झापा चन्द्रगढी स्थायी घर भएका पुष्पलाल राजबंशीले गाडी चलाउन थालेको करिब ३० वर्ष पुग्यो। यस अवधिमा उनले विगत १६ वर्षदेखि माइक्रो बस चलाइरहेका छन्।
तर उनी यातायात संघ तथा समितिहरुसँग रुष्ट छन्। यस्ता संघ तथा समितिहरुले राजनीति गर्न मात्र यातायात मजदुरको प्रयोग गर्ने उनको बुझाई छ।
‘समितिहरु साहु केन्द्रीत मात्र भए, हामी जस्ता मजदुर केन्द्रित कहिल्यै भएनन्। गाडी कम्पनीमा दर्ता होस् वा समितिमा हामीलाई केही फरक पर्दैन’, उनले भने, ‘आन्दोलन गर्ने बेलामा हामीलाई ढाल बनाउँछन् तर कोही बिरामी परेर आर्थिक अभावको कारण उपचार गर्न सकिएन भने साथीभाईहरुले पैसा उठाएर उपचार गर्नुपर्छ।
राजबंशीले समितिमा बस्दा सबै भन्दा धेरै भविश्य सोंचेर चिन्ता लाग्ने बताए। ‘समितिले हामीलाई संचयकोषको व्यवस्था मिलाइलिएको भए जागिर छोडेको दिन खालिहात हुनु त पर्थेन’ उनले भने ‘हामीलाई परेको बेलामा काम नलाग्ने समिति हामीलाई किन चाहियो?’
चितवन–काठमाडौं रुटका माइक्रोबस ब्यवसायी चुडामणि रिजाल पनि समिति खारेज हुनुपर्नेमा जोड दिन्छन्। ९ वर्ष अगाडि रुट परमिट लिँदा चितवन माइक्रोबस यातायात व्यवसायी समितिमा ६० हजार तिर्नु परेको थियो।
त्यस्तै उनले मासिक रुपमा भलाई कोषको नाममा ३ हजार र समितिमा मासिक ४ हजार गरी ७ हजार बुझाउनु पर्ने बताए। रिजालले भने ‘त्यो पैसा तिरेपछि समितिले दुर्घटना भएको समयमा इन्स्योरेन्समा पहल गर्ने र लाइसेन्स, ब्लुबुक आदी नविकरणमा सहयोग गर्ने मात्र हो।’
‘हामीलाई त कम्पनीमा जाँदा राम्रो हुन्छ, हामीले तिरेको पैसा सरकारलाइ त जान्छ’ उनले थपे।
यातायात समितिहरुलाई मजदुरको समस्याको बारेमा वास्ता नै नभएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राईले बताए।
‘हामीले सरकारको सामाजिक सुरक्षा ऐन कार्यान्वयन लागि मजदुर कति छन् भन्ने डाटा माग्दा पनि समितिले वास्ता गरेन। सरकारले संशोधन गरेको निर्देशिकामा गाडी कम्पनीमा दर्ता गर्दा अनिवार्य रुपमा कर्मचारीको नियुक्तिपत्र चाहिने प्रावधान छ। यो माग हाम्रो २०५१ साल देखिको हो।’ उनले भने ‘व्यवसायीको हरेक आन्दोलनमा हामीले साथ नदिएको भए सफल हुँदैन थियो।’
कतिपय दुःखद घटनामा व्यवसायीले वास्ता नगरेर मजदुरहरु आफैले आर्थिक संकलन गरेर सहयोग गर्नुपरेको उनले गुनासो गरे।
‘हामीलाई दुःख पर्दा नसम्झने व्यवसायीहरुले अहिले हाम्रो नाममा राजनीति गर्दैछन्। यो आन्दोलन हाम्रो हैन त्यसैले हाम्रो सहभागिता पनि हुँदैन’ राईले भने।