लकर सुविधा दिएका छन्।
लकरमा हामीले आफूलाई राख्न चाहेको धेरै कुरा सुरक्षित राख्न सक्छौं। महत्त्वपूर्ण कागजात, सुनचाँदी जस्ता बहुमूल्य धातु लगायतका सामान राख्न पाइन्छ। तर, कानुनले निषेध गरेका सामानहरू राख्न पाइँदैन।
एनएमबी बैंककी अपेरेशन विभागकी सृजना श्रेष्ठ भन्छिन्, 'हामीले ग्राहकले लकरमा के–के सामान राखेका छन् भनेर हेर्न मिल्दैन, त्यसैले कानुनले निषेध गरेका सामान नराखेको ग्राहकहरूले नै स्वघोषणा गर्नुपर्छ।'
आफूले यस्ता बर्जित सामान नराखेको स्वघोषणा ग्राहकले नै गर्छ। यो सुविधा लिने समयमै 'बिष्फोटक पदार्थ, हात हतियार, आतंकवादी क्रियाकलापमा प्रयोग हुने सामग्रीहरू, लागु पदार्थ आदि लगायतका वस्तुहरू राखिएको छैन र भविष्यमा पनि मबाट उक्त क्रियाकलाप हुने छैन' भन्ने व्यहोराको पत्रमा ग्राहकले हस्ताक्षर गर्नुपर्छ।
हामीमध्ये धेरैलाई स्मरण पनि होला, केही वर्षअघि एक संसदले बैंकको लकरमा गोली राखिएको भन्दै ठूलो विवाद निम्तिएको थियो। यस्तो घटनामा बैंक दोषी मानिदैन पनि। किनभने लकरमा ग्राकहले के सामान राख्छ भन्ने कुरा समेत बैंक वा बैंकका कर्मचारीलाई थाहा हुँदैन।
बैंकका कर्मचारीसँग लकरको एउटा साँचो त हुन्छ। तर, त्यो एउटै साँचोले मात्र लकर खुल्दैन। ग्राहकसँग रहेको र बैंकमा रहेको मास्टर साँचो दुवै भएपछि मात्रै एकैपटक लकर खोल्न मिल्छ। लकरको ताल्चा खोलिएपछि कर्मचारी त्यहाँ बसेर ग्राहकले लकरबाट के झिक्यो वा त्यहाँ के राख्यो भनेर हेर्न मिल्दैन।
ग्राहकले लकर सुविधा लिँदा भरेको पत्रमै ग्राहकले लकर सुविधा लिए वापतको शुल्क नियमित तिर्ने, त्यस्तो शुल्क नतिरेमा बैंकले लकरमा रहेको सामानहरू निकालेर सार्न सक्ने अनुमति दिएको हुन्छ।
बैंकसँग एउटा मास्टर साँचो मात्रै हुने भएकोले यस्तो सामान निकाल्दा लकरमा पुग्ने हानी समेत ग्राहकको खाताबाट व्यर्होन सक्ने अनुमति ग्राहकले बैंकलाई दिएको हुन्छ। ग्राहकको खातामा यस्तो क्षति भरपाइ हुने रकम नभएमा ऋणी सरह असुल्न सक्ने अधिकार समेत बैंकलाई हुन्छ।
हुनतः बैंकहरूले लकर सुविधा दिँदा पहिले नै ग्राहकसँग केही रकम अग्रिम लिएको हुन्छ। शुल्क जस्तै अग्रिम रकम पनि लकरको आकार अनुसार फरक पर्छ।
एनएमबी बैंकमा करिब पाँच इन्चदेखि १६ इन्च उचाई, करिब सात इन्चदेखि २१ इन्च र २० इन्च लम्बाइका छन्। अन्य बैंकमा लकरको आकार फरक पर्न सक्छ।
त्यस्तै, यस्तो लरक सुविधा लिँदा तीन हजार पाँच सय देखि १० हजार रूपैयाँ वार्षिक शुल्क र २५ हजारदेखि माथि अग्रिम शुल्क राख्नुपर्ने हुन्छ। अग्रिम शुल्क लकर सुविधा लिन छाडेपछि फिर्ता हुन्छ।
यस्तो लकरमा सामान रहेको समयमा ग्राहकको मृत्यु भएमा ती सामानमा कसको अधिकार हुने भन्ने कुरा पनि पहिले नै खुलाउनु पर्ने व्यवस्था गरिएको हुन्छ। त्यस्तै, यस्तो लकर सुविधा लिँदा यदि बैंकको लकर भित्रको सामान हराएमा वा नासिएमा भने यसमा बैंक जवाफदेही हुँदैन।
यो कुरा लकर खोल्दा नै ग्राहकलाई जानकारी गराइएको हुन्छ। त्यसैले यो सुविधा लिदाका 'शर्त तथा व्यवस्थाहरू' ग्राहकले राम्ररी पढ्नुपर्छ।
त्यसो भए त्यो टेलिश्रृंखला लक्ष्मीमा मदनकृष्ण किन पक्राउ परे। के अहिले लकरसम्बन्धी व्यवस्था फेरिएको हो? होइन।
हरिबंशले सुन सुरक्षाको लागि राख्न दिएको सुन थिएन। कर्जा लिन राखिएको सुन थियो। कर्जा दिँदा कमसल वा नखाम्ने धितोमा दिन मिल्दैन। बाध्यताकै कारण मदनकृष्णले सो पित्तलका ढकलाई सुन भनेरै धितो लिएका थिए।