अब बीमा अभिकर्ता बन्न कम्तीमा प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने भएको छ।
राजपत्रमा प्रकाशित बीमा नियमावली २०८१ मा यस्तो व्यवस्था गरिएको हो।
यसअघिसम्म दश कक्षा उत्तीर्णले पनि अभिकर्ता बन्न सक्ने व्यवस्था थियो।
यो ऐन प्रारम्भ हुनु अघि बीमा अभिकर्ताको इजाजतपत्र पाइसकेका वा नवीकरण गर्दा, नवीकरण छुटेको कारण नयाँ इजाजद लिँदा समेत प्राप्त गरिसकेको अभिकर्ताको हकमा न्यूनतम शैक्षिक योग्यता माध्यमिक शिक्षा परीक्षा (एसइई) वा सो सरह नै हुनेछ।
बीमा अधिकर्ताले बीमाको क्रममा पाउने इन्सेन्टिभ तोकिएरै आएको छ। बीमा अभिकर्ता बनेको पहिलो वर्ष यस्तो इन्सेन्टिभ नपाइने व्यवस्था छ।
त्यस्तै, ३० प्रतिशतभन्दा कम नवीकरण दर भएकोमा बीमाबाट २० प्रतिशत, ३० देखि ४५ प्रतिशतसम्म १५ प्रतिशत, ४५ देखि ६० प्रतिशतसम्म १० प्रतिशत र ६० देखि ७५ प्रतिशतसम्मकोमा भने पाँच प्रतिशतसम्म इन्सेन्टिभ पाउने भएका हुन्।
७५ प्रतिशतभन्दा माथि नवीकरण दर भएकोमा इन्सेन्टिभ नपाउने व्यवस्था छ।
अभिकर्ताहरूले बीमालेखको आधारमा कमिसन समेत पाउँछन्।
पहिलो र दोस्रो वर्ष यस्तो कमिसन बीमा प्रिमियम शुल्कको ५ देखि २५ प्रतिशतसम्म पाउँछन्।
तेस्रो वर्षदेखि दश वर्षसम्म वा बीमा अवधि जुन कम हुन्छ, त्यो समयसम्म यस्तो शुल्कको ५ प्रतिशत कमिसन पाउँछन्।