दाल, चामल, खानेतेल, चियासहितका दैनिक उपभोग सामानको मूल्य फरक फरक हुँदा हामीलाई तत्कालका लागि खासै केही फरक पर्दैन किनकि, यी सबैको मुल्य ब्राण्ड अनुसार निर्धारण गरिएको हुन्छ र हामीले यसलाई स्वीकार्नै पर्ने हुन्छ।
तर, दूध समेत ब्राण्ड अनुसार फरक फरक मूल्यमा खरिद गर्नुपर्दा हामी यसलाई सहज रूपमा लिन सक्दैनौं।
धनुषा, महोत्तरी जिल्लामा दूधसमेत दुई किसिमको ब्राण्ड पाईने गरेको छ, त्यो हो पानी मिसाईएको र पानी नमिसाईएको दूधको ब्राण्ड।
विशुद्ध दूधका लागि जतिसुकै मुल्य तिरे पनि त्यसमा पनि पानी मिसाईएकै हुन्छ महोत्तरी गाउँपालिका वडा नम्बर १ पर्साका सर्वोत्तम ठाकुरले गुनासो गर्छन्।
‘दूध बेच्नेले ६० रुपैँयामा सुद्ध दूध दिन्छौँ भन्छन्, तर ६० त के त्योभन्दा बढी रुपैँया दिए पनि दूध भने त्यस्तै हुन्छ’, ठाकुरले भने।
तर जनकपुरधाम उपमहानगरपालिका मनहपुर वडा नम्बर १६ का दूध व्यापारी ब्रम्हदेव मण्डलको भनाई भने महोत्तरीका ग्राहक ठाकुरभन्दा फरक छ।
‘म लगभग १ दशकभन्दा बढी समयदेखि दूध बेच्दै आएको छु तर कसैले आजसम्म पानी मिसाईएको दूध छ भनेर गुनासो गरेका छैनन्’, दूध व्यापारी मण्डलले सेतोपाटीसँग भने,‘तर पानी मिसाईएको दूध बजारमा बेचिदैन भन्ने कुरा अस्वीकार गर्न सकिन्न।’
उनले आफूले लिटरको ७० रुपैँयामा शुद्ध दूध बेच्ने गरेको दाबी गरे।
सरकारले गत मंसिर २८ गते दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिकासमेत जारी गरेको छ।
निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ।
निर्देशिकाले दूध उत्पादनदेखि उपभोगसम्मको चरणमा स्वच्छता र गुणस्तर कायम गर्न सहयोग पुर्याउने मन्त्रालयले विश्वास लिएको छ।
निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।
दूध दिने जनावर स्वस्थ हुनुपर्ने, दूध दुहुनुअघि साबुन पानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
दूध प्रशोधनको क्रममा दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने, दुहेको दूध अर्को भाँडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानी, साबुन वा डिटरजेन्ट पानीले पखालेर घोप्ट्याएर राख्नुपर्ने, दूधमा पानीलगायत बाहृय पदार्थ मिसावट गर्न नपाइने, गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनका लागि संकलन केन्द्र वा चिस्यान केन्द्रमा लैजान नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।
तर लिटरको ५० वा ६० रुपैँयामा किनेको दूधमा दूधभन्दा बढी पानी हालिएको सहजै पत्ता लगाउन सकिने जनकपुरधाम वडा नम्बर ७ की ज्योति ठाकुर बताउँछिन् ।
‘बाध्यताले हामीलाई पानी हालिएको गुणस्तरहीन दूध लिनैपर्छ, घरमा स–साना बच्चा छन् उनीहरु बिना दूधको रोटी खाना मान्दैनन् विशुद्ध दूध खान त आफैँले गाई वा भाई पालन सुरु गर्नुपर्छ होईन भने विशुद्ध पाउन लगभग असम्भव नै छ,’ उनले गुनासो गरिन्।
पैसा अधिक लिए पनि दूधमा रतिभर गुणस्तरियता नरहेको ज्योतिको भनाई छ। यसबारे केन्द्रका साथ साथै स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने ज्योतिको भनाई छ।
यता भैँसीको दूधबाटै आफ्नो परिवारको गुजारा चलाउँदै आएका महोत्तरी गाउँपालिका वडा नम्बर १ पर्साका बिराजी कापर दूध कम भएपछि थोरबहुत पानी मिसाउँदै आएको सहजै स्वीकारे । ‘के गरौँ दूधको मुल्य ५० देखि ६० भन्दा बढी छैन, यसभन्दा बढी त हामीले पशुको स्याहारका लागि र पोष्टिक आहार खुवाउन अधिक खर्च गर्नुपर्ने हुन्छ, जुन शुद्ध दूध बेचेर जुटाउन गाह्रो छ, त्यसैले खर्च जुटाउने बाध्यताले हामीले पानी मिसाउनैपर्छ,’ उनले भने।
तर दूधकै व्यापार गर्दै आएकी पिपरा गाउँपालिका ३ की मनतो देवीले ५०/६० भन्दा बढी पैसा दिनसक्ने ग्राहकलाई शुद्ध दूध नै दिने दाबी गरिन्।
‘एक लिटर दूधमा ५०/६० रुपैँया हामीले आम्दानी गर्ने गर्छौ तर, गाईभैँसीको खानपान, स्याहारसुसारमा उक्त रकमभन्दा अधिक नै खर्च हुने गर्छ जिविका चलाउन अलिकति बैइमानी गर्नैपर्छ,’ उनले न्याउरो मुख बनाउँदै सेतोपाटीसँग भनिन् ।
हामीलाई पनि पानी मिसाएर बेच्न कहाँ मन छ र तर दूधको दररेट निर्धारण नभएकाले कही ५० कसैले ६० त कसैले ९० रुपैँयासम्ममा दूध बेच्ने गरेका छन् त्यसैले दूधको फरक मुल्यसँगै दूध पनि फरक नै पाईने मनतो देवीले भनिन्।