घरमा टिभी, फ्रिज वा अन्य गह्रौ समाग्री बिग्रिए के गर्ने ? ‘वारेन्टी बाँकी छ भने सम्बन्धित कम्पनीलाई फोन गर्नु, उसैले बनाउने मान्छे पठाइदिन्छ’ सहज उत्तर आउँछ।
‘वारेन्टी सकिसकेको छ, त्यसमाथि यत्रो भारी सामान कसरी बोकेर लैजानु ?’ ‘मेसिनरी चिज हो बिग्रीहाल्छ नि !’ ढाडस दिनेले प्रतिक्रिया दिन्छ उपाय दिँदैन।
यदि मर्मत केन्द्र थाहा भएको खण्डमा पनि त्यहाँसम्म त्यस्ता सामाग्री पुर्याउन सजिलो भने छैन। ट्याक्सी वा मालवहाक गाडीमा लैजाँदा तिर्नुपर्ने चर्को शुल्क छँदैछ। टिभी, फ्रिज वा यस्तै प्रकारका सामान मर्मत केन्द्रसम्म पुर्याउन र मर्मतपछि पुनः घरसम्म ल्याउन सकसपूर्ण र खर्चालू छ। सम्झिँदै विरक्त लाग्ने यस्तो स्थितिमा ‘सजिलो मर्मत सेवा’ संचालनमा आएको छ।
समस्यालाई नै व्यापारको सम्भावना देखेर तीन जना युवाले नयाँ व्यवसाय सुरु गरेका छन्, ‘सजिलो मर्मत सेवा।’ फिल्डमा जाने क्रममा मर्मत तथा जडानका सम्वन्धमा उपभोक्तामा अन्यौलता पाएपछि काठमाडौंका सुजित रेग्मी, कविश श्रेष्ठ र पुकार आचार्यले समस्यामा व्यवसायको सम्भावना देखे र सुरुवात गरे।
‘अध्ययनका क्रममा विभिन्न ठाउँ जानुपर्थ्यो, जहाँ गए पनि त्यस्ता समाग्रीको मर्मत तथा जडानमा धेरै मानिसमा अन्यौलता पायौँ, फुर्सदको समयमा अध्ययन गर्दा सेवामूलक व्यवसाय पनि देख्यौँ र गृहकार्य गर्यौँ’ सञ्चालक पुकार आचार्यले भने।
गत असारदेखि संचालनमा आएको सजिलो मर्मत सेवाले घरमै गएर बिग्रेका विद्युतीय सामाग्रीको मर्मत गरिदिन्छ। समस्या बुझेर मर्मतका लागि आवश्यक उपकरण लगी सम्पूर्ण रुपमा सेवा प्रदान गर्ने गरिएको आचार्यले बताए। मर्मत सेवा मात्रै होइन, जनशक्तिलाई सही रुपमा परिचालन गर्ने काम समेत यसले गरिरहेको छ।
नेपालमा रोजगार छैन भनेर प्राविधिकहरु विदेश जाने तर यहाँ विभिन्न क्षेत्रमा अभाव खड्किरहेको विरोधाभासपूर्ण स्थिति देखेपछि यसको आवश्यकता बोध भएको बताउँछन् अर्का सञ्चालक कविश श्रेष्ठ।
‘कम्पनीहरुलाई सोध्दा दक्ष प्राविधिक जनशक्ति छैन भन्छन्, प्राविधिकलाई सोध्दा काम छैन भन्छन्’ श्रेष्ठले भने ‘यही कुरालाई सेवामूलक व्यवसाय बनायौँ, दुई बीचको मजबुत पुल बन्न खोज्यौँ’
के के सेवा दिन्छ सजिलोले ?संचालकहरुका अनुसार सजिलोले ७ प्रकारका सेवाहरु दिने गरेको छ।
विद्युतीय सबै सामाग्रीको मर्मत सेवाः सबै प्रकारका विद्युतीय सामाग्रीको घरमै पुगेर मर्मत, जडान तथा वायरिङ सेवा।
पेन्टिङः इन्टेरियर, एक्स्टेरियर, व्यवसायिक वा घरेलु क्षेत्रमा नयाँ वा पुरानो पेन्टिङ सेवा।
कार्पेन्ट्रीः सबै प्रकारका जडान तथा मर्मतसँग जोडिएका कार्पेन्ट्री सेवा।
