रायन इनर्जीले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
रायन इनर्जी नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनी हो।
यसले दुई, तीन र चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरू निर्माण, संयोजन तथा ब्याट्री स्वाप प्रणाली एकीकरण गर्दै दिगो यातायात प्रवर्द्धन गर्दै आएको छ।
कम्पनीले २०८२-८३ आर्थिक वर्षभित्र आइपिओ ल्याउने तयारी गरिरहेको छ।
विस २०७७ मा स्थापना भएको रायन इनर्जीले २०७८ मा उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट विद्युतीय सवारी साधन उत्पादन अनुमति प्राप्त गरेको थियो।
कम्पनीले एसेम्बली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण, ग्रामीण तथा सहरी विद्युतीकरण, सौर्य सिँचाइ तथा पावर ब्याकअप प्रणाली जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ।
रायन इनर्जीमा नवीकरणीय ऊर्जा र विभिन्न व्यावसायिक क्षेत्रमा लामो अनुभव भएका लगानीकर्ताहरू संलग्न छन्।
कम्पनीले वातावरणमैत्री, उच्च कार्यक्षमता तथा आधुनिक प्रविधियुक्त विद्युतीय सवारी साधन उत्पादन गर्दै दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।