४४ दिनपछि सेयर बजारमा एकै दिन १० अर्ब रूपैयाँ भन्दा माथिको कारोबार भएको छ। साताको अन्तिम दिन बिहीबार १० अर्ब ७९ करोड रूपैयाँको कारोबार भएको हो।
कारोबार रकम फागुन २१ यता कै उच्च हो। सो समय १० अर्ब ९७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।
त्यस्तै, सेयर बजार नेप्से पनि २८.९७ अंकले बढेर २७२५.२० विन्दुमा पुगेको छ। नेप्से परिसूचक पनि ३७ दिन यताकै उच्च विन्दुमा आइपुगेको हो।
कारोबारमा आएका तीन सय ११ स्क्रिप्स् मध्ये दुई सय २१ को मूल्य बढेको छ भने ८५ वटाको मूल्य घटेको छ।
कारोबारमा आएको व्यापार समूहबाहेक सबै समूहगत परिसूचक बढेका छन्। लगानी समुहको परिसूचक सबैभन्दा धेरै २.९९ प्रतिशतले बढेको छ।
यो समूहको सिएचडिसी होल्डिङको मूल्य घटेपनि एनआरएन इन्फ्रा, नागरिक लगानी कोष, एचआइडिसिएल, इमर्जिङ नेपाल लगायतको मूल्य बढेको छ।
त्यस्तै, यस दिन सबैभन्दा धेरै मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ। कम्पनीको सेयर पाँच सय ८८ रूपैयाँमा किनबेच भएको छ।
त्यस्तै, हिमालयन पावर पार्टनरको सबैभन्दा धेरै एक अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ। कम्पनीले एक बराबर ०.५ अनुपातमा हकप्रद सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो।