साताको दोस्रो दिन नेप्से परिसूचक बजार बन्द हुँदा २.०७ अंकले घटेर २९६२.१३ को देखियो।
नेप्सेले अन्तिम १५ मिनेटको कारोबारको औसत निकालेपछिको तथ्यांक हो यो। जबकी बजार बन्द हुँदा नेप्से १२ अंकले बढिरहेको थियो।
पछिल्लो समय नेप्सेले अन्तिम १५ मिनेटभरको औसतलाई दिएर यो दिनको अन्तिम बिन्दु निकाल्दै आएको छ।
सोमबार बजार बन्द हुनुभन्दा अन्तिम १५ मिनेटको समयमा लगातार बढिरहेको देखिन्छ। दुई बजेर ४५ मिनेट जाँदा नेप्से परिसूचक २९६७ मा थियो।
यो १५ मिनेटको बीचमा नेप्से दुई पटक सामान्य घटेको देखिन्छ। एक पटक नेप्से २९६९.८३ बाट घटेर २९६९.५५ मा र अर्कोपटक २९७१ बाट घटेर २९६९ मा आएको देखिन्छ।
१५ मिनेटमा त्यसबाहेक अन्य सबै समय नेप्से परिसूचक बढिरहेको देखिन्छ। बजार बन्द हुँदा भने नेप्से अघिल्लो दिनकोभन्दा १२ अंकले बढेर २९७६.३६ विन्दुमा पुगेको थियो।
औसत पछिको अन्तिम बिन्दु भने २९६२.१३ देखियो। त्यसैले औसत निकालेपछि पनि बजार घटेको नदेखिनेमा यस्तो भएको भन्दै लगानीकर्ताहरूले गुनासा गरे।
बजार घटेको देखिदा लगानीकर्ताहरूको मनोविज्ञानमा प्रभाव पर्न सक्ने भन्दै औसत आधारमा परिसूचक निकाल्ने प्रवृत्ति प्रति लगानीकर्ताहरू आक्रोशित भइरहेका छन्।
लगानीकर्ताहरूको गुनासो बढेपछि यस विषयमा नेप्सेले अध्ययन गरिरहेको प्रवक्ता मुराहरी पराजुलीले बताए।
नेप्सेले केही महिना यता यसरी कारोबारको अन्तिम समयको १५ मिनेटको उतारचढावलाई लिएर अन्तिम परिसूचक निकाल्न थालेको हो।
यो पनि: बिहीबारदेखि अन्तिम १५ मिनेटको सेयर कारोबारको आधारमा अन्तिम मूल्य तोकिने