चिनियाँ क्षेत्रमा नेपाली मुद्रा थुप्रिन थालेपछि सटहीको लागि सहजीकरण गरिदिन चिनियाँ दूतावासले राष्ट्र बैंकलाई आग्रह गरेको छ।
'चीनमा नेपाली मुद्रा थुप्रिएको भन्दै चिनियाँ राजदूतले सटही सुविधा मिलाइदिन भन्नु भएको थियो,' राष्ट्रिय योजना आयोगका एक सदस्यले भने, 'हामीले उहाँलाई राष्ट्र बैंकमा कुरा गर्न भनेका छौं।'
चिनियाँ दूतावासबाट यस्तो आग्रह आएको नेपाल राष्ट्र बैंकले पनि पुष्टि गरेको छ।
'हो, यस्तो आग्रह आएको थियो, हामीले उहाँहरूलाई त्यहाँको केन्द्रीय बैंकमार्फत् पत्राचार गरेर आउन भनेका छौं,' राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती रमण नेपालले पुष्टि गरे।
नेपालबाहिर नेपाली मुद्रा चल्दैन। राष्ट्र बैंकले तोकिएको भन्दा बढी नेपाली रूपैयाँ मुलुकबाहिर लैजान नपाइने व्यवस्था समेत गरेको छ।
'नगद नेपाली वा विदेशी मुद्रा ओसारप्रसारमा प्रतिबन्ध' सम्बन्धी व्यवस्थाले नेपालीले मुलुक बाहिर जाँदा साथमा अधिकतम पाँच हजार रूपैयाँसम्म मात्रै लैजान सक्ने सुविधा दिएको छ।
तर, मुलुकबाहिर जाँदा कसैलाइ उपहार दिनपरे वा विदेश यात्राबाट फर्कंदा नेपालमै गाडी, ट्याक्सी भाडा चाहिन सक्छ भनेर विदेशीने नेपालीको साथमा केही नोट बोक्न दिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
अन्य अवस्थामा भ्रमण लगायतका लागि विदेश जाने नेपालीहरूलाई केही डलर लिएर जान सक्ने सुविधा दिएको छ। चीन लगायतका मुलुक जानेले अधिकतम दुई सय डलर (२८ हजार नेपाली रूपैयाँ) लैजान पाउँछन्।
स्थलमार्गबाट जानेले भने एक पटकमा बढीमा एक हजार डलर (एक लाख ३९ हजार रूपैयाँ) र वर्षभरीमा दुई हजार डलर (दुई लाख ७८ हजार रूपैयाँसम्म) सम्म साथमा लैजान पाउँछन्।
भारत बाहेकका अन्य मुलुकमा मेला गोष्ठीमा जानेले भने पाँच हजार डलर (करिब सात लाख रूपैयाँ) सम्म सटही सुविधा पाउँछन्।
राष्ट्र बैंकको नियम विपरीत पनि भारत वा चीनका सीमा नाकामा भने कारोबारको क्रममा नेपाली मुद्राको निर्वाध प्रयोग हुने गरेको छ।
यही कारण भ्रमण तथा किनमेलको लागि चीनको तिब्बत क्षेत्रमा जाने नेपालीबाट त्यहाँका बिक्रेताहरूले नेपाली मुद्रा नै स्वीकार गरेपछि यस्तो पैसा थुप्रिएको हुनसक्ने देखिन्छ।
सीमा क्षेत्रमा नेपालीहरूले राष्ट्र बैंकले तोकेभन्दा बढी खर्च गरेका पनि हुन सक्छन्। किनभने यस्ता क्षेत्रमा नियन्त्रण गर्न सकिने अवस्था नै हुँदैन।
अहिले चीनमा कति नेपाली पैसा थुप्रिएको हो भन्ने यकिन तथ्यांक राष्ट्र बैंकले समेत पाइसकेको छैन। तर, चीनमा थुप्रिएको नेपाली पैसा सटहीको लागि राजदूतावासबाटै आग्रह भएकोले रकम करोडौं हुनसक्ने अनुमान छ।
मुलुकबाहिर नेपाली मुद्रा थुप्रिँदा यस्तो रकम प्रणाली बाहिरै रहने अवस्था बन्छ। यसले चलनचल्तीमा रहेको मुद्रा कति छ भन्ने वास्तविक तथ्यांक पनि नआउने हुन्छ।
तथ्यांक अनुसार पछिल्लो समय नेपालमा चलनचल्तीमा रहेको मुद्रा पनि बढ्दै गएको छ।
राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउनदेखि वैशाख) को आर्थिक प्रतिवेदनले बैंक र राष्ट्र बैंकभन्दा बाहिर ६ खर्ब ५३ अर्ब रूपैयाँ बराबरको पैसा रहेको देखाएको छ।
साउनयता मात्रै यस्तो पैसाको प्रवाह ३६ प्रतिशत (७२ अर्ब २५ करोड रूपैयाँ) ले बढेको हो। असारअन्त्यमा यस्तो पैसा पाँच खर्ब ८१ अर्ब रूपैयाँ थियो।
त्यसैले, यसको समाधान अन्तर्देशीय भुक्तानी प्रणालीको विकास भएमा मात्रै हुने देखिन्छ। अहिले नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले चीन लगायतका दश मुलुकका बैंकहरूले जारी गरेका कार्डबाट नेपालमा भुक्तानी लिन सकिने सुविधा दिन थालेको छ।
न भारतबाट नेपाल आउनेहरूले फोन पेको प्रणाली मार्फत् यहाँ डिजिटल भुक्तानी गर्न सक्ने सुविधा दिइरहेको छ।
नेपालबाट विदेश जानेले भने हालसम्म यस्तो सुविधा प्रयोग गर्न पाएका छैनन्।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभाग प्रमुख किरण पण्डितका अनुसार यी संस्थाहरूले नेपालीले समेत विदेशमा भुक्तानी गर्न सक्ने व्यवस्थाको लागि आन्तरिक रूपमा तयारी गरिरहेका छन्।
यस्तो तयारी पूरा भएमा कम्तीमा पनि मुलुक बाहिर औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने थियो भने मुलुक बाहिर हुने यस्तो कारोबारको रेकर्ड रहनेछ।