प्लम्बीङः बाथरुम, भान्सा, पानी ट्यांकी, प्लम्बीङ प्रणालीको जडानसँग सम्बन्धित सबै सेवा
घरायसी सामग्रीः टिभी, फ्रिज, एसी, जेनेरेटर, सिसीटीभी, इन्टरकमसँग सम्बन्धित मर्मत तथा जडान सेवा।
कम्प्युटर मर्मत सेवा:
कम्प्युटर नेटवर्किङ सेवा:
कसरी काम गर्छ सजिलोले ?अर्का सञ्चालक रहेका सजित रेग्मीका अनुसार सजिलो मर्मतका आफ्नै प्राविधिक छैनन्। सेवाले काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न विषयका प्राविधिकहरुलाई एउटा समूह बनाउँछ र त्यसमा क्षेत्रगत रुपमा सुपरभाइजर राखेको हुन्छ।
कीर्तिपुरको कुनै उपभोक्ताले सजिलो सेवा लिन चाहेमा त्यहाँबाट सबैभन्दा नजिक रहेको प्राविधिकले उक्त ठाउँमा गएर सेवा दिन्छ। यसबाट खर्च र समयको बचत हुने रेग्मीको तर्क छ।
यसलाई ‘उबर’को जस्तै सेयरिङ मोडलको नाम उनीहरुले दिएका छन्। सामानमा कसैले गुनासो गरेपछि सुपरभाइजरले त्यसको अध्ययन गर्छन्। अध्ययनपछि उसले नजिकैको प्राविधिकलाई समस्या र सेवा दिनुपर्ने क्षेत्र बताउँछ। त्यसै अनुसार आवश्यक सामाग्री सहित प्राविधिक सम्बन्धित क्षेत्रमा गएर सेवा दिन्छ। यस बापत उपभोक्ताले प्राविधिकलाई नै शूल्क दिन्छन्।
जो कसैले सेवा लिन वा दिन चाहेमा फोन, वेवसाइट र फेसबुक तीन माध्यमबाट सजिलो सेवालाई सम्पर्क गर्न सक्छन्। कम्पनी भएमा वार्षिक ग्राहक बनेर सेवा लिन सक्ने उनीहरु बताउँछन्।
‘यदी कम्पनी हो भने उनीहरुसँग भएका विद्युतीय उपकरणहरु सर्भे गरेर रेट पठाउँछौँ, वार्षिक शुल्क निर्धारणपछि जुनसुकै सेवा जहिले पनि लिन सक्छन्’ रेग्मीले भने, ‘बीचबीचमा शुल्क दिइरहनु पर्दैन, तोकिएको वार्षिक शुल्क दिए पुग्छ।’
सुरु गरेको ५ महिनामा सजिलोले राम्रो प्रतिक्रिया पाएको र यसबाट आफूहरुलाई हौसला मिलेको उनको भनाइ छ। ‘पाँच महिना अगाडि हामीले तीन वटा सेवाबाट सुरु गरेका थियौँ अहिले बढाएर सात पुर्याएका छौं’ रेग्मीले भने, ‘यो अवधिमा पाँच सयजति घरमा हामीले सेवा दिइसकेका छाँ।’
सुरुमा दैनिक १/२ अर्डर मात्रै आए पनि हालका दिनमा ५र७ वटा पुगेको रेग्मीको दाबी छ।
कस्तो छ सेवा शुल्क?घरमै गएर सेवा दिने सजिलोको शूल्क भने महँगो छैन।
मर्मत वा जडान गर्दा खर्च हुने समयको आधारमा शूल्क निर्धारण गरिएको रेग्मी बताउँछन्। प्लम्बिङ गर्दा आधा घण्टाको ३ सय, ३ घण्टाको एक हजार तथा एक दिन पुरै लागेमा एक हजार ५ सय शुल्क तय गरिएको उनले बताए। विद्युतीय सामाग्रीको मर्मतमा भने समस्या हेरिकन ‘अन द स्पट रेट’ निर्धारण गरी ग्राहकलाई जानकारी गराएर मात्र काम सुरु गरिने सजिलोले जानकारी दिएको छ।
पेन्टिङमा वर्गफिट अनुसार र आभेरलको पनि एकमुष्ट शुल्क लाग्छ। पेन्टको गुणस्तरअनुसार पनि दर रेट निर्धारण हुन्छ।