मंगलबार पनि नेप्से परिसूचक बढेको छ।
अघिल्लो आइतबारदेखि बढ्ने क्रममा रहेको नेप्सेले यसदिन पनि निरन्तरता पाएको हो। नेप्से लगातार सातौ दिन पनि बढेको हो।
यसदिन नेप्से ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन अर्थात सोमबार ११ अर्ब आठ करोडको कारोबार भएकोमा मंगलबार नौ अर्ब ९० करोडको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब १८ करोड रूपैयाँ कमी आएको हो।
आज ३१२ वटा धितोपत्रको एक करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै नौ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९४४ रूपैयाँ कायम भएको छ।
यस्तै, नेपाल ल्युभ आयलको मूल्य ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य २७६ रूपैयाँ ९० पैसा पुगेको छ।
मंगलबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक ८.९७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य तीन हजार ४४० रूपैयाँमा झरेको छ।
यस्तै, राप्ती हाइड्रोको मूल्य ६.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६५७ रूपैयाँ ९० पैसा कायम भएको छ।
मंगलबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २५ रूपैयाँमा १ अर्ब दुई करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो रकम कुल कारोबारको १० प्रतिशत हिस्सा हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३०४ रूपैयाँमा ८३ करोड तीन लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो।
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक २.९० प्रतिशतले बढेको छ।
यस्तै, व्यापार समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले घटेको छ।