इश्वरीप्रसाद यादव रौतहटबाट साढे २ सय फलफूलका बिरुवा लिएर दाङ आएका हुन्। वर्षायाम नै फलफूलका बिरुवा बेच्ने सिजन भएकाले यसरी नै वर्षेनि आफूले व्यवसाय गर्ने गरेको उनी बताउँछन्।
साइकलमा बिरुवा राखेर चोक चोकमा लगेर बेच्ने उनले दस दिनमा यी बिरुवा बेची सक्ने बताए। आफूले ल्याएका सबै बिरुवा बेच्दा ५० हजार रुपैयाँ नाफा गर्ने उनको लक्ष्य छ। कपुरी जातको आँपको प्रतिबिरुवा ५ सय रुपैयाँ र अन्य सबै जातको साढे २ सय रुपैयाँमा उनले बेच्ने गरेका छन्।
‘म यहाँ आएको हप्ता दिनजति भयो, लगभगसबै विरुवा सकिनै लाग्यो। एक दुई दिनमा घर हिँड्छु’ उनले भने। भारतबाट सस्तो मूल्यमा यि बिरुवा खरिद गरेर दाङमा ल्याएर बेच्दा राम्रै आम्दानी हुने गरेको उनले बताए। वर्षेनि सिजनमा यसैगरी आफूले फलफूलका विरुवा बेच्ने गरेको उनी बताउँछन्।
पानी परिरहने भएकाले लगाएका बिरुवा सजिलै हुर्किने हुँदा अहिलेको सिजन फलफूलका नयाँ बोटबिरुवा लगाउन उपयुक्त समय रहेको उनको भनाइ छ।
‘बुढिया र सानी छोरीले गहना लगाउने रहर गरेका छन्। यसपालि कमाएको पैसाले घर खर्चबाहेक त्यो रहर पुरा गरिदिनु छु’ यादवले भने। सिजनका मौकाहरु छोप्न जान्यो भने मेहनत अनुसार राम्रै आम्दानी हुने उनको अनुभव छ।
यसैगरी ५७ बर्षीय हरिशचन्द्र दास पनि तुलसीपुरमा फलफूलका विरुवा बेच्न तल्लीन छन्। उनी कपिलबस्तुबाट विरुवा बेच्न आएका हुन्। फूर्सद हुँदा श्रीमतिलाई किराना पसलमा बसेर सघाउने उनी पनि सिजनअनुसारका व्यापार गर्छन्।
‘सिजनअनुसार व्यापार गर्न विभिन्न जिल्लामा पुगिरहेको हुन्छु,बर्खामा अरु व्यापार खासै हुँदैन, तर बिरुवाको व्यापार राम्रो हुन्छ’ उनले भने।’ उनले विभिन्न जातका झन्डै ५ सय बोट विरुवा लिएर तुल्सीपुर आएको बताए। आँप, लिच्ची, कटहर, कागती, दारिम लगायका विरुवा लिएर आएका उनले पाँच दिनमै साढे ३ सय बेचिसके।
‘अझै डेढ सयजति विरुवा बेच्न बाँकी छ, एक दुई दिनमै यो सकिन्छ’ दासले भने। उनका छोरा कक्षा १० र छोरी ५ कक्षामा बोर्डिङ स्कुल पढ्छन्।
‘यी बिरुवा बेचेर म उनीहरुको पालनपोषण र पढाई खर्चको जोहो गर्छु’ उनले भने।
यादव र दास जस्तै बाँके नेपालगञ्ज निवासी २४ बर्षीय अशोक रैदास पनि फलफूलका साढे ३ सय विरुवा लिएर दाङमा आएका छन्। तीन दिनमा उनले २५ हजार रुपैयाँ कमाइसकेको बताए। ‘अब बाँकी आधाजति बिरुवा २ दिनमा बेचिसकेर फर्कन्छु, यो पैसाले बिरामी आमाको उपचार गर्नुछ’ उनले भने।
उनले गत साल पनि दाङमा आएर यसैगरी व्यापार गरेको अनुभव सुनाए। ‘त्यो बेला ६० हजार जति कमाएँ, यसपालि हेरौं कति हुन्छ’ उनले भने।
उनले छोरा र श्रीमतीको लागि नयाँ कपडा किनिदिने इच्छा रहेको बताए।