ट्रक व्यवसायीहरूले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन्।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको आयोजनामा दाङको घोराहीमा मंगलबार अपरान्ह सकिएको प्रदेश नंं ५ र ६ का ढुवानी व्यवसायीहरूको संयुक्त भेलाले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैंयाले जानकारी दिए।
दुई प्रदेशका ढुवानी व्यवसायीहरूको संयुक्त भेलाले साउन १ गतेदेखि समिति नरहने भएको हुँदा हाल लिँदै आएको ट्रिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरी आउने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको मजगैंयाले बताए। दुई वटा प्रदेशका ७ संस्थाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी उक्त भेलामा अधिकांश व्यवसायीहरूले समिति खारेज गर्ने गरी नविकरण नगर्ने सरकारी नीतिको व्यापक आलोचना गरेका थिए।
सरकारले समितिहरू नविकरण नगर्ने निर्णय गर्दा आफूहरू मर्कामा परेको भन्दै व्यवसायीहरूले सरकारसँग समिति नविकरणका लागि आग्रह गर्ने निर्णय समेत पारित गरेको मजगैंयाले बताए।
त्यस्तै व्यवसायीहरूले यातायात व्यवसायीहरूका मागलाई राज्यले उचित व्यवस्थापन नगरेको तथा बेवास्ता गरेको भन्दै रोष प्रकट गरेका छन्।
उनले संस्था नविकरण नगर्ने निर्यणसंँगै आफूहरू अवैधानिक हुने भन्दै साउन १ गतेदेखि दुर्घटना लगाएका कुनै पनि घटनाको जिम्मेवारी आफुहरूले नलिने र त्यसको जिम्मा राज्यले लिनुपर्ने निर्णय भेलाले गरेको जानकारी दिए ।