ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ लाभकर, ब्याज तथा फि समेत उसको कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख नाघेको सूचित गराउदै १५ दिन भित्र उक्त कर चुक्ता गर्न निर्देशन दिएको छ ।
टेलिया कम्पनीको स्विडेन स्थित मुख्यालयको नाममा कर कार्यालयले सूचना जारी गरेको हो ।
ठूला करदाता कार्यालयले यस अघि २०७४ असार १६ गते पनि टेलियालाई एनसेल बिक्री वापतको लाभकर तिर्न पत्राचार गरेको खुलासा गरेको छ । तर कर भुक्तानी गर्न ताकेता गरिएको उक्त पत्र पाएर पनि टेलियाले कर चुक्ता नगरेको कर कार्यालयले जनाएको छ ।
अब पनि तोकिएको (१५ दिन) समयभित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ ले भने बमोजिमका प्रकृया अबलम्बन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने ठूला करदाता कार्यालयले सूचनामा जनाएको छ ।
टेलियाले एनसेलमा रहेको आफ्नो स्वामित्व चैत्र १९, २०७२ मा मलेसियन कम्पनी आजियाटालाई बिक्री गरेको थियो ।