सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामग्री र सेनेटरी प्याड सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि प्रशंसनिय कार्य गर्दै आएको उक्त संस्थालाई सहयोग गरेको छ।
दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुनर्स्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सिप, शिक्षा, काउन्सेलिङ, कानुनी सहयोग, आत्मरक्षा र आत्मजागरूकता मार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ।
बैंकले एक समारोहकाबीच रक्षा नेपाललाई सामग्रीहरू हस्तान्तरण गरेको हो।
बैंकको यो सहयोगप्रति धन्यबाद ज्ञापन गर्दै उनीहरूले आगामी दिनमा पनि महिला र बालबालिकाको अधिकारको लागि कार्यहरू गर्दै जान हौसला मिलेको बताए।
समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्थाको सञ्चालनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ।
सिटिजन्स बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।